रसियाली योगी स्वतन्त्रनाथ भन्छन्–भात धेरै खाएको……

रसियाली योगी स्वतन्त्रनाथ भन्छन्–भात धेरै खाएको……


othernewsरसियाली योगी स्वतन्त्रनाथ भन्छन्–भात धेरै खाएको र प्लास्टिक जथाभावी फालेको मन परेन
रसियाली नागरिक टिमोफेई लेस शिवरात्रिका लागि यतिबेला नेपाल आएका छन् । हाँडीगाउँस्थित गोरखनाथको मन्दिरमा बसिरहेका उनी शिवरात्रिका दिन दाङको गोरखनाथ मन्दिरमा लाग्ने मेलामा सहभागी हुन चाहन्छन् । सन् १९७७ को सेप्टेम्बरमा रुसको राजधानी मस्कोमा जन्मिएका टिमोफेईको पुख्र्यौली धर्म इसाई हो र इसाई धर्मप्रति उनको आस्था अझै कायम छ । तथापि उनले पाँच वर्षअघिदेखि हिन्दूधर्मलाई आत्मसात् गरेका छन् । पेसाले चिकित्सक टिमोफेईले नेपाली नाम राखेका छन्– स्वतन्त्रनाथ । यिनै स्वतन्त्रनाथसँग घटना र विचारले गरेको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।
० तपाईंले हिन्दूधर्म अपनाउनुभएछ, किन ?
– मन प-यो । नाथ परम्पराले मलाई आकर्षित ग-यो । अनि कानै चिरेर स्वतन्त्रनाथ बनेँ ।
० नाथ परम्परा भनेको के हो ?
– लौ, तपाईंलाई थाहा छैन ? यो त विकास र शिक्षाको एउटा प्रणाली हो नि ।
० अनि क्रिश्चियन धर्म परित्याग गर्नुभयो त ?
– कहिलेकाहीँ चर्चमा पनि जाने गर्छु । पूरै छोडिसकेको छैन र छोड्न आवश्यक पनि ठान्दिनँ ।
० त्यसो भए तपाईं एकैपटकमा क्रिश्चियन पनि हिन्दू पनि हो ?
– हो । क्रिश्चियन धर्म पनि मान्छु, हिन्दूधर्म पनि मान्छु । गोरखनाथको पूजा गर्छु । गणेश, दुर्गा र बागेश्वरीको पनि पूजा गर्छु । एउटै मान्छे मुसलमान र क्रिश्चियन हुन सक्दैनन्, तर हिन्दू र क्रिश्चियन हुनचाहिँ सक्छन् ।
० हिन्दू र क्रिश्चियन धर्ममा केही पनि भिन्नता पाउनुभएन कि के हो ?
– हिन्दू धेरै पुरानो धर्म हो, क्रिश्चियन नयाँ धर्म । हिन्दूधर्मले हरेक चिजलाई प्रेम गर्न सिकाउँछ, प्रेममा जोड दिन्छ, सबै प्राणीहरू एकै हुन् भन्न सिकाउँछ । क्रिश्चियन धर्मले पनि प्रेम गर्न र मानव कल्याण गर्न उत्पे्ररित गर्दछ ।
० कानमा कुण्डल लगाउनुभएको छ नि, रसिया फर्केपछि चाहिँ खोल्नुहुन्छ होला, होइन ?
– असम्भव, यो कहिल्यै खोल्दिनँ । म योगी भइसकेको छु ।
० त्यसो भए तपाईं विवाह पनि गर्नुहुन्न होला, होइन ?
– अहिले त सोचिसकेको छैन । तर, दुई–चार वर्षपछि विवाहको बारेमा पनि सोच्नुपर्ला ।
० तपाईं योगी भइसकेको मान्छेले पनि विवाहको बारेमा सोच्नुहुन्छ त ?
– ल, त्यो त भइहाल्छ नि । हाम्रो भगवान् शिवजीले पनि पार्वतीसँग विवाह गर्नुभएको थियो । उहाँ पनि एउटा महान् योगी त हो । उहाँले विवाह गर्न हुने मैले नहुने भन्ने हुँदैन ।
० शिवजीले त गाँजा पनि खानुहुन्थ्यो, तपार्इं खानुहुन्छ ?
– गाँजा खाने बानी त छैन, तर साधु–सन्तहरूसँग बसेका बेला यसो एक–दुई सर्को म पनि तानिदिन्छु ।
० अरू के–के खानुहुन्छ ?
– त्यस्तो अरू केही छैन । पाँच वर्षअघि हिन्दू बन्नुअघिसम्म गाई पनि खाइयो । हिन्दू बनेपछि गाईको मासु खान छाडिदिएँ । गाई माता हो, पूजा गर्नुपर्छ भन्ने लाग्छ ।
० शिवरात्रिमा धेरै मानिस पशुपतिको दर्शन गर्न जान्छन्, तपाईंचाहिँ दाङतिर जान लाग्नुभएछ, किन हो ?
– मैले दाङकै गोरखनाथ मन्दिरमा दीक्षा लिएको हुँ । त्यहाँ शिवरात्रिमा ठूलो मेला लाग्छ, घोराहीनजिकै । त्यसैले म त्यतै जान्छु । शिवरात्रिपछि रसिया फर्कन्छु ।
० नेपालतिर आएका बेला यसो राजनीतिक गतिविधिमाथि पनि आँखा लगाउने गर्नुभएको छ कि ?
– मलाई राजनीतिप्रति कुनै रुचि छैन । नेपालका नेताहरूले हिन्दूराष्ट्रलाई बदलेर किन धर्मनिरपेक्ष बनाएका हुन् त्यो पनि मलाई थाहा छैन र त्यतातिर मैले चासो राखेको पनि छैन ।
० नेपालको सबभन्दा मनपर्ने पक्ष के हो तपाईंलाई ?
– नेपालको हावापानी धेरै राम्रो छ । मान्छे पनि राम्रा छन् ।
० मन नपर्ने कुराहरू पनि होलान् नि ?
– जहाँतहीँ प्लास्टिक र फोहोर फालेको राम्रो लाग्दैन । किन यसरी फोहोरमा बस्ने गरेकोे हो त्यो मैले बुझेको छैन । तर, मलाई यो मन पर्दैन । भिटामिन भएको खाना, सागपात कम खाएको र भात धेरै खाने गरेको पनि मलाई राम्रो लाग्दैन ।
० अनि नेपाली युवतीहरूचाहिँ कस्ता लाग्छन् नि ?
– खोइ, त्यतातिर ध्यान दिएको छैन । विवाह गर्ने इच्छा भएछ भने त्यतिबेला नेपाली केटी पनि हेर्न सकिन्छ ।
० तपाईंको जीवनको उद्देश्य के हो अब बाँकी जीवनमा ?
– मानवसेवा गर्ने हो । रसिया र नेपलामा आधा–आधा गरेर बस्न चाहन्छु र मानवसेवामा समर्पित हुन चाहन्छु ।
Email : [email protected]

प्रधानमन्त्रीकी दिदीको बेग्लै चिन्ता
पत्नी नभए पनि प्रधानमन्त्री सुशील कोइरालाको हेरविचार या देखभाल गर्नेहरूको कमी छैन । प्रधानमन्त्रीनिवास बालुवाटारमा कसले उहाँको बढी सेवा गर्न सक्ने भन्नेमा एकप्रकारले तीव्र प्रतिस्पर्धा नै छ । यस किसिमको प्रतिस्पर्धामा अवैतनिक सल्लाहकार मृदुला कोइराला ‘प्रथम’ हुनसक्ने सम्भावना बढेपछि सुशील कोइरालाको परिवारभित्र चिन्ता थपियो । हुन त भाञ्जा रमेश शर्मा भण्डारी र भाञ्जीबुहारी प्रभा भण्डारीले पनि निवासको सचिवालयमा महत्वपूर्ण जिम्मेवारी पाएका छन् । तर, उनीहरू हुँदाहुँदै मृदुलाले ‘सेवा पु-याएको’ भण्डारीसहित परिवारका अन्य सदस्यहरूले सहज रूपमा लिन सकेनन् । त्यसैले प्रधानमन्त्री सुशील कोइरालामाथि विशेष निगरानी राख्न केही समयदेखि उहाँकी दिदी आभा शर्मा प्रधानमन्त्रीनिवास बालुवाटारमै बस्न थाल्नुभएको छ । कोइरालालाई को–को महिलाले भेट्छन् भन्नेबारेमा दिदी आभाले बढी चासो लिने गर्नुभएको छ ।
मृदुला कोइरालासँग भाइ सुशीलको भेट हुनेबित्तिकै दिदी आभाले ‘बाबु तिम्रो इज्जतमा दाग लाग्ने कुरा म सुन्न सक्दिनँ, ख्याल गर है’ भनी सम्झाउने गर्नुभएको सन्दर्भ बालुवाटारभित्रै चर्चाको विषय बनिरहेको छ । दिदी आभा प्रधानमन्त्रीनिवासमा मृदृला कोइरालाको उपस्थिति नहोस् भन्ने चाहनुहुन्छ । मृदुला कोइराला नेपाली काङ्गे्रसको राजनीतिक र प्रजातान्त्रिक आन्दोलनमा लामो समयदेखि संलग्न रहँदै आउनुभएकी एक युवा नेतृ हुनुहुन्छ । प्रधानमन्त्री कोइरालाको निकट मानिने उहाँ हाल अवैतनिक सल्लाहकारका रूपमा काम गर्दै हुनुहुन्छ । तलबसमेत नलिएर प्रधानमन्त्री कोइरालाको सेवा गर्दा पनि परिवारका सदस्यले पु-याएको चोटबाट मृदुला कोइराला भने अत्यन्त हैरान हुनुभएको बुझिएको छ ।

