क्रिकेट पण्डित नै परिरहेछन् रनभुल्ल

क्रिकेट पण्डित नै परिरहेछन् रनभुल्ल


sportखेलकुद लेख -विश्वकप क्रिकेट २०१५
यतिबेला विश्वकप क्रिकेटको रापले विश्व खेलकुदलाई तताएको छ । प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप क्रिकेटको नौलो संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा हुँदै छ । अस्ट्रेलिया र न्युजिल्यान्डको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको विश्वकप फेब्रुअरी १४ अर्थात् यही फागुन २ गतेदेखि सञ्चालन हुँदै छ । विश्वकप क्रिकेट ६ सातासम्म सञ्चालन हुनेछ । फागुन २ गतेदेखि सञ्चालन हुन गइरहेको क्रिकेटको महाकुम्भ विश्व क्रिकेट प्रतियोगितामा कसले विजय हासिल गर्ला त्यो अहिले निकै साचोको विषय बनेको छ । विश्वकप क्रिकेटबारे अहिले क्रिकेटप्रेमीहरूले विभिन्न अड्कल र अनुमान लगाउन थालिसकेका छन् । भविष्यमा उनीहरूको अड्कल र अनुमान कति सत्य सावित हुन्छ त्यो आफ्नो ठाउँमा भए पनि यसपटक प्रमुख दाबेदारको रूपमा आयोजक अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र भारतलाई हेरिएको छ । भारत गतवर्षको विजेता राष्ट्र हो । अन्य राष्ट्रहरूमा वेष्टइन्डिज र श्रीलङ्कालाई स्थिर राष्ट्रको रूपमा राखिएको छ । यी दुई टिमले जुनसुकै राष्ट्रलाई पराजित गर्ने क्षमता राख्ने भएकाले यिनीहरूलाई पनि विश्वकपमा कम आँकिएको छैन । साँचो अर्थमा भन्नुपर्दा यसपटकको विश्वकप निकै प्रतिस्पर्धात्मक हुनेमा कुनै शङ्का नभए पनि यसै टिमले विजय हासिल गर्नेछ भन्ने कुरामा ठोकुवा गर्न सक्ने अवस्थाचाहिँ छैन ।
यो विश्वकपमा विश्वका चर्चित चौध राष्ट्रले सहभागिता जनाउँदै छन् । जसमा आयोजक अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, वेष्टइन्डिज, श्रीलङ्का, इंग्ल्यान्ड, बंगलादेश, जिम्बाबे, आयरल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट र स्कटल्यान्ड रहेका छन् । विश्वकपका खेलहरू अस्ट्रेलियामा एडिलेट, ब्रिसवन, क्यानबेरा, होवर्ट, मेलवर्न, पर्थ र सिड्नी गरी सात शहरमा सञ्चालन हुनेछन् । त्यस्तै न्युजिल्यान्डमा अकल्यान्ड, वेलिङ्टङ, ह्यामिल्टन, नेपियर, नेल्सन, डुनेदिन र क्रिसचर्च गरी सात रंगशालामा हुनेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेलहरू न्युजिल्यान्ड र फाइनल खेल अस्ट्रेलियामा हुनेछ ।
