ट्राफिक प्रहरीको निशानामा यात्रु बोक्ने मोटरसाइकल

ट्राफिक प्रहरीको निशानामा यात्रु बोक्ने मोटरसाइकल


उवर, टुटल, पठाओलगायतका मोबाइल एप्स सञ्चालन गरी त्यसको माध्यमबाट सम्पर्कमा आएका व्यक्तिलाई ‘यात्रु सेवा’ प्रदान गर्ने मोटरसाइकलहरू ट्राफिक प्रहरीको निशानामा परेका छन् । उक्त कार्यलाई नियमविपरीत भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रु बोक्ने मोटरसाइकललाई कारबाही शुरु गरेको छ ।

यातायात व्यवस्था ऐनअनुसार निजी सवारीसाधनले पैसा लिएर यात्रु बोक्न पाइँदैन । यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारीसाधनले उपदफा २ बमोजिम निजी सवारी साधन यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था छ । यही ऐनलाई आधार बनाएर ट्राफिक प्रहरीले यात्रु बोकेर सेवा प्रदान गर्दै आएका चारवटा मोटरसाइकललाई कारबाही गरेको छ ।

महाशाखाले बा.२६ ९९४६, बा.३५प ८०३४, बा.९३ प ८५१९, लु.२०प ७६३४ र प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गरिएको जनाएको छ । महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले निजी सवारीसाधनले पैसा लिएर यात्रु बोक्न नपाइने भएकाले कारबाही गरिएको तर्क दिए । कारबाही गरिएका मोटरसाइकलचालकलाई एक हजारसम्म जरिवाना गरिएको उनको भनाइ छ ।

यसरी भाडामा यात्रु बोक्ने मोटरसाइकल धेरै रहेका भन्दै महाशाखाले यस्ता सवारीसाधनमाथि विशेष कारबाही अभियान शुरु गरेको जनाएको छ । ट्राफिक प्रहरीको यस अभियानमा नेपाल मिटर ट्याक्सी सङ्घले समेत समर्थन जनाएको बुझिन्छ । निजी सवारीसाधनले यात्रु बोक्दा सार्वजनिक सवारीसाधनलाई समस्या परेको सो सङ्घको बुझाइ छ । मोटरसाइकलले यात्रु बोकिदिएपछि आफ्नो आम्दानीमा धक्का पुग्ने ट्याक्सी व्यवसायीको बुझाइका आधारमा उनीहरूले प्रहरीको उक्त कदमको समर्थन गरेका हुन् ।

ज्ञात रहोस्, इमर्जेन्सीको अवस्थामा ट्याक्सीले अनावश्यक ‘बार्गेनिङ’ गरेर यात्रुलाई ठग्न खोज्ने गुनासो बढेपछि मोटरसाइकलबाटै यात्रुलाई सेवा प्रदान गर्ने व्यवसाय सञ्चालनमा आएको थियो । यो सेवाबाट खासगरी साँझ या रातको समयमा मदिरा सेवन गर्नेहरूले विशेष लाभ उठाउने गरेका चर्चा सुनिन थालिएको थियो । यसरी मापसे गर्नेहरूले ‘सुविधा’ लिएको चर्चा चुलिएपछि ट्राफिक प्रहरीले यात्रु बोक्ने मोटरसाइकलमाथि कारबाही शुरु गरेको बुझिएको छ ।