अलपत्र भए राष्ट्रिय गौरवका आयोजना
आर्थिक अभावका कारण नभई दलीय स्वार्थ र राजनीतिक खिचातानीका कारण राष्ट्रिय गौरवका आयोजनाका काम अघि बढ्न सकेको देखिँदैन । आयोजनाका काम अघि बढाउन लाग्नेबित्तिकै कुनै न कुनै बहानामा सत्तामा रहेका वा सत्ताबाहिरका राजनीतिक दलबाटै आउने दबाबका कारण आयोजनाले गति लिन नसकेको हो । सोमबार राष्ट्रिय गौरवका आयोजना अघि बढ्न नसक्नुका कारणबारे छलफल गर्न बसेको मन्त्रीस्तरीय छलफलले पनि यस्तै निष्कर्ष निकालेको हो ।
आयोजना सम्पन्न गर्न सरकारले जसरी पनि लगानी जुटाउन सक्छ, तर आयोजना नै अघि बढ्न नदिने गरी हुने गरेको अवरोधका कारण आयोजना नाममा मात्र सीमित देखिएको छ । आयोजनालाई द्रुतगतिमा अघि बढाउने उद्देश्यका साथ सरकारले लगानी बोर्ड गठन गरेको थियो । बोर्डले केही महत्वपूर्ण आयोजना अगाडि बढायो, तर काम अघि बढ्न नसकेपछि बोर्ड पनि यस्तै निष्कर्षमा पुगेको छ । लगानी बोर्डले तय गरेको गौरवका आयोजनामध्ये पश्चिम सेती जलविद्युत् आयोजना, अरुण तेस्रो जलविद्युत् आयोजना, माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङ्दीलगायतका जलविद्युत् आयोजनाको प्रक्रिया हालसम्म अगाडि बढ्न सकेकै देखिँदैन । काठमाडौं–तराई जोड्ने दु्रतमार्गको काम पनि अगाडि बढ्न सकेको छैन । कुल ७६ किलोमिटर लामो सो द्रुतमार्गको ट्रयाक खोल्ने काम नेपाली सेनाले सम्पन्न गरे पनि हाल कुनै थप काम भएको देखिँदैन । सिमरा अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि अगाडि बढ्न सकेको छैन । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार तथा सुधारको काम पनि सोचेअनुसार अघि बढ्न सकेको देखिँदैन ।
सरकारले घोषणा गरेको आयोजना अघि बढ्न नसक्नुको कारण पत्ता लगाउन सोमबार नै अर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा एक कार्यदल बनाइएको छ । समितिमा गृह, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, वन तथा भूसंरक्षण, सङ्घीय मामिला तथा स्थानीय विकास, उद्योग र विज्ञान प्रविधि तथा वातावरणमन्त्री सदस्य रहेका छन् । समितिमा समस्याग्रस्त आयोजनासँग सम्बन्धित मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आर्थिक तथा पूर्वाधार हेर्ने सचिव सदस्य रहने व्यवस्था गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले भने, ‘सरकारले घोषणा गरेको आयोजना के कारणले अघि बढ्न सकेनन् भन्ने कुरा पत्ता लगाउन समिति गठन गरेको हो, त्यसले आफ्नो प्रतिवेदन बुझाएपछि वास्तविकता पत्ता लाग्छ ।’
सचिव सुवेदीका अनुसार राष्ट्रिय गौरवका आयोजनामा देखिएको समस्या समाधान गरी सहज रूपमा अगाडि बढाउन समितिले आवश्यक पहल गर्ने र नीतिगत रूपमा केही निर्णय गर्नुपर्ने भए सोकोसमेत व्यवस्था गर्ने अख्तियारी प्रदान गरिएको छ । प्राथमिकताप्राप्त आयोजना र राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा देखिएको समस्यालाई एकद्वार प्रणालीमार्फत समाधान गरिने, ती आयोजनामा बजेट अभाव हुन नदिने र प्राविधिक तथा अन्य स्रोतको व्यवस्था गरिनेछ ।

बैँक सीईओकै तलब सर्वाधिक
नेपालमा सबैभन्दा धेरै तलब कसले बुझ्लान् ? जवाफ आउन सक्छ– राष्ट्रपति वा प्रधानमन्त्रीले । तर, यो सही होइन । किनकि, नेपालमा अहिले पनि बढी तलब बैंकिङ क्षेत्रमा काम गर्ने अधिकारीहरूले बुझ्ने गर्छन् । बैंकका सीईओहरूले उच्च तहको तलब–भत्ता बुझ्ने गरेको तथ्य बेलाबेला बहसको विषय बन्दै आएको छ । सर्वसाधारणले जम्मा गरेको रकमलाई अन्य क्षेत्रमा लगानी गरी त्यसबाट उठेको ब्याजबाट बैंकका प्रमुख कार्यकारी अधिकारी र कर्मचारीहरूले पत्याउनै नसक्ने हिसाबले तलब बुझ्छन् ।
विभिन्न तीसवटा वाणिज्य बैंकले राष्ट्र बैंकमा बुझाएको वार्षिक प्रतिवेदनअनुसार एउटै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ)ले तलब–भत्ताका रूपमा वार्षिक दुई करोड रुपैयाँसम्म बुझ्ने गरेको देखिएको छ । उनीहरूले त्यसबाहेक विभिन्न गोष्ठी, सेमिनारमा कार्यपत्र प्रस्तुत गरेर छुट्टै रकम पनि बुझेको पाइन्छन् । राष्ट्र बैंकबाट प्राप्त जानकारीअनुसार आफ्नो कर्मचारीलाई सबैभन्दा धेरै तलब खुवाउन सफल बैंकको रूपमा एनआईसी एसिया रहेको छ । उसले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक एक करोड ९० लाख ७४ हजार रुपैयाँ तलब खुवाएको देखिन्छ भने सबैभन्दा कम नेपाल बैंकका सीईओले बुझ्छन् । नेपाल बैंकका सीईओले वार्षिक आठ लाख मात्र तलब बुझेको देखिन्छ । त्यस्तै कृषि विकास बैंकका सीईओले १५ लाख र राष्ट्रिय वाणिज्य बैंकका सीईओले वार्षिक ३१ लाख रुपैयाँ बुझ्छन् ।
नेपालमा सञ्चालनमा रहेका तीसमध्ये एनआईसी एसिया मात्र नभएर अन्य नौवटा बैंकका सीईओले पनि वार्षिक एक करोडभन्दा बढी तलब बुझेको देखिन्छ । वार्षिक एक करोडभन्दा बढी तलब दिन सक्ने बैंकहरूमा मेगा, नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैंक, एनएमबी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिभिल बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, लुम्बिनी बैंक, जनता बैंक रहेका छन् । ती बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले वार्षिक एक करोडभन्दा बढी तलब–भत्ता बुझेको देखिन्छ ।
मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले एक करोड ७५ लाख २५ हजार रुपैयाँ बुझ्छन् । नेपाल इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेले एक करोड १७ लाख ७३ हजार बुझ्छन् । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको तलब सुविधा एक करोड ५६ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृतले एक करोड ४३ लाख, एनएमबी बैंकका उपेन्द्र पौडेलले एक करोड ४१ लख र लुम्बिनी बैंकका सीईओले एक करोड १६ लाख रुपैयाँ बुझ्ने गरेका छन् । त्यसैगरी प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी नारायणदास मानन्धरले एक करोड ६ लाख, जनता बैंकका डा. रमेशकुमार भट्टराईले एक करोड तीन लाख, नबिल बैंकका अनिल ज्ञवालीले एक करोड दुई लाख बुझ्ने गरेका छन् । त्यस्तै, ग्लोबल आईएमई, सिद्धार्थ, हिमालयन, सानिमा र सेञ्चुरी कमर्सियल बैंकका सीईओले भने वार्षिक एक करोडसम्म बुझ्ने गरेको देखिन्छ । सिटिजन्स् बैंक इन्टरनेसनल, माछापुच्छे र एभरेष्ट बैंकका सीईओले भने वार्षिक असी लाखसम्म बुझ्ने गरेको देखिन्छ ।