विश्वकप क्रिकेट प्रतियोगिता सन्मुख आइपुग्दासमेत क्रिकेटका पण्डितहरूले सम्भावित विजेताको बारेमा खुलेर चर्चा गर्न सकेका छैनन् । तथापि यसपटकको प्रमुख दाबेदारको रूपमा आयोजक अस्ट्रेलियाप्रति इसारा गरिएको छ । विश्लेषणकर्ताहरूले यसपटक अस्ट्रेलियाले आफ्नो घरेलु मैदानको भरपूर फाइदा लिने र च्याम्पियन बन्ने अड्कल काटेका छन् । अस्ट्रेलियाका खेलाडी राम्रो फर्ममा रहनु र घाइते नहुनुले अस्ट्रेलियालाई अझ बलियो बनाएको छ । हालै अस्ट्रेलियामा सम्पन्न त्रिकोणीय शृङ्खलामा अस्ट्रेलियाको उच्चस्तरीय प्रदर्शनले पनि उसको हौसला निकै बुलन्द भएको छ । यो शृङ्खलामा अस्ट्रेलियाले विश्व च्याम्पियन भारत र क्रिकेटको महारथी इंग्ल्यान्डलाई पराजित गरेको थियो । सन्तुलित टिम, उत्कृष्ट फर्म, घरेलु मैदान र निरन्तर सफलताले यसपटक अस्ट्रेलियालाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ । त्यस्तै अर्को आयोजक न्युजिल्यान्डलाई दोस्रोे प्रमुख दाबेदारको रूपमा हेरिएको छ । यो वर्ष न्युजिल्यान्डले निरन्तर रूपमा उत्कृष्ट प्रदर्शन गर्नु उसको सबैभन्दा सबल पक्ष बनेको छ । घरेलु मैदानमा हुने विश्वकपमा पनि न्युजिल्यान्डले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । विश्वकपअघि सञ्चालन भएका पाकिस्तान र श्रीलंकाविरुद्धका शृङ्खलामा न्युजिल्यान्डले गरेको प्रदर्शनको आधारमा उसलाई निकै बलियो टिमको रूपमा हेरिएको छ । न्युजिल्यान्डले पाकिस्तान र श्रीलङ्काजस्ता बलिया टिमलाई पराजित गरेपछि उसलाई पनि विश्वको दाबेदारको रूपमा उभ्याइएको हो ।
त्यस्तै विश्वकपको अर्को दाबेदारको रूपमा दक्षिण अफ्रिकालाई हेरिएको छ । ब्याटिङ, बलिङ र फिल्डिङमा विश्वमै उत्कृष्ट रहेको दक्षिण अफ्रिका यो विश्वकपमा कुनै टिमभन्दा उन्नाइस देखिएको छैन । अझ दक्षिण अफ्रिकाका खेलाडी उत्कृष्ट फर्ममा रहनु उसका लागि विश्वकप जित्ने निकै बलियो आधार बनेको छ । विश्वकप क्रिकेटमा अभागी राष्ट्रको रूपमा चिनिएको दक्षिण अफ्रिकालाई जहिले पनि विश्वकपको दाबेदारको रूपमा प्रस्तुत गरिए पनि अहिलेसम्म सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन । विगतमा झैँ यो विश्वकपमा पनि दक्षिण अफ्रिकाको टिम निकै बलियो देखिएको छ । तर, यसपटक उसलाई भाग्यले कत्तिको साथ दिन्छ त्यो हेर्न बाँकी नै छ । बलियो टिम भएरै होला प्रायः सबै विश्वकपमा दक्षिण अफ्रिकालाई प्रमुख दाबेदारको रूपमा हेरिन्छ र यसपटक पनि हेरिएको छ । र पनि सधैँ निराशा मात्रै हात लागेको दक्षिण अफ्रिकाले यो विश्वकपमा कुनै चमत्कार देखाउन सक्छ या सक्तैन त्यो अहिले निकै चर्चाको विषय बनेको छ । लिग चरणमा अपराजित रहँदै नम्बर एक टोली बन्ने, तर नकआउट चरणमा सम्हालिन नसक्ने दक्षिण अफ्रिकाको नियतिबाट यसपटक उसले छुटकारा पाउँछ कि पाउँदैन त्यो अहम् प्रश्न बनेको छ । यदि दक्षिण अफ्रिका नियतिको सिकार भएन भने यो विश्वकपमा उसलाई पछार्न अन्य टिमले फलामकै चिउरा चपाउनुपर्नेछ ।
