प्रधानसेनापतिसँग एनसिसी भ्रमण दलको शिष्टाचार भेट

प्रधानसेनापतिसँग एनसिसी भ्रमण दलको शिष्टाचार भेट


प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेको भारतीय राष्ट्रिय क्याडेट कोर (एनसिसी)को भ्रमण दलले भेट गरेको छ ।

भारतीय सेनाका विङ कमान्डर पिआर पोनप्पाको नेतृत्वमा नेपाल भ्रमणमा रहेको १८ सदस्यीय टोलीले भेट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।

राष्ट्रिय सेवा दलको वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालित युवा आदानप्रदान भ्रमणमा सहभागी हुन भारतीय टोली यही कात्तिक ५ गते यहाँ आएको हो ।

नेपाल भ्रमणमा रहेको भारतीय टोलीलाई लक्षित गरी सञ्चालन भएका विभिन्न कार्यक्रममा नेपालको राष्ट्रिय सेवा दलका छात्र÷छात्राको समेत सहभागिता रहेको छ । विसं २०२२ मा नेपालमा स्थापित राष्ट्रिय सेवा दलका तालिमरत छात्र÷छात्राले पनि विसं २०२६ बाट विभिन्न देशमा सञ्चालित तालिममा सहभागिता जनाउँदै आएको पनि निर्देशनालयले जनाएको छ । नेपालबाट राष्ट्रिय सेवा दलका छात्रछात्राले भारत, श्रीलङ्का, बङ्गलादेश, भूटान, मालदिभ्स, पाकिस्तान र सिङ्गापुरको भ्रमण गरिसकेको जानकारी दिइएको छ ।

नेपालमा हालसम्म ७४ हजार चार सय ८० जना छात्र/छात्राले सिनियर तथा जुनियर डिभिजनमा रही राष्ट्रिय सेवा दलको तालिम प्राप्त गरिसकेको पनि निर्देशनालयले जनाएको छ । यस वर्ष मात्रै सात हजार सात सय चार छात्र/छात्रा उक्त तालिममा सहभागी छन् ।