ज्ञाननिकेतन स्कुलको आयोजनामा हुने १८औँ ज्ञाननिकेतन प्लस टु बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको छ । माघ ४ गते शुक्रबारदेखि शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको ज्ञाननिकेतनका आर्थिक निर्देशक सञ्जयजित कुँवरले माघ ३ गते बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ११ छात्र टिमको सहभागिता रहनेछ ।
सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ । समूह ‘ए’ मा टाइम्स, सेन्ट जेभियर्स र ट्रिनिटी तथा समूह ‘बी’मा सीसीआरसी र ओमेगा छन् । त्यस्तै आयोजक ज्ञाननिकेतन, ग्रिनफिल्ड र ह्वाइटहाउस समूह ‘सी’ तथा बर्नहार्ट, इन्साइट भिजन र जेभियर इन्टरनेसनल समूह ‘डी’मा छन् । गत संस्करणको विजेता प्राइम भने प्रतियोगितामा सहभागी नहुने भएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाख ५० हजार रुपैयाँ खर्च हुने आर्थिक निर्देशक कुँवरले जानकारी दिए । नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका खेलहरू शंखमूलस्थित आयोजककै कोर्टमा खेलाइनेछ । फाइनल माघ १० गते हुनेछ ।
प्रतिक्रिया