भाजपाविरुद्ध सबै एकजुट
दिल्ली विधानसभा चुनावमा मंगलबार अरबिन्द केजरिवाल नेतृत्वको आम आद्मी पार्टी (आप)ले भारी बहुमत हासिल गरेको छ । भारतीय जनता पार्टीसँगको रिस साँध्न कंग्रेस आईलगायतका दलले आपसँग चुनावमा समीकरण गरेका थिए । जसको परिणाम बीजेपी दिल्ली राज्यमा लज्जाजनक रूपमा पराजित भयो भने कंग्रेसको त पत्ता साफ नै भयो ।
कुल ७० सिटमा भएको चुनावमा आपले ६७ र बीजेपीले तीन सिटमा विजय हासिल गरे । यसअघि २०१३ मा भएको निर्वाचनमा आपले २८, बीजेपीले ३२ र कंग्रेसले आठ सिट जितेका थिए । त्यतिबेला बीजेपीले प्राप्त गरेको सिटमध्ये शिरोमणि अकाली दलको एक सिट थियो । यो चुनावी समीकरणमा शिरोमणिले एक सिट जितेको थियो । यसपालि बीजेपीको लज्जाजनक पराजयलाई विश्लेषकहरूले सत्ता सञ्चालन गरेका नरेन्द्र मोदीसँग जोडेर हेरेका छन् । मोदीले सरकारको नेतृत्व गर्ने बेलामा भ्रष्टाचार नियन्त्रण गर्ने र दिल्लीलाई महिला हिंसामुक्त क्ष्ँेत्र बनाउने वाचा गरेका थिए, तर त्यो पूरा नभएपछि मतदातामा बीजेपीको लोकप्रियता खस्केको विश्लेषण गरिएको छ । आपलाई जिताउन र बीजेपीलाई हराउन विपक्षीहरूले घोषित–अघोषित रूपमै केजरिवालसँग साँठगाँठ गरे, बीजेपीविरुद्ध बाँकी सबै दलहरू एकप्रकारले केजरिवालको नेतृत्वलाई सघाउँदै मोर्चाबद्ध भएका थिए । भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेका अन्ना हजारेको समूहबाट बाहिरिएर दुई वर्षअघि मात्र राजनीतिमा होमिएका सरकारी कर अधिकृतमा काम गरेका केजरिवालले दिल्लीका सम्पन्न वर्ग र विपन्न वर्गका विषयमा सम्बोधन गर्दै आएका छन् । खानेपानी, बिजुलीजस्ता आधारभूत विषय गरिबका पक्षमा निर्णय गरेर २०१३ को निर्वाचनपछि मुख्यमन्त्री बनेका केजरिवालले आफ्नो पार्टीले बहुमत हासिल गर्ने वाचा गर्दै त्यतिबेला मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

सरकारी कार्यालयमा ऐनबमोजिम भ्रष्टाचार
सरकारी कार्यालयहरूमा कानुनी प्रक्रिया पूरा गरेरै कसरी भ्रष्टाचार गरिन्छ भन्ने कुराको रोचक उदाहरण भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा पाइएको छ । हालका मन्त्री दलबहादुर रानाको कार्यकक्ष सुधारअन्तर्गत भएको खर्चले यो मुलुकका कर्मचारी कसरी र कतिसम्म भ्रष्टाचार गर्छन् भन्ने तथ्यको खुलासा गरेको छ । गत जेठको अन्तिम साता मन्त्रीको कार्यकक्ष सुधार गर्न भनी किनिएका सामानमा कोठामा राख्ने साधारण कार्पेट, सोफा, पर्दा, कुर्सीलगायतका सामग्रीको मूल्य सबैलाई चकित पार्ने प्रकारको छ । एउटा कोठामा ओछ्याइएको साधारण कार्पेटको मूल्य दुई लाख नौ हजार दुई सय ५३ रुपैयाँ भनी सरकारी कोषबाट भुक्तानी गरिएको छ । उक्त कार्पेटको बजार मूल्य बढीमा ३० हजार रहेको छ । यस्तै, मन्त्रीको कार्यकक्षमा लगाइएको पर्दाको ६४ हजार एक सय ९२ रुपैयाँ भुक्तानी गरिएको छ । पर्दा अत्यन्तै साधारण प्रकारको छ । सोफा सेटलाई एक लाख २० हजार खर्च गरेको देखाइएको छ । २० हजार पर्ने सोनीको क्यामेरालाई ५८ हजार चार सय ६० रुपैयाँ भुक्तानी गरिएको छ भने एउटा कलमको मूल्य ६ हजार पाँच सय बनाइएको छ । यसैगरी चिया खाने कप सेटको मूल्य पाँच हजार सात सय र चिया छान्ने १५ रुपैयाँ पर्ने प्लास्टिकको जालीको मूल्य तीन सय २५ रुपैयाँ भुक्तानी गरिएको छ । यी सबै सामानको भुक्तानी सार्वजनिक खरिद ऐन २०६४ अन्तर्गत नियम पु-याएर गरिएको छ ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालयजस्तै अन्य मन्त्रालयहरूमा पनि नयाँ मन्त्री फेरिनासाथ कार्यकक्ष सुधार भनी नयाँ सामान खरिद गर्ने गरिन्छ । कतिपय अवस्थामा भने सामान खरिद गरेको देखाए पनि बिल–भौचर मात्रै बनाई सामान खरिद गरिएको हुँदैन । भूमिसुधार मन्त्रालयको यसप्रकारको खरिद प्रकरण बाहिर नआउन पनि सक्थ्यो । सूचनाको हकको प्रयोग गरेर अभियन्ताहरू नोदनाथ त्रिताल र दानबहादुर कार्कीले बिल–भौचरसहितको विवरण मागेपछि यो तथ्य सार्वजनिक भएको हो । सुरुमा सूचना अधिकारीमार्फत मागिएको यो सूचना उपलब्ध नगराइएपछि निवेदकहरू कार्यालयप्रमुख अर्थात् मन्त्रालयका सचिवसमक्ष पुगेका थिए । त्यहाँबाट पनि खरिद गरिएका सामानको विवरण मात्रै दिइएपछि बिल–भौचरसहितको सूचना प्राप्तिका लागि सूचना आयोगसम्म पुगेको नोदनाथ त्रितालले जानकारी दिए । त्रितालका अनुसार बिल–भर्पाइ मात्रै नौ सय ६२ पानाको छ जसमा सम्पूर्ण प्रक्रिया पूरा गरिएको छ । खरिद–बिक्रीका लागि कम्पनीहरूको सूचीसमेत संलग्न गरिएको छ । मन्त्री चढ्ने गाडीको टायरलाई ९३ हजार खर्च गरिएको छ । जब कि सबैभन्दा महँगो टायरलाई बजारमा पाँच हजार पाँच सय मात्र पर्छ ।
सरकारले गर्ने खरिद प्रक्रियामा भ्रष्टाचार हुने आशङ्काले सार्वजनिक खरिद ऐन निर्माण गरी लागू गरिएको छ । तर, खरिद ऐनको प्रक्रिया पूरा गर्दै कर्मचारीहरूले भने यसरी भ्रष्टाचार गर्ने गरेका छन् । यति मात्र होइन, अन्य कार्यालय प्रयोजन र सामान खरिद–बिक्रीमा सरकारी कर्मचारीहरूले केसम्म गर्न सक्छन् भन्ने कुराको उदाहरण यसरी सार्वजनिक भएपछि अब सबै सरकारी कार्यालयमा यसको खोजी हुन जरुरी देखिन्छ । यसका लागि नागरिकले सूचनाको हक प्रयोग गरी सूचना माग्नुका साथै अख्तियारको समेत ध्यान जानु आवश्यक देखिएको छ ।

एकीकृत हुँदै प्रचण्ड र वैद्य
करिब दुई वर्षअघि विभाजन भएको एकीकृत नेकपा माओवादी र नेकपा माओवादी आगामी वैशाखसम्म पार्टी एकता गर्ने तयारीका साथ अघि बढेका छन् । विगतमा भएका कमी–कमजोरी सच्याउँदै नयाँ सिराबाट अघि बढ्ने र भूमिगत आन्दोलनमा उठाएका मुद्दालाई स्थापित गर्ने गरी आन्दोलनमा होमिने सैद्धान्तिक सहमतिसमेत मुख्य नेताहरू प्रचण्ड र वैद्यले गरिसकेका छन् ।
आफूहरूले उठाएका राजनीतिक मुद्दा स्थापित गर्न विभाजित भएर नभई एकताबाट मात्र सम्भव हुने भएकोले पनि एकताका लागि दुवै पार्टीका शीर्ष नेता सक्रिय भएर लागिपरेको बताइन्छ । यसलाई निष्कर्षमा पु-याउन एमाओवादीबाट कृष्णबहादुर महरा तथा नेकपा माओवादीबाट पम्फा भुसाल र हितमान शाक्य सक्रिय भएर लागिपरेका थिए । नेकपा माओवादीले त पार्टी एकताका विषयमा निष्कर्षमा पुग्न स्थायी समितिलाई जिम्मा नै दिएको छ ।
स्रोतका अनुसार पार्टी एकताका लागि दुवै पार्टीले आफ्नो कमिटी सानो र चुस्त बनाउने, त्यसका लागि राष्ट्रिय सम्मेलन गर्ने सहमतिसमेत बनेको छ । दुवै पार्टीले सल्लाह नै गरेर राष्ट्रिय सम्मेलनसमेत तय गरिसकेका छन् । राष्ट्रिय सम्मेलनका लागि एमाओवादीले वैशाखमा र नेकपा माओवादीले असार अन्तिम साता गर्ने निर्णय गरेको छ । राष्ट्रिय सम्मेलनमा सबैले आत्मसमीक्षा गर्ने र कमी–कमजोरी पहिल्याएर अगाडि बढ्ने मौखिक सहमतिसमेत बनिसकेको बुझिएको छ ।
राष्ट्रिय सम्मेलनले अहिले जम्बो देखिएको केन्द्रीय कमिटी सानो बनाउने, राजनीतिक कार्यदिशामा प्रस्टता खोज्ने र राष्ट्रिय सम्मेलन गरी पार्टी एकताको घोषणा गर्ने समझदारीसमेत भएको एमाओवादीका एक नेताले जानकारी दिए । ती नेताले दिएको जानकारीअनुसार संविधान निर्माण नभएसम्म स्थानीय निकाय निर्वाचन गर्न नहुने र सशस्त्र युद्धका मुद्दा उठाएर दुवै पार्टीका नेता तथा कार्यकर्ता पक्राउ पर्ने घटनाको विरोध गर्ने विषयमा सहकार्य, पहिलेको युवा सङ्गठन वाईसीएललाई ब्युँताउने, स्थानीयस्तरमा युवाहरूको नयाँ दस्ता निर्माण गर्ने विषयमा प्रचण्ड र वैद्यबीच मौखिक सहमति भएको छ । साथै पार्टीका हरेक आन्दोलनमा आपसी सल्लाह गरेर मात्र गर्ने पनि सहमति बनेको छ ।
नेकपा–माओवादीका नेता हितमान शाक्यका अनुसार दुई पार्टीबीच सहकार्य नै सुरु भइसकेको छ । संयुक्त वक्तव्य जारी गरेर अघि बढ्नु नै सहकार्यको सुरुवात भएको जानकारी गराउँदै शाक्यले भने, ‘जनक्रान्तिका एजेण्डालाई स्थापित गर्न सबैसँग सहकार्य र एकता खाँचो छ, हामी त्यसैअनुसार अघि बढेका छौँ ।’ एमाओवादीका नेता कृष्णबहादुर महराले पनि पार्टी एकताका लागि अन्तिम चरणको कुरा भइरहेको जानकारी दिए । उनले भने, ‘केही विषयमा असहमति छ, तर दुई पार्टी एकताका लागि भएको छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ ।’ नेकपा माओवादी नेतृ पम्फा भुसालले पनि पार्टी एकताका लागि केही विषयमा सहमति जुटेको जानकारी दिँँदै असहमतिका विषयमा थप छलफल हुने क्रममा रहेको बताइन् । उनले भने, ‘एकताका लागि अनुकूल परिस्थिति बनिरहेको छ, तर निष्कर्षमा भने पुग्न केही बाँकी छ ।’

