मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्न वातावरण ऐन निर्माण

मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्न वातावरण ऐन निर्माण


मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्न काभ्रेको पाँचखाल नगरपालिकाले वातावरण ऐन निर्माण गरेको छ ।

नगरपालिकाले निर्माण गरेको उक्त ऐन यसै साता नगरपरिषदले पास गरेको हो । स्थानीय तहले मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्ने पूर्ण अधिकार नभएकाले वातावरण ऐन निर्माण गरी मानव तथा कृषि उपजमा प्रतिकूल असर पार्ने उद्योग बन्द गर्न लागिएको नगरप्रमुख महेश खरेलले बताए । नगरप्रमुख खरेलले भने, ‘मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्न वातावरण ऐन बनाइयो, अब एक हप्तामै नियमावली बनाएर बन्द गर्नतिर लाग्छौँ ।’

पाँचखाल नपाको वडा नं. ७, ८, ९ र १२ मा सात इँटा उद्योग सञ्चालित छन् । पाँचखालका इँटा उद्योगको वातावरण प्रभाव मूल्यांकन (आईईई) अध्ययन गर्दा सबै इँटा उद्योग स्वीकृतअनुसार ९८ प्रतिशतसम्म मापदण्डविपरीत सञ्चालनमा रहेको नगरप्रमुख खरेलले जानकारी दिए । उनले भने, ‘मापदण्डविपरीत सञ्चालित इँटा उद्योग बन्द गर्ने विषयमा केन्द्र र प्रदेश सरकारको निर्णय कुऱ्यौं, तर अहिलेसम्म नआउँदा हामी आफैँले ऐन बनाएर बन्द गर्ने निर्णयमा पुग्यौँ ।’

नपाले तयार पारेको वातावरण ऐनमा ‘नागरिककको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न, वातावरणीय जोखिम न्यूनीकरण गर्न तथा प्राकृतिक स्रोतको समुचित उपयोग र व्यवस्थापनबाट वातावरण संरक्षण गर्न कानुनी व्यवस्था वाञ्छनीय भएकाले नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम नगरसभाले यो ऐन बनाएको छ’ भनिएको छ । ऐनको नाम ‘पाँचखाल नगरपालिकाको वातावरण संरक्षण ऐन–२०७५’ राखिएको छ ।