पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पितृशोक

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पितृशोक


पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेतृ रेखा शर्माका पिता वरिष्ठ साहित्यकार गिरिराज शर्माको ८४ वर्षको उमेरमा निधन भएको छ ।

केही समयदेखि भैरहवामा बसोबास गर्दै आएका शर्माको स्वास्थ्यमा समस्या देखिएपछि आज (२ असोज) बुटवलस्थित गौतम बुद्ध मुटु अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा दिउँसो ३ः१५ बजे निधन भएको अस्पतालले जनाएको छ ।

दिवंगत शर्माको भोलि बिहीबार बिहान मसिना सतीघाट कटुवाखोलामा अन्त्येष्टि गरिने शर्माको परिवारले जनाएको छ ।

नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका वरिष्ठ साहित्यकार शर्माका झन्डै एक दर्जन कृति र दर्जनौँ कविता प्रकाशित छन् । निवृत्त शिक्षक शर्माका चार छोरी र एक छोरा छन् । शर्माकी श्रीमती पार्वती शर्मा पौडेलको २०७७ साल चैत ९ गते निधन भइसकेको छ ।