महिला टी–२० स्म्यास क्रिकेट : इन्डोनेसियालाई पराजित गर्दै नेपाल फाइनलमा

महिला टी–२० स्म्यास क्रिकेट : इन्डोनेसियालाई पराजित गर्दै नेपाल फाइनलमा


इन्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्यान्डमा जारी थाइल्यान्ड महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कुल १२० रनको विजयी लक्ष्य पछ्याउने क्रममा मात्र २७ रन बनाउँदा इन्डोनेसिया अलआउट भएको थियो । ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । उसका चार खेलाडीले खाता खोल्न सकेनन् ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले तीन, कविता कुँवर, नेरी थापा, सीता रानामगर र सरिता मगरले एक–एक विकेट लिएका थिए । प्रतियोगितामा नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । इन्डोनेसिया समूह ‘बी’को उपविजेता बनेको थियो ।

एघार रन बनाउँदा इन्डोनेसियाले पहिलो विकेट गुमाएको थियो भने दोस्रो विकेट १९ रन, त्यसपछि आठ रन जोड्ने क्रममा इन्डोनेसियाले आठ विकेट नै गुमाउन पुगेको थियो । ९२ रनको जित, टी–२० अन्तर्राष्ट्रिय नेपाली महिला टिमको सबैभन्दा ठूलो रन अन्तरको जित हो । विकेटको आधारमा प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो । सीताले बनाएको ४८ रन कुनै पनि नेपाली महिला खेलाडीको टी–२० अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक व्यक्तिगत योगफल हो । यसअघि सीताले नै यूएईसँग बनाएको ३७ रन सर्वाधिक व्यक्तिगत योगफल थियो ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले १२० रन बनाएको थियो । नेपालले पूरै २० ओभर खेल्दै तीन विकेट गुमाएर १२० रन बनाएको थियो । नेपालका लागि सीता रानामगरले उकृष्ट ब्याटिङ गर्दै ४८, काजल श्रेष्ठले १४ रन बनाइन् । यस्तै इन्दु बर्मा ३७ अविजित रहिन् । अब नेपालले शनिबार हुने फाइनल खेलमा आजै हुने दोस्रो सेमिफाइनल थाइल्यान्ड र यूएईबीचको विजेतासँग खेल्नेछ । समूह चरणमा उत्कृष्ट नतिजासहित सेमिफाइनल पुगेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले, तेस्रो खेलमा यूएइलाई ६ विकेटले र अन्तिम खेलमा थाइल्यान्ड ‘ए’ लाई नौ विकेटले हराएको थियो ।