डिफेन्डिङ च्याम्पियन भारतलाई यो विश्वकपमा ‘अन्डर डक’को रूपमा हेरिएको छ । जुनसुकै बेला छेपारोजस्तै रंग फेर्न सक्ने भएकाले क्रिकेट पण्डितहरूले भारतलाई पनि प्रमुख दाबेदारमा राखेका छन् । यो विश्वकपमा बलियो टिममध्येको एक मानिने भारतले जस्तोसुकै नतिजा पनि निकाल्न सक्ने भएकै कारण भारतलाई कम आँकिएको छैन । वर्तमान अवस्थामा भारतीय खेलाडीहरू तुलनात्मक हिसाबले कमजोर देखिएका छन् । र पनि भारतीय टिममा विश्वस्तरीय खेलाडी भएकाले एउटै खेलाडीले विश्वकप जिताउन सक्ने क्षमता राख्छ । अझ विश्वच्याम्पियनको पगरी गुथेको भारतले आफ्नो उपाधि रक्षा गर्न साम, दाम, दण्ड र भेद चारै नीति अवलम्बन गर्ने देखिन्छ । स्वदेशी भूमिमा उत्कृष्ट र विदेशी भूमिमा खराब प्रदर्शन गर्दै निरीह बन्दै आएको भारतले आफ्नो उपाधि रक्षा गर्न चमत्कार नै देखाउनुपर्ने हुन्छ । यतिबेला भारतका खेलाडी फर्ममा नदेखिनु अहिले भारतका लागि सबैभन्दा कुठाराघात भएको छ । त्यसमाथि अनुभवी खेलाडीको कमी भारतका लागि निकै चुनौतीपूर्ण हुनेछ । साँचो रूपमा भन्नुपर्दा यो विश्वकपमा भारतलाई सचिन तेन्दुल्कर, वीरेन्द्र सेहवाग र युवराज सिंहको अनुपस्थिति निकै खड्किनेछ । र पनि युवा खेलाडीको दममा अगाडि बढेको भारतले हालै अस्ट्रेलियामा सम्पन्न भएको शृङ्खलामा नराम्रो मात खाए पनि विश्वकपमा पनि त्यस्तै प्रदर्शन गर्लाचाहिँ भन्न सकिँदैन ।
अन्य देशहरूमा वेष्टइन्डिज, श्रीलङ्का र इंग्ल्यान्डले अपेक्षाकृत खेले यो विश्वकप निकै सनसनीपूर्ण र रोमाञ्चकारी बन्ने प्रायः निश्चित छ । गत वर्ष फाइनलमा पुगेको श्रीलङ्का यसपटक निकै शान्त देखिन्छ । उसले आफूलाई कुनै पनि दाबेदारीमा उभ्याएको छैन । श्रीलङ्का एक क्षमतावान खेलाडीले भरिएको टिम भएकाले उसलाई नजरअन्दाज कदापि गर्न मिल्दैन । त्यस्तै जस्तोसुकै नतिजा निकाल्न सक्ने अनिश्चित टिमको रूपमा वेष्टइन्डिजलाई हेरिएको छ । विस्फोटक ब्याट्सम्यान र धारिलो बलिङका कारणले वेष्टइन्डिजलाई पनि कम आँक्न मिल्दैन । एउटै खेलाडी जम्यो भने अन्य टिमलाई धुलो चटाउन सक्ने क्षमता उसमा छ । त्यसैले यदि वेष्टइन्डिजले असमान प्रदर्शन गरेन भने क्रिकेट हो विश्वकपमा जे पनि हुन सक्छ । हालै दक्षिण अफ्रिकामा सम्पन्न सिरिजमा वेष्टइन्डिजले यो कुरालाई प्रमाणित गरेर देखाइसकेको छ । तसर्थ वेष्टइन्डिजलाई कुनै पनि टिमले कम आँक्नु ठूलो भूल हुनेछ । यसैगरी उपाधिका लागि कमजोर मानिएको इंग्ल्यान्डले एकदिवसीय क्रिकेटमा गरेको सुधारलाई मध्यनजर गर्दा अन्य टिमका लागि शिरदर्द हुने प्रायः निश्चित छ । हालै अस्ट्रेलियामा सम्पन्न त्रिकोणीय शृङ्खलामा भारतलाई मात दिएको इंग्ल्यान्डले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने कुरामा शङ्का गर्न मिल्दैन । तसर्थ अन्य टिमले इंग्ल्यान्डको कडा चुनौतीको सामना अवश्य गर्नुपर्नेछ । त्यस्तै टेष्ट