सामन्तीको सकियो, अब अतिवामको व्यवस्थापन
– केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामन्ती अतिवादको व्यवस्थापन भइसकेको र अब वामपन्थी अतिवादको व्यवस्थापन गर्ने प्रक्रियामा रहेको बताउनुभएको छ । गत सोमबार पत्रकारहरूसँगको विशेष भेटवार्ताका क्रममा ओलीले भन्नुभयो, ‘मुलुकमा दुई किसिमको अतिवाद थियो, एउटा सामन्ती अतिवाद हो, गणतन्त्र ल्याएर त्यसको व्यवस्थापन गरिसकेका छौँ, अर्को उग्रवामपन्थी धार हो, हामी यतिबेला त्यसको पनि व्यवस्थापनमा लागेका छौँ ।’ एमाओवादीले जातिवाद र क्षेत्रीयतावादको दुईवटा वैशाखी टेकेको छ, पहाड र तराईलाई एक ठाउँमा उभिन नदिने कसैको पुरानो योजना कार्यान्वयन गराउन उपयोग/प्रयोग भइरहेको छ भन्दै ओलीले भन्नुभयो, ‘साम्प्रदायिक उत्पात मच्चाउन दिइँदैन, धेरै सङ्ख्यामा प्रदेशहरू निर्माण गरेर राज्यले थेग्नै नसक्ने अवस्था बनाइँदैन र राष्ट्रिय अखण्डतामा दूरगामी असर पार्ने कुनै कुरा मानिने छैन ।’
देशमा कसैले पनि बलजफ्ती या प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न नपाउने स्पष्ट गर्दै उहाँले भन्नुभयो, ‘नेपाल विभिन्न जातजाति र धर्मावलम्बीहरूको देश हो, यहाँ धार्मिक स्वतन्त्रता छ । बलजफ्ती वा अनुचित प्रभावबाट धर्म परिवर्तन गराउन पाइन्न । नेपाली समाजको सभ्यता धेरै पुरानो छ । नेपालीले अरू कसैका कुरा कबुल गरिरहनुपर्दैन । नेपालको गरिबी र पछ्यौटेपनको लाभ उठाउँदै अनुचित क्रीडास्थल बनाउन मिल्दैन, पाइँदैन, दिइँदैन ।’ ‘शान्ति, लोकतान्त्रिक मूल्य, सामाजिक न्याय तथा समानतामूलक समाज, राष्ट्रिय एकता र विकास, यी पाँच कुरामा कसैसँग सम्झौता गरिन्न,’ ओलीले भन्नुभयो । उहाँले आफूहरू सहमतिकै पक्षमा रहेको स्पष्ट गर्दै भन्नुभयो, ‘प्रश्न आइडियोलोजीको होइन, देशहितको हो । संविधान देशकै हितको निम्ति बनाउने हो, पहिले ४०१ जनाको सहमति बनाउने, त्यसपछि अत्यधिक मत बनाउँदै भरसक सर्वसम्मत बनाउन प्रयास गरिन्छ । दोस्रो संविधानसभालाई असफल हुन दिइने छैन, संविधान बनाएरै छोडिन्छ । हामीले प्रस्ताव ल्याएकोमा आपत्ति हो भने उहाँहरू (एमाओवादी आदि) ले नै ‘त्यो’ प्रस्ताव ल्याए हुन्छ, हामी मानिदिन्छौँ । ‘त्यही’ प्रस्ताव उहाँहरूले ल्याउनुपर्ने हो भने हामी प्रस्ताव फिर्ता लिन पनि सक्छौँ ।’
जातीयता कुनै माग नभएको, यो एउटा भावना मात्र भएको र यस्ता भावनाले देशलाई रुवाण्डा बनाउन सक्ने भन्दै ओलीले भन्नुभयो, ‘हामीलाई ‘गिनिपिग’ बनाउन खोजिएको छ, हामीमाथि एक्पेरिमेन्ट गर्न खोजिँदै छ, यस्तो किसिमको प्रयोग हामीलाई मान्य छैन । एक सय पच्चीस अल्पसङ्ख्यकहरूको देश हो यो, समावेशिता पनि हामै्र मौलिकताबमोजिमको हुनेछ र सङ्घीयता पनि । जातीय प्रतिनिधित्वको सुनिश्चितता जातीय राज्यले दिँदैन, हामी सबै जातजातिको प्रतिनिधित्वको सुनिश्चितताका पक्षमा छौँ ।’ एक प्रसङ्गमा ओलीको भनाइ थियो, ‘वर्तमान सरकार ‘जनकरेक्सन’बाट आएको हो, गाई, त्रिशूल खेलेर आएको होइन, हामी यो देशलाई शान्ति, स्थिरता र विकास दिन प्रतिबद्ध छौँ ।’
‘अब जनयुद्ध हुन सक्दैन, माओवादीको ज-याक–म-याक त संविधान बनेपछि सकिन्छ । जनताको काम सधैँ भड्किने मात्र होइन, जनताले शान्ति, स्थिरता, विकास र संविधान खोजेका छन्, हामी दिन्छौँ,’ ओलीले भन्नुभयो । उहाँले भारतसँगको सम्बन्ध निकै कसिलो भएको बताउँदै यो कसैले तोडेर तोडिने प्रकारको नरहेको स्पष्ट गर्नुभयो ।
पत्रकारहरूका लागि सोमबार दिइएको दिवाभोजका अवसरमा ओलीले उपरोक्त विचार व्यक्त गर्नुभएको हो । सो अवसरमा उपाध्यक्ष विद्या भण्डारी र वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवालीलगायतको उपस्थिति थियो ।

‘पोयमण्डु’मा लोकप्रिय कविहरूको जमघट
काठमाडौं । बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र भारतीय दूतावासद्वारा संयुक्त रूपमा आयोजना हुँदै आएको ‘पोयमाण्डु’ले पच्चीस महिना पूरा गरेको छ । नेपाल–भारत पुस्तकालयमा आयोजित ‘पोयमाण्डु’को २५औँ विशेष एपिसोडमा विशेष अतिथिका रूपमा निम्त्याइएका थिए विख्यात राजनीतिक विश्लेषक एवम् सर्जक प्रदीप गिरि । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै लोकतान्त्रिक आन्दोलनका अभियन्तासमेत रहेका गिरिले सुप्रसिद्ध सर्जकहरूले आ–आफ्ना रचना वाचन गरी सुनाएको गरिमामय कार्यक्रममा उपस्थित हुन पाएर आफू हर्षित बनेको अभिव्यक्ति दिए । ‘पोयमाण्डु’ तेस्रो वर्षमा प्रवेश गरेकोमा विशेषगरी प्रतिष्ठानका सचिव अभय कुमारलाई बधाई दिँदै गिरिले आफूलाई एक लेखक या सर्जकभन्दा पनि कविताको एक राम्रो पाठक ठान्ने गरेको बताए । एक राजनीतिकर्मीसमेत हुनुको नाताले आफू विश्वेश्वरप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको अत्यन्त निकट रहेको सन्दर्भ उल्लेख गर्दै उनले दुवै नेताले जेलभित्र रहँदा विदेशी लेखकका पुस्तक पढ्ने गरेका प्रसङ्ग कोट्याए । विलियम सेक्सपियर र विलियम ब्लेकका रचनाप्रतिको आफ्नो लगावबारे बीपीले आफूसँग गरेका कुराकानी यतिबेला आफूलाई झल्झल्ती याद आइरहेको गिरिको कथन थियो । अभय कुमारको हालै प्रकाशित कृति ‘द सिडक्सन अफ दिल्ली’को निम्ति प्रदीप गिरिले उनलाई सोही अवसरमा बधाई पनि दिए ।
कार्यक्रमका बीच प्रतिष्ठानका सचिव एवम् भारतीय दूतावासका प्रेस तथा संस्कृति विभागका प्रमुख अभय कुमारले कार्यक्रमको सुरुदेखि नै आफ्ना रचनाका साथ सहभागिता जनाउँदै आएका कवि/कवयित्री एवम् श्रोताहरूप्रति विशेष आभार प्रकट गरे । सर्जक एवम् श्रोताको माया र प्रोत्साहनकै कारण ‘पोयमाण्डु’ले निरन्तरता र सफलता पाएर तेस्रो वर्षमा कदम राख्न सकेको अभय कुमारको कथन थियो ।
‘पोयमाण्डु’को पच्चीसौँ कार्यक्रममा दिनेश अधिकारी, डा. गार्गी शर्मा, डा. ज्ञानु पाण्डे, अशेष मल्ल, डा. उषा ठाकुर, चिराग वाङ्देल र अभय कुमारले नेपाली र अङ्ग्रेजी भाषामा आ–आफ्ना रचना पाठ गरेका थिए ।

