देउवा र नेपाल एकातिर

देउवा र नेपाल एकातिर


dnmवर्तमान सरकारलाई विस्थापित गर्न नेपाली काङ्गे्रसका वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपालले विशेष अग्रसरता लिनुहुने सङ्केतहरू देखापरेका छन् । सुशील कोइराला नेतृत्वको सरकार रहँदासम्म एमालेभित्र अध्यक्ष केपी शर्मा ओली बलवान रहनुहुने देखिएपछि नेता नेपाल कोइराला सरकारलाई बिदा गर्नुपर्ने निष्कर्षमा पुग्नुभएको बुझिएको छ । पार्टीभित्र र सिङ्गै देशभित्र ओलीको प्रभाव बढेबाट माधव नेपाल हैरान हुनुहुन्छ । ओलीको कार्यशैलीलाई अप्रजातान्त्रिक ठान्नुहुने नेपालले खुलेआम ओलीविरुद्ध गतिविधि सञ्चालन गर्न सक्ने अवस्था यतिबेला एमालेभित्र छैन । सुशील कोइरालालाई हटाएर नयाँ सरकार गठन हुँदा मात्र परिस्थिति आफूअनुकूल हुने ठम्याइ नेता नेपालको रहेको छ । त्यसैले सरकार परिवर्तनका निम्ति माधव अब तत्कालै सक्रिय रहनुहुने विश्वास गरिएको छ । तर, नेपालको सक्रियता कहिलेदेखि कुन रूपमा हुने हो सो भने प्रतीक्षाको विषय बनेको छ । उता नेपाली काङ्गे्रसमा वरिष्ठ नेता शेरबहादुर देउवा पनि प्रधानमन्त्रीमा सुशील कोइरालाको निरन्तरताका पक्षमा हुनुहुन्न । गत वर्ष कोइराला प्रधानमन्त्री बनेयता हरतरहले सघाउँदै आउनुभएका देउवालाई गत माघ ८ मा संविधान जारी हुने र त्यसपछि कोइरालाले पद त्याग गर्नुहुने विश्वास थियो । माघ ८ मा संविधान जारी नभएपछि कोइरालाले पदबाट राजीनामा दिने आशा पनि देउवाले गर्नुभएको हो । तर, कोइराला देउवाले सोचेजस्तो सरल र सहज देखिनुभएन, मापाको निस्कनुभयो । कोइरालाकै हठका कारण देशमा द्वन्द्व बढ्ने खतराका सङ्केतहरू देखिएपछि देउवा पनि कोइराला विस्थापनको पक्षमा पुग्नुभएको छ । आगामी दुई साताभित्र सुशील कोइरालाले राजीनामा दिनुभएन र देशमा द्वन्द्वको अवस्था पैदा भयो भने कोइरालालाई पदमुक्त गर्न देउवा अग्रसर हुनुहुने सम्भावना बढेको छ ।
यसरी नेकपा एमालेमा माधव नेपाल र काङ्गे्रसमा शेरबहादुर देउवा नै सरकार परिवर्तनका निम्ति क्रियाशील हुन थाल्नुभएमा सुशील नेतृत्वको वर्तमान सरकारले आगामी चैत महिना काट्न सक्ने ठानिएको छैन । अब इज्जतसाथ बालुवाटारबाट बाहिरिने या बेइज्जतीका साथ भन्ने कुराको निर्णय सुशील स्वयम्ले लिनुपर्ने अवस्था आएको छ ।