खेल्ने राष्ट्रहरूमा यसपटक सबैभन्दा कमजोर टिमको रूपमा पाकिस्तानलाई आँकलन गरिएको छ । यो वर्ष पाकिस्तानले निरन्तर रूपमा गरेको खराब प्रदर्शनले गर्दा उसलाई कमजोर टिमको संज्ञा दिइएको हो । वास्तविक रूपमा भन्नुपर्दा विश्वकपमा पाकिस्तानको प्रदर्शन जहिले पनि सानदार रहन्छ । यो विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन ग-यो भने अन्यथा मान्नुपर्ने छैन ।
अन्य टिमहरू जसले यो विश्वकपमा सहभागिता जनाएका छन् उनीहरूको सहभागिता नै ठूलो उपलब्धि हुनेछ । आयरल्यान्ड, अफगानिस्तान, बंगलादेश, स्कटल्यान्ड, जिम्बाबे र संयुक्त अरब इमिरेट्सले कुनै अन्य टिमलाई पराजित गरे त्यो उनीहरूको महान् सफलता हुनेछ । विश्वकप क्रिकेटमा यस्ता दुर्लभ घटना थुप्रै घटेका छन् । नवआगन्तुक टिमले टेस्ट खेल्ने राष्ट्रलाई पराजित गरेर सनसनी फैलाएका छन् । यो क्षमता बंगलादेश, आयरल्यान्ड र स्कटल्यान्डमा छ । अनिश्चितता खेल क्रिकेटमा जे पनि हुन सक्ने भएकाले यी टिमहरूले पनि चमत्कार नदेखाउलान् भन्न सकिँदैन ।

विश्वकपका प्रभावशाली ब्याट्सम्यान
नयाँ र अनुभवी खेलाडीबीच हुने घम्साघम्सीकोे रौनकता यो विश्वकपमा देख्न पाइने भएको छ । यो वर्ष नयाँ र अनुभवी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेर आफ्नो मुलुकलाई विजयी बनाएका छन् । यिनै खेलाडीबीच पुनः एकपटक विश्वकपमा भिडन्त हुँदै छ । कुन खेलाडीले बाजी मार्ला त्यो भविष्यकै गर्भमा भए पनि अस्ट्रेलिया र न्युजिल्यान्डमा फागुन २ गतेदेखि सञ्चालन हुने विश्वकप क्रिकेटमा यी खेलाडीहरू प्रभावशाली बन्न सक्ने अनुमान र अड्कल काटिएको छ ।
ती खेलाडीमा वेष्टइन्डिजका क्रिस गेल, सामुइल, डेनेर ब्राबो, स्मिथ, पाकिस्तानका शाहिद आफ्रिदी, युनुस खान, श्रीलङ्का कुमार संगाकारा, माहिला जयबद्र्धने, तिलकरत्ने दिलसान, न्युजिल्यान्डका ब्रैन्डन म्याकुलम, रोस टेलर, केन विलियम्स, मार्टिन गास्टिल, भारतका महेन्द्रसिंह धोनी, विराट कोहली, सुरेश रैना, शिखर धवन, रोहित शर्मा, दक्षिण अफ्रिकाका एभी डिभिलियर्स, हासिम आमला, जेपी डुमुनी, डेबिड मिलर, अस्ट्रेलियाका डेबिड वार्नर, स्टिभ स्मिथ, एरोन पिन्च, मिचेल मार्स, ग्लेन म्यासबेल, माइकल क्लार्क रहेका छन् । त्यस्तै बलरहरूमा अस्ट्रेलियाका मिचेल जोनसोन, जोस हैजलबुड, सेन वाटसन, मिचेल स्टार्क, न्युजिल्यान्डका टिम साउथी, टेन्ट बोल्ट, कायल मिल्स, दक्षिण अफ्रिकाका फिलेन्डर, डेल स्टेन र मोकर्स प्रभावशाली बन्ने देखिएका छन् । अन्य राष्ट्रका युवा बलरहरूले कमाल देखाइसके पनि विश्वकपमा कस्तो प्रदर्शन गर्ने हुन् त्यो प्रतीक्षाको विषय बनेको छ । डिफेन्डिङ च्याम्पियन भारतीय टिममा गत विश्वकपको जस्तो उत्कृष्ट बलर नभए पनि इशान्त शर्मा र भुवनेश कुमार प्रभावशाली बन्न सक्छन् ।