मन्त्रीले राखे साहित्यसम्बन्धी सङ्ग्रहालयको चाहना
वरिष्ठ रंगकर्मी एवम् रंगअध्येता प्रचण्ड मल्लको तीन पुस्तक मधुपर्कमा प्रचण्ड, भ्रातृप्रेम र पश्चात्तापको सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले एक समारोहबीच विमोचन गरेका छन् । बत्तीसपुतलीस्थित शिल्पी थियटरमा आयोजित कार्यक्रममा विमोचन मन्तव्य दिँदै मन्त्री डा. रिजालले देशका मूर्धन्य साहित्यकारका सम्बन्धमा सङ्ग्रहालय बनाउने काम सङ्गीत नाट्य प्रतिष्ठानले गर्न सक्ने र त्यसका लागि आफूले सरकारका तर्फबाट सक्दो सहयोग गर्ने बताए । सरकारले नै सबै काम गर्न नसक्ने भएकाले कला, साहित्य र संस्कृतिका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूबाटै यस्ता कार्यको थालनी भए त्यसले कला संस्कृतिको जगेर्ना गर्ने पनि उनको भनाइ थियो । अस्कल क्याम्पसमा अध्ययन गर्दाको एउटा प्रसङ्ग उल्लेख गर्दै आफूलाई ३५–३६ सालतिर प्रचण्ड मल्लद्वारा निर्देशित नाटक खेल्ने अनुरोध गरिएको, तर आफूले खेल्न नसकेको प्रसङ्ग सुनाए ।
सङ्गीत नाटक प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले प्रचण्ड मल्ल नेपाली रंगकर्म क्षेत्रका जिउँदा इतिहास भएको अभिव्यक्ति दिँदै यो उमेरमा पनि उनको रंगकर्मप्रतिको क्रियाशीलता मुलुककै लागि अतुलनीय भएको बताए भने प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले नेपाली रंगमञ्चको परिवर्तनमा प्रचण्ड मल्लको योगदान उल्लेख्य रहेको चर्चा गरे । कार्यक्रममा रंगकर्मी घिमिरे युवराजले प्रचण्ड मल्लको पुस्तक विमोचन गर्न पाउनु शिल्पी थिएटरकै लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै राज्यले देशको सेवामा समर्पित साहित्यकार, सङ्गीतकार, कलाकारहरूका घर र तिनले प्रयोग गरेका सरसामानलाई सङ्ग्रहालयका रूपमा विकसित गर्नुपर्ने विचार राखेका थिए । प्रचण्ड मल्लको शारीरिक कद सानो भए पनि नेपाली रंगकर्ममा उहाँको विशाल उचाइ रहेको र त्यसबराबर कोही पुग्न नसक्ने भनाइ साहित्यकार श्रीओम रोदनको थियो । कार्यक्रममा कृतिकार प्रचण्ड मल्लले सबैलाई धन्यवाद दिएका थिए ।

पद्मावती र जय पुरस्कृत
धरणीधर पुरस्कार प्रतिष्ठानले ०७१ को धरणीधर सम्मान नेपाली कथालेखनका क्षेत्रमा विशिष्ट योगदान दिएबापत वरिष्ठ कथाकार पद्मावती सिंहलाई र धरणीधर पुरस्कार नेपाली कविता तथा नियात्राका क्षेत्रमा क्रियाशील नियात्राकार जय छाङछालाई प्रदान गरेको छ । पुरस्कारको राीश ११ हजार एक सय ११ रुपैयाँ रहेको छ । शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति प्राज्ञ गंगाप्रसाद उप्रेतीले सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरे ।
जनजागृतिका कवि धरणीधर कोइरालाको १२२औँ जन्मजयन्तीको अवसर पारी नेपाल प्रज्ञा प्रतिष्ठान तथा धरणीधर पुरस्कार प्रतिष्ठान विराटनगरद्वारा संयुक्त रूपमा आयोजना गरिएको कार्यक्रममा कुलपति गंगाप्रसाद उप्रेती एवम् आख्यानकार परशु प्रधानले कृष्णराज कोइरालाको आत्मवृत्तान्त, जय छाङछाको कतार सारथि र जीवराज पोखरेलको भोगाइका कुइनेटाहरूको संयुक्त रूपमा विमोचन गरेका थिए ।
धरणीधर पुरस्कार प्रतिष्ठानले नेपाली साहित्य एवम् कलासँग सम्बद्ध ३७ जना स्रष्टालाई सम्मानित र पुरस्कृत गरिसकेको छ । डा. गोविन्दराज भट्टराईले धरणीधर कोइरालाका कविता विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पुरस्कार प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइराला, डा. विष्णु राई र डा. गोविन्दमानसिंह कार्कीले पनि बोलेका थिए ।