भत्ताका निम्ति हाजिर गर्छन् सभासद्
संविधानसभामा पुगेका कतिपय सभासद्हरू पैसाका लागि कतिसम्म तल झर्न सक्दारहेछन् भन्ने नयाँ तथ्य फेलापरेको छ । सरकारले सभासद्हरूलाई मासिक तलब–भत्ता, सरकारी खर्चमा एक सहयोगी, बिलअनुसारको उपचार तथा भ्रमणखर्चको समेत व्यवस्था गरिदिएको छ । तर, सभासद्हरूले यतिमा मात्र चित्त नबुझाई आफू सहभागी नभएको बैठकमा पनि सहभागी भएको भन्दै भत्ता र यातायात खर्च लिने गरेको पाइएको छ । उनीहरूले आफू सहभागी नभए पनि सहभागी भएको भन्दै भत्ता र यातायात खर्च लिने गरेको संविधानसभा वा संसद्को नभई विभिन्न समितिका बैठकहरूको हो ।
समितिको बैठक समयमा सुरु भएको कमै मात्र भेटिन्छन् । कारण हो, समितिका सदस्यहरूको सहभागिता नहुनु । संसद् सचिवालयका अनुसार कुनै पनि समितिको बैठक समयमा सुरु भएको रेकर्ड नै छैन । ढिलो गरी सुरु भएको बैठकमा पनि सबै सदस्यको उपस्थिति हुँदैन, यदि भइहाले पनि बैठक सुरु भएको केही समयपछि नै सभासद्हरू बाहिरिन्छन् । समितिका केही सदस्य भने बैठक सकिनुभन्दा केही समयअघि मात्र पुग्ने गर्छन । तर, उनीहरूले पूरै तलब–भत्ता लिने गरेका छन् ।
संसद्को सुशासन तथा अनुगमन समितिको बैठकमा समितिका सदस्यहरूको सहभागिता कम भएकोले समितिको बैठक एक घण्टा ढिलो सुरु भयो । बैठकमा जम्मा पन्ध्रजना सदस्यको मात्र उपस्थिति थियो । तर, बेलुका त्यही समितिमा सहभागीहरूको सङ्ख्या पच्चीस देखियो । समितिका एक कर्मचारीले भने, ‘पछि माननीयज्यूहरू आएर बैठक त सकिसकेछ, खै उपस्थिति जनाऊँ भन्दै हाजिर गरेर जानुभयो ।’ यसरी उपस्थिति जनाएपछि उनीहरूले बैठकमा सहभागी भएको भन्दै तलब–भत्ता पाउँछन् । बैठकमा सहभागी नभएका सदस्यहरूलाई बैठकभत्ता दिइँदैन, त्यसैले उनीहरू हाजिर गर्न मात्र भए पनि आउने र हाजिर गरेर फर्कने गर्छन् ।
समितिको कर्मचारीहरूका अनुसार कतिपय सदस्यले बैठकमा हाजिर गरेर जाने सभासद्हरूले मेरो अर्को बैठकमा जानु छ भन्ने बहाना बनाउँछन् । तर, त्यसरी बाहिरिएका सभासद् समितिको बैठक सकिएर खाना खाने बेलामा भने फेरि सहभागी हुन्छन् । बिहानै बैठक बोलाइएको छ भने समितिका सदस्यहरूलाई समितिले नै खानाको व्यवस्था गर्छ ।
संसद् सचिवालयको कर्मचारीका अनुसार समितिमा सदस्यहरू नपुगेका कारण कतिपय समितिको बैठक नै बस्न सक्दैन । त्यस्तो अवस्थामा समितिमा कर्मचारी तथा सभासद्ले फोन गरेर बैठकमा बोलाउनुपर्ने हुन्छ । समिति बैठकमा सदस्यहरू नआउने गरेको र आए पनि ढिलो गर्ने गरेको जानकारी दिँदै संसद् सचिवालयका प्रवक्ता मुकुन्दप्रसाद शर्माले भने, ‘कहिलेकाहीँ समितिको गणपूरक सङ्ख्या पु-याउन पनि निकै समस्या पर्छ ।’ उनका अनुसार केही सदस्यले भने बैठकको सुरुमै आफ्नो सहभागिता जनाएर जाने गर्नले बैठकको समयमा समितिका कुर्सीहरू खाली देखिने गरेको छ ।
एमाले सभासद् सुशीला नेपालले गणपूरक सङ्ख्या नपुगेर समितिको बैठक समयमा सुरु भएको रेकर्ड नै नभएको बताइन् । उनी सुशासन समितिकी सदस्य हुन् । बैठकमा गणपूरक सङ्ख्या नपुगे पनि माइन्युटमा भने बैठकमा सहभागी भएको भन्दै धेरै सदस्यको उपस्थिति देखिने गरेको नेपालले बताइन । नेपालका अनुसार समितिमा सहभागी हुने सदस्यको सहभागिता कम हुने हुनाले समितिले बोलाएका पाहुना लामो समयसम्म कुरेर बस्नुपरेको छ ।
व्यवस्थापिका–संसद्मा विधायन समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति, सामाजिक न्याय तथा मानवअधिकार समिति, कृषि तथा जलस्रोत समिति, विकास समिति, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समिति, राज्य व्यवस्था समिति, वातावरण संरक्षण समिति, सार्वजनिक लेखा समिति, सुशासन तथा अनुगमन समिति र संसदीय सुनुवाइ विशेष समिति छन् । ती सबै समितिका सभापतिलाई राज्यमन्त्रीसरह सुविधा दिइएको छ । समितिका सदस्यहरूलाई भने बैठकमा सहभागी भएको दिनको भत्ता उपलब्ध गराइन्छ ।