राष्ट्रिय खेलसम्बन्धी अन्तरक्रिया
राष्ट्रिय खेलकुद परिषद्ले नेपालको राष्ट्रिय खेल, पौराणिक खेल र मौलिक खेल निर्धारणसम्बन्धी अन्तक्र्रिया तथा राय सुझाव सङ्कलन कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय खेलको निक्र्योल गर्न युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयका सहसचिव चूडामणि पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । सोही समितिलाई अन्तक्र्रियामा आएका राय तथा सुझाव सङ्कलन गरी प्रतिवेदन बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सो अन्तक्र्रियामा राष्ट्रिय खेल सङ्घका पदाधिकारी तथा विज्ञहरूको उपस्थिति रहेको थियो ।
राखेपका सदस्यसचिव युवराज लामाले राष्ट्रिय खेल यकिन गर्नका लागि देशको संस्वृmति झल्किने, परम्परागत, लोकप्रिय खेल, व्यापक जनसहभागितालगायत हुनुपर्ने विचार व्यक्त गरेका थिए । सो अवसरमा सदस्यसचिव लामाले पौराणिक खेल र मौलिक खेलहरूको इतिहासबारे प्रकाश पारेका थिए । पौराणिक खेल र मौलिक खेलको इतिहास आ–आफ्नै प्रकारको भएको र यसको विकास पनि त्यसरी नै भएकोे बताएका थिए । राष्ट्रिय खेलको सम्बन्धमा सदस्यसचिव लामाले अन्तर्राष्ट्रियस्तरमा परिचित खेल हुनुपर्ने जरुरी नभएको जिकिर गरेका थिए । लामाले विभिन्न देशको लोकप्रिय खेल र राष्ट्रिय खेल भिन्नभिन्न रहेको बताउँदै राष्ट्रिय खेल त्यस देशको मौलिक संस्कृतिसँग परिचित हुँदा फरक नपर्ने बताए ।
राष्ट्रिय खेलकुद परिष्दका उपाध्यक्ष लामा टेन्डी शेर्पाले यस विषयमा सम्बन्धित सबै पक्ष गम्भीर हुन आवश्यक रहेकोमा जोड दिएका थिए । समितिका संयोजक पौडेलले यो समितिले राष्ट्रिय खेल यकिन गर्ने नभई राय, सुझाव सङ्कलन गर्ने कार्य गरी सम्बन्धित निकायमा बुझाउने जानकारी दिए । संयोजक पौडेलले अब निर्धारण हुने राष्ट्रिय खेल विवादरहित र दीर्घकालीन हुनुपर्ने धारणा व्यक्त गरेका थिए । नेपाल भलिबल सङ्घका अध्यक्ष दानबहादुर तामाङले ०२८ मा वीरेन्द्र सिल्ड सुरु हुँदा सहभागी सबभन्दा पहिलो टिम गेम, पल्सर स्पोर्टस् अवार्डमा लगातार चारपटक भलिबलका खेलाडीले लोकप्रिय विधा जितेका र ७५ जिल्लामै खेलिने खेल भएकाले यस खेललाई राष्ट्रिय खेल बनाउनुपर्ने बताएका थिए ।
अहिले पनि विश्वका असीदेखि नब्बे राष्ट्रमा मात्र राष्ट्रिय खेल छ भने अन्य राष्ट्रमा राष्ट्रिय खेल घोषणा नगरिएको अवस्था छ । नेपालको सन्दर्भमा राष्ट्रिय खेलबारे अहिलेसम्म यकिन गर्न सकिएको छैन । नेपालको इतिहास र सामान्य ज्ञानमा डन्डिबियो र कबड्डीलाई राष्ट्रिय खेलको संज्ञा दिएर भ्रम फैलाउने कार्य मात्र गरिएको छ । वास्तवमा नेपालको राष्ट्रिय खेल के हो ? त्यसबारे अहिलेसम्म आमजनतामा अन्योल नै कायम छ । इतिहास र सामान्य ज्ञान पल्टाउँदा कहीँ डन्डिबियो त कहीँ कबड्डीलाई राष्ट्रिय खेल भनिएको छ । पछिल्लो समयमा यी दुवै खेल डन्डिबियो र कबड्डीलाई नै संयुक्त रूपमा राष्ट्रिय खेल भनिएको अवस्था छ । नेपालको राष्ट्रिय खेल के हो भन्नबारे विभिन्न समयमा सञ्चारकर्मीले आवाज नउठाएका पक्कै होइनन् । तर, सरकारको गैरजिम्मेवारीले गर्दा जहिले पनि यो मुद्दा ओझेलमा परेको थियो । राष्ट्रिय खेलको मुद्दा गम्भीर भए पनि सरकारले यसप्रति गरेको अनदेखी र अनसुनीका कारणले अहिलेसम्म यसको टुङ्गो लाग्न नसकेको मात्र हो । यतिबेला खेलकुद मन्त्रालयको चेत खुलेर राष्ट्रिय खेलबारे चर्चा र अन्तरक्रिया र राय सुझाव सङ्कलन गर्ने कार्य भएको छ, यो सकारात्मक छ । हेरौँ, अब सरकारले यो सकारात्मक कार्यलाई कसरी लिन्छ ।

टेनिस विजेता सम्मानित
नेपाल जुनियर ओपन टेनिस च्याम्पियनसिप (जुनियर लनटेनिस खेलाडीहरूका अभिभावक) ले कतारको दोहामा भएको कतार एसियाली जुनियर टेनिस टिम कपमा तेस्रो भएको नेपाली टोलीलाई सम्मान गरेको छ । डिसेम्बर २३ देखि ३० तारिखसम्म भएको उक्त प्रतियोगतामा संरक्षकभूषण बज्राचार्य, रेन्जन लामा, प्रणव खनाल र सम्यकभूषण बज्राचार्य सम्मिलित पदक विजेता टोली सम्मानित भएका थिए ।
त्यस्तै भियतनामको होचिमिन्हमा सम्पन्न आईटीएफ एसियाली १४ एन्ड अन्डर डेभलोपमेन्ट टेनिस च्याम्पियनसिपको टुर– २ मा पहिलो स्थान हासिल गर्ने नेपाली गल्र्स जोडी एनी माथेमा र इरा राउत पनि सम्मानित भए । उक्त जोडीले फाइनलमा श्रीलङ्काली खेलाडी जोडीलाई पराजित गरेको टिम प्रशिक्षक कृष्णराज घलेले जनाएका छन् । टुर– १ मा भने एनी र इराको जोडी सेमिफाइनलमा श्रीलङ्का र मकाउका खेलाडी जोडीसँग पराजित भएको थियो । संरक्षकले भने टुर– १ मा पाँचौँ स्थानमा यात्रा टुङ्ग्याएका थिए भने टुर– २ मा कास्य जितेका थिए । त्यो उपलब्धिसँगै संरक्षक डिभिजन– १ मा पनि बढुवा भएका छन् ।
सोही अवसरमा टिम कपका टिम प्रशिक्षक सूर्यभूषण बज्राचार्य र डेभलोपमेन्ट टेनिसका टिम प्रशिक्षक कृष्णराज घलेलाई पनि सम्मान गरिएको थियो । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा उनीहरूलाई अखिल नेपाल लनटेनिस सङ्घका अध्यक्ष मनोज राणालगायतले मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।

ईश्वरमान र सुनीललाई लाइसेन्स
शारीरिक सुगठनका निर्णायकद्वय ईश्वरमान श्रेष्ठ र सुनील राजकर्णिकारले वल्र्ड बडिबिल्डिङ तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको लाइसेन्स प्राप्त गरेका छन् । नेपाल शारीरिक सुगठनको इतिहासमा यस्तो लाइसेन्स पाउने ईश्वरमान र सुनील पहिलो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् । उनीहरूलाई सङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले सङ्घमार्फत आएको लाइसेन्स एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