आमयुवाका पक्षमा वैदेशिक रोजगार विभाग
विदेशमा काम गर्न जाने युवाका लागि वैदेशिक रोजगार विभागले सरल नियम ल्याएको छ । दिनहुँ करिब डेढ हजार युवा कामका लागि विदेश गएपछि भरपर्दो नियम र सुरक्षाका खातिर विभागले विभिन्न ऐनलाई परिमार्जन गरेको छ । विभागको निर्णय अब विदेशमा काम गर्न जाने युवाका लागि केही सहज हुने विश्वास गरिएको छ ।
विभागले माघ ५ गतेदेखि लागू हुने गरी अनलाईन प्रणालीलाई प्रभावकारी बनाएको छ । यो निर्णय गर्न विभिन्न संस्थाका प्रतिनिधिलाई भेला गरी उनीहरूको सल्लाहअनुसार, ऐन सुधार गरिएको विभागले जनाएको छ । विभागले ओरिएन्टेसन तालिम प्रदायक संस्थाहरूलाई मर्जर गराएर सङ्ख्या घटाउने र क्लस्टरिङ गरी एउटा निश्चित भौगोलिक क्षेत्रमा रहेर तालिम दिनुपर्ने व्यवस्था गरेको छ ।
अदक्ष कामदारलाई अर्धदक्ष, अर्धदक्षलाई दक्ष र दक्षलाई अतिदक्ष बनाएर वैदेशिक रोजगारमा पठाउने नीति अवलम्बन गरी सीप विकास तालिम केन्द्रलाई सक्रिय बनाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा रहेको श्रम डेक्समा आकस्मिक निरीक्षण गरी ठगिएका र अभिमुखीकरण तालिम नलिएका कामदारहरूसँग अन्तर्वार्ता लिने तयारी विभागले गरेको छ । विभागमा बुझाउनुपर्ने विवरणमा अभिमुखीकरण तालिम दिने संस्थाहरूले अनिवार्य रूपमा भिडियो क्लिप पेस गर्नुपर्ने, दस्तखतको साथै ल्याप्चे पनि लगाउनुपर्ने र फोटो टाँसेर मात्र श्रमिकलाई प्रमाणपत्र जारी गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनायो ।
इजरायलका लागि तीन सयजना कियरगिभर पाइलट प्रोजेक्टको रूपमा पठाउने पत्र इजरायल पठाउन परराष्ट्र मन्त्रालयमा लेखी पठाइएको विभागको भनाइ छ । वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन श्रम सहचारीका लागि स्पष्ट कार्य विवरण बनाएर कार्यान्वयन गर्ने विषय अगाडि बढाइएको छ ।
स्थलगत अवलोकनको एकपटकको खर्च वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमार्फत दिन सकिने व्यवस्था गरिएको, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले केही कर्मचारीको तलब भुक्तानी गर्ने गरी स्थानीय कर्मचारीको नियुक्ति गर्न नियोगलाई बोर्डबाट स्वीकृति भएको छ, श्रमिक कामदारहरूले पाउने क्षतिपूर्तिको रकममध्ये वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले उपलब्ध गराउने तीन लाख रुपैयाँ श्रम स्टिकर भएको पासपोर्टको आधारमा (विभागको सिफारिस र करार पेपर चाहिने प्रथाको अन्त्य) बिनाझन्झट सम्बन्धित जिल्ला विकास समितिमार्फत उपलब्ध गराउने निर्णय गरिएको छ । श्रमिकलाई वैदेशिक रोजगारीमा जान गरिदिनुपर्ने बिमा केवल उसको पासपोर्टको फोटोकपी लिएर पोलिसी नं. र श्रमिकको पासपोर्ट नम्बरको आधारमा कुनै फाराम नभराई वैदेशिक रोजगार विभागको सर्भरमा सीधै हुने व्यवस्था मिलाउने र ६ वटा इन्स्युरेन्स कम्पनी र तिनका शाखाको पूरा ठेगाना ती सबै इन्स्युरेन्स कम्पनी, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र वैदेशिक रोजगार विभागको अनलाइनमा राख्ने निर्णय गरिएको छ । यस व्यवस्थाबाट श्रमिकहरूले बिनाझन्झट आफ्नै ठाउँ–गाउँमा रहेको इन्स्युरेन्स कम्पनीका शाखाहरूबाट अनलाइन रूपमा बिमाको प्रिमियम बुझाउन सक्नेछन् । वैदेशिक रोजगारमा जाने श्रमिकहरूको हितलाई ध्यानमा राखी मृत वा अङ्गभङ्ग भएमा वा सामान्य रूपमा हकवाला भर्ना भई बिल भर्पाइ पेस गरेको खण्डमा ५० हजारसम्मको औषधोपचार खर्च दिने व्यवस्थालाई अझ प्रभावकारी बनाउने भएको छ । श्रमिकहरूको लागि बिमा गर्ने कम्पनीहरूले काउन्सिलिङ र विज्ञापन गर्न नपर्ने एवम् एजेन्टलाई कमिसन दिनु नपर्ने आदि कारणले गर्दा बिमा कम्पनीहरूको खर्च कम हुने अवस्थालाई दृष्टिगत गरी हालको प्रिमियमको कुनै पनि रकम थप नगरीकनै अहिले पाइरहेको क्षतिपूर्तिलाई ५० प्रतिशत थप गर्ने वा अहिलेको रकममा वृद्धि गरी घटीमा पनि १० लाख क्षतिपूर्ति पाउने व्यवस्थाका लागि तयारी गरिएको छ ।
वैदेशिक रोजगारीमा जाने बेलामै व्यक्तिगत तर्फको श्रम स्टिकर लिन सकिने व्यवस्था गरी सर्वसाधारणले पाएको दुःखको अन्त्य गर्ने योजना रहेको छ । विभाग रहेको हालको भाडाको भवन व्यवस्थापकीय दृष्टिले उपयुक्त नभएकाले १५ दिने सूचना दिएर उपयुक्त र सुविधाजनक स्थानमा विभाग सार्न लागिएको छ । सेवालाई अझ बढी प्रभावकारी बनाई ४७ जिल्लाका लाखौँ–लाख लक्षित व्यक्तिलाई विज्ञापनका बारेमा, अभिमुखीकरण तालिम तथा रकम बैंकमार्फत बुझाउनेबारे जनचेतनामूलक जानकारी दिने व्यवस्था थप गरिएको छ । वैदेशिक रोजगारीका लागि सुरक्षित गन्तव्य स्थानको खोजी र बजार विस्तारका लागि कार्ययोजना तयार गर्न लागिएको विभागले जनायो ।
फ्री भिसामा वैदेशिक रोजगारमा पठाउने इजाजतपत्रवाला संस्थाको स्थलगत अनुगमन गरी कामदारबाट रकम उठाउने मेनपावरलाई विभागको रोहवरमा रकम फिर्ता दिनेगरी कबुलियत गराई, राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गर्न लगाई त्यस्ता मेनपावरलाई ऐनले तोकेको अधिकतम जरिवाना तोकिएको छ । काठमाडौं, कतार, साउदी अरब र मलेसिया शाखाका कर्मचारीलाई कार्यालय समयमा भित्र–बाहिर गर्न लगबुक रजिस्टर राखिएको छ । कार्यालय परिसरमा प्रहरीहरूको सङ्ख्या थप गरी चोकपोस्टको स्थापना भएको छ । पूर्वस्वीकृति लिइसकेपछि प्रकाशित सूचनाअनुसारको अन्तर्वार्ता गर्ने भनिएको समयमा सम्बन्धित कार्यालयको घटीमा अधिकृतस्तरको कर्मचारी र कार्यालयले खबर गरेपछि एकजना प्रतिनिधि विभागबाट गएर वैदेशिक रोजगारीमा जानेलाई लिइने अन्तर्वार्ता स्थलमा उपस्थित भई मेनपावर कम्पनी र एजेन्टले ठगी गरेको–नगरेको अनुगमन गर्ने प्रणालीको विकास गरिएको छ । श्रम ग्राममा रहेका चारवटै कार्यालयबाट दैनिक रूपमा सम्पन्न भएका कामका फाइलहरू विभागबाट अनलाइन अनुगमन गर्ने व्यवस्थाको विकास गरी विभागको निर्देशकको नेतृत्वमा श्रम तथा रोजगार मन्त्रालयका विज्ञ प्रतिनिधि र विभागको अनुगमन शाखाका अधिकृत रहेको टोलीले नियमित रूपमा अनुगमन गरी महानिर्देशकसमक्ष रिपोर्टिङ गर्ने र आवश्यकताअनुसार कर्मचारीहरूलाई कारबाही गर्ने प्रथाको थालनी गरिएको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ ।

कमलको पार्टीमा चार सय युवाको लर्को
कुनै बेला नेपाल कम्युनिस्ट पार्टी (चौम)का नेता रहेका पूर्वमन्त्री कमल चौलागाईं यतिबेला ‘संयुक्त राष्ट्रवादी समाजवादी पार्टी नेपाल’ नामक पार्टीको नेतृत्व गरिरहेका छन् । राजा ज्ञानेन्द्रको शासनकालमा मन्त्री रहेका कारण विरोधीहरूले ‘शाहीमन्त्री’ भन्ने आरोप लगाए पनि आफूलाई एक राष्ट्रभक्त राजनीतिकर्मीका रूपमा चिनाउन चाहने अध्यक्ष चौलागाईं गत साता ललितपुरमा आयोजित एक कार्यक्रममा निकै प्रफुल्ल देखिए । राजनीतिक परिदृश्यबाट हराएझैँ भएको अवस्थामा पनि उनी खुसी हुनुको विशेष कारण थियो । नामै नसुनिएको पार्टी भए पनि उक्त दिन करिब चार सय युवा चौलागाईं नेतृत्वको ‘संयुक्त राष्ट्रवादी समाजवादी पार्टी नेपाल’मा प्रवेश गरेका थिए । मूलतः सत्तारुढ दल नेपाली काङ्ग्रेस र नेकपा एमाले परित्याग गरेर आफ्नो पार्टी प्रवेश गरेका नवप्रवेशीहरूलाई सम्बोधन गर्दै कमल चौलागाईंले यी दलहरूले किसानको बिल्ला भिरेर ठाडो रूपमा भ्रष्टाचार गरेको भन्दै जोसिलो भाषण गरे ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सिर्जनशील युवाहरू काङ्ग्रेस र एमालेमा अल्झिएर बस्न नहुने तर्क गरे भने आफ्नो पार्टीले युवाकेन्द्रित कार्यक्रम ल्याएर युवालाई स्वदेशमै रहने वातावरण बनाउन आफ्नो पार्टी लागिपर्ने दाबी गरे । काङ्ग्रेस र एमाले पार्टी वैदेशिक रोजगारका लागि बाहिरिएका युवाहरूले पठाएको रेमिट्यान्सबाट चल्ने परजीवी दल भएको आरोप लगाउँदै उनले त्यस्ता पार्टीलाई युवाहरूले बहिष्कार गर्नुपर्ने धारणा अघिसारे । सुदृढ र सबल राष्ट्रियता, लोकतन्त्र र राष्ट्रवादी समाजवादलाई व्यवहारमा उतार्नु पार्टीको मूल उद्देश्य रहेको भन्दै अध्यक्ष चौलागाईंले पार्टीको सङ्गठनात्मक संरचनामा युवा शक्तिको महत्वपूर्ण भूमिका रहेको बताए । चौलागाईंले पार्टी प्रवेश गरेका युवाहरूलाई अबिर र खादा लाएर सम्मान गरेका थिए । पार्टीको युवा विभागले ललितपुरको लगनखेलमा आयोजना गरेको कार्यक्रममा युवालाई लक्षित गरी संयुक्त रूपमा पार्टी प्रवेश गराएको प्रचारप्रसार विभाग प्रमुख सागर पाण्डेले जानकारी दिए ।

