अखिल नेपाल फुटबल संघ (एन्फा)को माघ ३ गते बिहीबार बसेको कार्यसमितिको बैठकले मानार्थ अध्यक्ष टासी घलेलाई उक्त पदबाट हटाएको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
दुईपटक एन्फाको मानार्थ अध्यक्ष बनेका घले योभन्दा अघिका एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठको कार्यकालमा पनि मानार्थ अध्यक्ष थिए । गत वैशाखमा भएको एन्फाको निर्वाचनमा कर्माछिरिङको समूहलाई सहयोग गरेपछि घले दोस्रोपटक मानार्थ अध्यक्ष बनेका थिए ।
पछिल्लो समय घले र एन्फाका पदाधिकारीहरूबीच तालमेल नबन्दा घलेलाई मानार्थ अध्यक्षबाट पदमुक्त गरिएको बुझिएको छ । प्राप्त जानकारीअनुसार अन्तर्राष्ट्रिय विभागमा रुचि देखाएका घलेलाई उक्त पद नदिई नवीन पाण्डेलाई जिम्मेवारी दिएपछि घले र एन्फाका अध्यक्ष शेर्पाबीचको सम्बन्ध चिसिएको थियो ।
माघ ३ गते बसेको एन्फाको कार्यसमिति बैठकले अन्य चार निर्णय पनि गरेको थियो । जसमा बिनाप्रमाण एन्फालाई विवादमा ल्याउने गरी पत्रकार सम्मेलन गरेका चार जिल्ला फुटबल संघका अध्यक्षमाथि छानबिन गर्ने निर्णय गरेको छ । ती चार जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ रहेका छन् ।
त्यस्तै स्विडिस प्रशिक्षक जोन कालिसलाई राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी, राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान राकेश श्रेष्ठलाई पाँच लाख आर्थिक सहयोग र महिला फुटबल खेलाडीलाई जनही पचास हजार दिने निर्णय गरेको छ ।
प्रतिक्रिया