सेनाद्वारा उपाधि रक्षा
नेपाली सेनाले दोस्रो नेपाल टेलिकम कप खुला राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिताको उपाधि जितेको छ । कपनको आकाशेधारास्थित ह्यान्डबल मैदानमा भएको फाइनलमा सेनाले एपीएफ क्लबलाई २३–२० ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । सेनाका अमर श्रेष्ठले आठ अङ्कको योगदान गरे । नेपाल टेलिकमको मुख्य प्रायोजनमा नेपाल ह्यान्डबल सङ्घद्वारा आयोजित प्रतियोगितामा पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २४–१० ले हराउँदै तेस्रो स्थानमा चित्त बुझाएको थियो ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे । आर्मीकै मदन चुनारा उत्कृष्ट खेलाडी घोषित भए । उनले पाँच हजार नगद पुरस्कार जिते ।

क्याम्पियन कपमा १९ लाखको छात्रवृत्ति
खेलकुदलाई विशेष प्राथमिकता दिने उद्देश्यले तेस्रो क्याम्पियन कप अन्तरस्कुल तथा कलेज थ्री अन थ्री बास्केटबल प्रतियोगितामा विशेष छात्रावृत्ति प्रदान गरिने भएको छ । हालै आयोजित पत्रकार सम्मेलनमा आयोजक क्याम्पियनका प्रिन्सिपल चन्द्रशेखर देव र संयोजक प्रदीप आचार्यले स्कुल तथा कलेजतर्फ करिब १९ लाख रुपैयाँबराबरको छात्रवृत्तिको व्यवस्था गरिएको जानकारी गराएका थिए । प्रतियोगिता गहनापोखरीस्थित क्याम्पियन काठमाडौं उमाविको आयोजनामा हुँदै छ । पहिलो हुने टिमका प्रत्येक खेलाडीलाई शतप्रतिशत भर्ना र मासिक शुल्क निःशुल्क प्रदान गरिने छ । साथै दोस्रो हुने टिमका खेलाडीलाई शतप्रतिशत भर्ना निःशुल्क र मासिक शुल्कमा पचास प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
सहभागी प्रत्येक टिमका खेलाडीलाई शतप्रतिशत भर्ना निःशुल्क र मासिक शुल्कमा पच्चीस प्रतिशत छुटको व्यवस्था छ । उक्त छात्रवृत्ति प्लस टुसम्मको अध्ययनका लागि प्रदान गरिनेछ । स्कुलको ब्वाइजमा १६ तथा गल्र्समा १२ टिमले भाग लिनेछन् । कलेजतर्फ आठ ब्वाइज टिम सहभागी हुने क्याम्पियनका बास्केटबल प्रशिक्षक अङ्कित श्रेष्ठले जानकारी गराए । गल्र्सको स्पर्धा यो संस्करणदेखि थपिएको हो ।
स्कुलका सहभागी टिमलाई चार तथा कलेजमा भाग लिने टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । कलेजमा पहिलो र दोस्रो हुने टिमलाई क्यम्पियन कलेज, कुपण्डोलमा ब्याचलर लेभल (बीबीएस, बीएसडब्लू र बीए) अध्ययनका लागि विशेष छात्रवृत्तिको व्यवस्था गरिएको जानकारी कलेजका संयोजक प्रदीप आचार्यले जानकारी दिए । किस्स कलेज र बाबा स्कुलतर्फ डिफेन्डिङ च्याम्पियन हुन् ।