देवदहको पुरातात्विक र पर्यटकीय महत्वमाथि प्रकाश
रुपन्देही/ हालै नगरपालिका घोषित रुपन्देहीको देवदह नगरपालिका गौतम बुद्धको जीवनीसँग जोडिएको ऐतिहासिक देवदहका कारण पुरातात्विक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण र पर्यटकीय सम्भावनायुक्त नगरपालिका भएको दाबी गरिएको छ । नगरपालिकाको आर्थिक वर्ष ०७२/७३ का लागि बजेट सार्वजनिक गर्दै कार्यकारी अधिकृत गणेश घिमिरेले नवघोषित नगरपालिका भए पनि यसका लागि जिल्ला र केन्द्रीय तहबाट समेत ठूलै बजेट आवश्यक पर्ने बताए । बजेट सार्वजनिक कार्यक्रमका अवसरमा रुपन्देही क्षेत्र नं. १ का सभासद् अब्दुल रज्जाकले देवदह क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिए देवदह नगरपालिका आर्थिक रूपले बलियो हुने उल्लेख गर्दै देवदहको विकासमा पहल गर्ने प्रतिबद्वता जनाए भने मुलुकमा सहमतिबाट संविधान नबन्ने भएकाले प्रक्रियाबाटै संविधान बनाउनुपर्नेमा उनले जोड दिए ।
यस्तै, लुम्बिनी विकास कोषका पुरातत्व विभागका प्रमुख कृष्ण केसीले देवदहलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली काङ्गे्रसका मणिराम शर्मा, एमालेका ध्रुव खरेल, एमाओवादीका प्रजापति सापकोटा, राष्ट्रिय जनमोर्चाका पुरुषोत्तम कँडेल, ड्यास माओवादीका नवराज पुरी, जनमुक्तिका दलबहादुर विरकट्टा, राप्रपाका पूर्णचन्द्र भुसाल, एकीकृतका केजीकुमार पौडेल, बुटवल उपमहानगरपालिकाका अधिकृत विजयदेव भुर्तेल, प्राध्यापक मित्रलाल न्यौपानेलगायतले मन्तव्य दिएका थिए । सो नगरपालिकाले ‘पर्यटन, कृषि र पूर्वाधार ः समृद्ध देवदहको आधार’ नाराका साथ आर्थिक वर्ष ०७२/७३ का लागि सात करोड २३ लाख ९७ हजार रुपैयाँको अनुमानित आय–व्ययसहितको बजेट सार्वजनिक गरेको छ । कुल बजेटको ४५ प्रतिशत पूर्वाधारमा, १४.५ प्रतिशत पर्यटनमा, ८.५ प्रतिशत कृषिमा र ९.४७ प्रतिशत क्षमता विकासका लागि विनियोजन गरेको सो नगरपालिकाले जनाएको छ ।
स्मरण रहोस्, देवदहलाई गौतम बुद्धको मावली र प्राचीन कोलीय राज्यको राजधानीको रूपमा लिइन्छ । साविकका देवदह र केरवानी गाविसलाई मिलाएर बनेको देवदह नगरपालिकामा करिब नौ हजार घरधुरी र ४६ हजार जनसङ्ख्या रहेको छ । देवदह यसै वर्ष सरकारले घोषणा गरेका ७२ नगरपालिकामध्येको नगरपालिका हो ।

अदालतमा विचौलियाको बिगबिगी
पर्वत जिल्ला अदालतमा ‘फाइलबढुवा’ वकिल र विचौलियाका कारण बदनाम हुँदै गएको छ । फाइलबढुवा वकिलले अदालतका कर्मचारीलाई कब्जामा लिई मनोमानी गर्न थालेपछि अदालतका सेवाग्राही मर्कामा परेका छन् । भुसाल थरका फाइलबढुवा वकिलले सेवाग्राहीसँग अदालतभित्रै रकमको मोलमोलाई गर्ने, मुद्दा जिताइदिन्छु भनी अवैध रकम लिने, सेवा लिन गएका व्यक्तिहरूलाई अदालत परिसमै धम्क्याउने, पर्वतको ग्रामीण भेगका जनतासँग घुस लिई अदालतका कर्मचारीलाई प्रभावमा पार्ने, विरोधिहरूलाई हातपात गर्ने जस्ता अभद्र व्यवहार गर्दै आएको मात्र नभई अवैध रकमको चलखेल तथा ‘लयरिङ एथिक्स’विपरीत काम गर्ने गरेको एक पीडितले बताए । सामान्य लेखपढ भएका भुसाल ‘फाइलबढुवा’ हुनुभन्दा पहिले जिल्ला प्रशासन कार्यालय पर्वतमा नागरिकताको फर्म भर्नेलगायतका लेखापढी व्ययवसाय गर्ने गर्दथे । फाइलबढुवामा परेर अधिवक्ताको प्रमाणपत्र लिएपछि उनले पर्वत जिल्ला अदालतलाई कब्जामै लिएको गुनासो सम्बन्धित कर्मचारीहरूले नै गर्ने गरेका छन् । भुसालको प्रमाणपत्र नं १२२२५ रहेको बुझिएको छ ।

ललितपुर अदालतको छलाङ
काठमाडौं । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनारायण कुँवरले सेवाग्राहीले न्यायालयबाट छिटो र छरितो सेवा पाउनु उनीहरूको अधिकारको कुरा भएको बताउनुभएको छ । ललितपुर जिल्ला अदालतमा जिल्ला अदालत ललितपुरबाट भएको कामकारबाही र अदालतले गरेका रचनात्मक कार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो । न्यायाधीश कुँवरले गत वर्ष जसरी सबैभन्दा बढी मुद्दा फैसला भएको जिल्ला भनेर सञ्चारगृहले समाचार सम्प्रेषण गरेका थिए, यो वर्ष पनि आफूहरू जनतालाई त्यही किसिमले सेवा दिन खटिरहेको बताउनुभयो । सन्ध्याकालीन अदालत सुरु गरी दिनमा साढे दुई घन्टा सेवा दिएबापत कुनै सुविधा नलिएको उल्लेख गर्दै उहाँले अदालतबाट विभिन्न अभियोगमा सजाय सुनाइएका व्यक्तिहरूबाट विशेष अभियानअन्तर्गत १० करोड ९३ लाख २० हजार रुपैयाँ पक्राउ गरी असुल गरेको जानकारी दिनुभयो । अदालतमा ११ सय ९६ मुद्दा रहेको कुराप्रति इंगित गर्दै यो सङ्ख्या अत्यन्तै न्यूनमा गणना हुने पनि न्यायाधीश कुँवरको तर्क थियो ।
अदालतका प्रवक्ता एवम् तहसिलदार कौशलेश्वर ज्ञवालीले अदालतमा सेवाग्राहीलाई समयअनुकूल सेवा दिनका लागि विभिन्न उपकरण जडान गर्नुका साथै सहज सेवाका लागि विभिन्न कार्यको सुरुवात गरेको जानकारी दिनुभयो । प्रवक्ता ज्ञवालीका अनुसार अदालत परिसरमा सेवाग्राहीका लागि शुद्ध पिउने पानीको साथै सामान राख्न लकरको समेत व्यवस्था गरिएको छ । भिडियो डिस्प्लेमार्फत सेवाग्राहीले विश्रामस्थलबाटै आफ्नो मुद्दाको पेसीको जानकारी प्राप्त गर्ने व्यवस्थासमेत अदालतले मिलाएको छ । पीडित साक्षीको संरक्षणका लागि भिडियो कन्फेरेसनमार्फत बकपत्र गर्ने व्यवस्थासमेत मिलाएको ज्ञवालीले जानकारी दिनुभयो । सुविधासम्पन्न बाल इजलासको सुरुवात गरेको अदालतले अनुभव सेयर गर्नका लागि पूर्वन्यायाधीशसँग अन्तरक्रिया कार्यक्रमसमेत गरेको छ । आफूहरूबाट भएका कमी–कमजोरीलाई सुधार गर्न पत्रकारसँगको नियमित भेटघाट, महिला कानुन व्यवसायीसँग अन्तरक्रिया, सरोकारवालासँग प्रत्यक्ष भेटघाटलगायतका दर्जनौँ रचनात्मक काम गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । अदालतमा कार्यरत कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउनका लागि भ्रमण, अवलोकन र तालिमको व्यवस्थासमेत गरिएको छ । अदालतले गरेका यी रचनात्मक कामको सर्वत्र प्रशंसा गरिएको छ ।

कसैले देखेनन् यिनका समस्या
धादिङ/ सलाङ–५ ग्यासटार मजुवाटारका बालबालिका दिनहुँ ज्यान जोखिममा राखेर ज्ञानआर्जन गर्न त्रिशूली नदी तर्न बाध्य छन् । देख्दा आङ सिरिङ्ग हुन्छ । एउटा डोरीमा बाँधिएको बेरिङ (खिरखिरे) तुइनको लठ्ठामा अड्काएर नदी वारपार गर्छन् । घरबाट निस्कँदा किताबको झोलासँगै खिरखिरे उनीहरूको प्रिय सवारी हो । प्रत्येक घरमा कम्तीमा एउटा खिरखिरे राखिएको छ, जलेश्वरी मावि सलाङमा कक्षा– ९ मा पढ्ने छात्र मुक्तबहादुर मगरले भने– यहाँ कुनै पनि बेला ठूलो दुर्घटना निम्तिन सक्ने जिर्ण तुइन् छ । बालबालिकाले त्यो तुइन् तान्न सक्दैनन् ।
तान्नै नसक्ने तुइनको विकल्पमा उनीहरू यसरी खिरखिरे भिरेर निस्कन्छन् साँझ लिएर जान्छन् । तुइनको बाकस नदीपारि हुँदा तरकारी तथा अन्य सामग्री तार्नकै लागि पनि स्थानीयले खिरखिरे प्रयोग गर्छन् । तुइनमा हिँड्दा तान्न गाह्रो पर्छ । खिरखिरेमा तर्दा सजिलो र चाँडो हुने बालबालिका बताउँछन् ।
यसरी जोखिमपूर्ण यात्रामा निस्कनेहरू बालिकाभन्दा बालकहरू बढी हुन्छन् । केटीहरू पाएसम्म तुइनमै जान्छन् । कोक्रो पनि पुरानो छ । ३–४ जना बसेर पारि पुग्न पनि १० मिनेटजति लाग्छ । वारिपारि गरुन्जेल स्कुल पुग्न ढिला हुने भएकाले खिरखिरेमा झुन्डिनुको विकल्प नभएको उनी बताउँछन् । तल नीलो नदी सुसाउँदै बगिरहेको छ । एउटा डोरीको सहायताले उनीहरू साहसपूर्वक झुन्डिएर आउजाउ गर्छन् । मुक्तबहादुर भन्छन्– डराएर के गर्नु आँट नगरे पारि पुगिन्न । पहिलेपहिले डर लाग्थ्यो, अहिले त बानी परिसक्यो । अलि छिटोछिटो हात चालिएन भने धारले काट्न सक्छ, तुइनमा त च्यापिएर घाइते हुने डर हुन्छ । यसरी दिनहुँ ओहोरदोहोर गर्दा पनि अहिलेसम्म विद्यार्थीलाई भने केही नभएको उनी बताउँछन् । गाउँका एक महिलासहित तीनजनालाई भने तुइनबाट झरेर घाइते अवस्थामा उद्धार गरिएको उनीहरूलाई सम्झना छ ।
०३४ सालमा बनाइएको तुइन ०५० मा आएको बाढीले बगाइदियो । ०५० देखि सञ्चालनमा रहेको तुइन बिनामर्मत चलिरहेको छ । नदीपारि मालिङ्गामा जमुनोको रूखको फेदमा लठ्ठा बाँधिएको छ । मजुवाटारमा उतिबेलैदेखि दुईवटा सालको मुड्कामा लठ्ठा अड्याइएको छ । मक्किँदै गएको मुड्को चार वर्षअघि बीचमै चरक्क चिरिएको छ । चिरिएको मुड्कोलाई तारले बाँधेर अड्याइएको छ । भार थेग्न नसक्दा कुनै पनि बेला ठूलो विपत्ति आइपर्न सक्छ । यसरी दैनिक तुइन र खिरखिरेमा यात्रा गर्ने शिशु कक्षादेखि कक्षा १० सम्मका बालबालिका दुई दर्जन छन् । मजुवाटारमा नौ घर दलितसहित १३ घर छ । ग्यासटारमा पचासभन्दा बढी घरपरिवारको दैनिक रूपमा नुन, तेल, सिटामोल, खाद्यान्न लिन जाने मुख्य बाटो नै यही हो । सलाङको वडा नम्बर ५ र ६ का करिब सय घरधुरीको पृथ्वी राजमार्गसम्म पुग्ने मुख्य गौंडो पनि यही भएको मजुवाटारका रामशरण सेढाईं बताउँछन् । राजधानीसँग सिमाना जोडिएको जिल्ला भएर पनि यो दर्दनाक पीडा भोग्न बाध्य छन् पृथ्वी राजार्गको किनारमा उनीहरू । ‘हिँडेर जान एक घन्टा लाग्छ । तुइनबाट गए आधा घन्टामै पुगिन्छ,’ कक्षा ९ मै पढ्ने मीना मगराती भन्छिन्, ‘सडकमा पुगेपछि मोटर पाइन्छ । मोटर नपाइए पनि उकालो–ओरालो गर्नुपर्दैन ।’ यसरी दिनहुँ कष्ट झेलेर स्कुल जाने बालबालिका दुई दर्जनभन्दा बढी छन् । ‘वर्षायाममा हिँडेरै जाने बाटो पनि बन्द हुन्छ,’ कक्षा ६ मा पढ्ने सलिना सेढाईंले भनिन्, ‘स्कुल जाने बाटोमा खोला छ । हिउँदमा त जसोतसो तर्न सकिन्छ । वर्षामा ठूलो भेल आउँदा त्रिशूली पनि उत्तिकै सुसाउँदै आउँछ । नदी ठूलो हुँदा तुइन नै लैजाने डर हुन्छ ।’
खिरखिरेमा जान सकिँदैन । पारि जान सके स्कुल जाने नसके घरमै बस्नुपर्ने बाध्यता रहेको कक्षा ३ मै पढ्ने पम्फा उपरकोटीले पीडा व्यक्त गरिन् । हिँडेर जाँदा पनि स्कुल पुग्दा थकाइ लाग्छ । तुइन तर्न पनि उत्तिकै धौधौ पर्छ । लठ्ठाले हात काट्छ, तान्दा थकाइ लाग्छ के गर्ने हाम्रो भाग्य नै यस्तै भन्दै आफ्नो अवस्थाप्रति निराशा व्यक्त गर्छन् । तारले काटेर छियाछिया भएको हात देखाउँदै स्थानीय रामशरण सेढाईंले भने– तुइन तान्दा हातबाट रगत नबगेको दिन हुँदैन । खिया लागेको तुइनले काटेर छियाछिया भएको हातको उपचार गराएका छैनन् । सामान्यतया फलामले काटेर घाउ लागे टिटानस हुनसक्छ । तर, यहाँका मानिसलाई टिटानसको कुनै मतलब छैन । एक घन्टा टाढाको जलेश्वरी माविमा पढ्दै आएका बालबालिका नदीकै डरले घरबाट १५ मिनेटमा पुगिने बेनिघाटस्थित चन्द्रोदय माविमा अभिभावकले भर्ना गर्न सकेका छैनन् । हामी सधैँभरि काममा लाग्नुपर्छ । छोराछोरी स्कुल जाने र आउने समय कुरेर बस्न सकिँदैन । बरु हिउँदमा त टाढै भए पनि हिँडेर स्कुल पुग्न सक्छन् नि– रामशरणले भने ।
अभिभावकले भनेजस्तो कक्षा ६ देखि माथि पढ्ने बालबालिका हिँडेर टाढाको बाटो जान मान्दैनन् । उनीहरू जोखिम मोलेरै भए पनि छोटो बाटो स्कुल पुग्न चाहन्छन् । आमाबाबुले टाढाको विद्यालय भर्ना गरिदिए पनि उनीहरू आँखा छल्दै खिरखिरेबाटै नदीपारि पुगेर विद्यालय जान रुचाउँछन् । घरबाट निस्किँदै किताबको झोलासँगै खिरखिरे भिरेर निस्कन्छन् । तुइनको काम्रो वारि छ भने तान्ने साथी पनि भएका बखत कोक्रोमा जान्छन् । एक्लै भए वा कोक्रो पारि हुँदा विकल्पको रूपमा आफूसँग भएको खिरखिरे लठ्ठामा अड्याउँछन् र पारि पुग्छन्– ५४ वर्षीय बले सार्कीले भने । पारि पुगेर खिरखिरे आफूले मात्र देख्ने ठाउँमा लुकाएर जान्छन्, बेलुका फर्कंदा सोहीअनुरूप घर पुग्छन् । खिरखिरेमै तर्दा पनि खिया र फुटेर धार निस्किएको लठ्ठाले हात काटेर रगत आउँछ । मीना भन्छिन्– के गर्नु अर्को विकल्प छैन । वर्षौंदेखि पुल पर्छ भन्ने आश देखाउँछन्, कहिल्यै पर्ने होइन, अब त आश पनि छैन– निराश हुँदै उनले दुःखेसो गरिन् । हामी त खिरखिरेमै भए पनि तरेर पारि जान सक्छौँ, साना भाइ–बहिनी तर्न सक्दैनन्– कक्षा ६ मा पढ्ने दीपक नेपाली भन्छन्– आमाबुबा काममा जानुपर्छ, विद्यालय जाने उमेर भएका भाइ–बहिनी पनि गाउँमै खेलेर बस्न बाध्य छन् । दलित तथा विपन्न समुदायको बसोबास रहेको सो स्थानका स्थानीयको आम्दानीको प्रमुख स्रोत खेती किसानी हो । ‘बालबालिकालाई लाने–ल्याउने समयमा खेतबारीमा काम गर्नुपर्छ,’ बुद्धिमाया उपरकोटी भन्छिन्, ‘६–७ वर्ष पुगेपछि हिँड्न सक्छन् अनि पठाउने गरेका छौं ।’ ‘घरबाट स्कुल हिँडेका बालबालिका साँझमा घर नआउन्जेल जीउ आधा हुन्छ, आफू पनि काममा जानुपर्छ सधैं तार्न र लिन जान भ्याइँदैन्,’ बुद्धिमाया भन्छिन्, ‘पुलको आश गरेको वर्षौं भयो, अन्त परिसक्यो हामी भने सधैँ दुःखमा छौं ।’ ‘पुल भए पाँच मिनेटमा सडकमा पुगिन्थ्यो । सामान ल्याउन, छोराछोरी स्कुल जान पनि सजिलै हुन्थ्यो । आश मात्र गरेर भएन हाम्रा निम्ति बोलिदिने कोही नभएर यस्तो भएको होला,’ उनले भनिन् । ‘सलाङ ५ र ६ दुई वडाका करिब सय घरको नियमित आवतजावत गर्ने मुख्य घाट यही हो । तरकारीको मौसममा यहीँबाट दैनिक ७० देखि ८० क्विन्टल तरकारी तार्नुपर्छ । पुल नहुँदा पारि तार्नकै समस्याले तरकारी खेतीसमेत कम गर्छन् । फलाउनभन्दा पनि बजारमा पु-याउनै धौ–धौ पर्छ,’ उपरकोटीले भनिन् । – विवेक अर्याल