सेना बनाउँदै विप्लव
नेकपा–माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दले छापामार युद्धमा सहभागी भएका पूर्वलडाकु तथा वाईसीएल कमाण्डरहरूसँगको भेट र छलफललाई पछिल्लो समयमा तीव्रता दिएका छन् । उनले पार्टी सैन्य मोर्चा गठनका लागि पूर्वलडाकु तथा वाईसीएलका कमाण्डरहरूसँगको भेटलाई तीव्रता दिएका हुन् । सैन्य मोर्चा बनाउने र त्यसमा युद्ध अनुभव भएको तथा पुराना कार्यकर्तालाई समेट्ने भन्ने हालै भक्तपुरमा बसेको केन्द्रीय कमिटीको निर्णयअनुसार चन्दले पुराना कमाण्डर र वाईसीएलका नेताहरूसँग भेट गरेको सो पार्टीका एक नेताले जानकारी दिए । भक्तपुरको विभिन्न स्थानमा ६ दिनसम्म बसेको बैठकले पूर्व लडाकु तथा वाईसीएलका कमाण्डरहरूको भेला बोलाउने निर्णय गरेको छ । त्यसरी बोलाइएको भेलाबाटै सैन्य मोर्चा गठन गर्ने चन्दको तयारी छ ।
स्रोतका अनुसार अध्यक्ष चन्दले सेना समायोजनमा नपरेका तथा अयोग्य घोषणा गरी अस्थायी शिविरबाट बाहिर निकालेका लडाकु तथा कमाण्डरहरूसँगको भेट र छलफललाई प्राथमिकता दिएका छन् । साथै केन्द्रदेखि स्थानीयस्तरसम्म पार्टी कमिटी गठन गरी समानान्तर सरकार सञ्चालन गर्ने पनि चन्दले तयारी गरेका छन् । चन्दको यस्तो प्रस्तावलाई बैठकले पारित गरिसकेको छ । तर, समानान्तर कमिटीलाई कति र कस्तो अधिकार दिने भन्नेमा भने टुङ्गो लागिसकेको छैन ।

‘विदेशी’ कर्मचारीलाई अङ्कुश
सरकारी सेवामा रहेका पीआर र ग्रिनकार्डधारी कर्मचारीलाई कारबाही गराउने सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको अभियानले सफलता पाउने देखिएको छ । मन्त्री पण्डितले सरकारी सेवामा रहेका पीआर र ग्रिनकार्डधारी कर्मचारीलाई सरकारी सेवाबाट हटाउने गरी तयार गरेको निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक संसद्को राज्य व्यवस्था समितिबाट पारित भएको छ । राज्यव्यवस्था समितिमा विचाराधीन रहेको विधेयकउपर चर्को विरोध भएपछि समितिले एक उपसमिति बनाएर टुङ्गोमा पु-याउन भनेको थियो । उपसमितिले अहिले त्यसलाई टुङ्गोमा पु-याएको मन्त्री पण्डितका एक सहयोगीले जानकारी दिए । ती सहयोगीका अनुसार उपसमितिले मन्त्री पण्डितले पेस गरेको विधेयकमा केही संशोधन नगरी पारित गरेको छ । राज्यव्यवस्था समितिका एक सदस्यले दिएको जानकारीअनुसार विदेशी आवासीय प्रमाणपत्र लिएका कर्मचारीको श्रीमान् या श्रीमती जसले आवासीय प्रमाणपत्र लिएको भए पनि सरकारलाई जानकारी दिए पुग्छ, जागिर नै छाड्नुभने पर्दैन । तर, सम्बन्धित कर्मचारीले त्यसखाले कार्ड लिएको छ भने कि जागिर छाड्नुपर्छ कि ग्रिनकार्ड वा पीआर ।
उपसमितिले पारित गरेको विधेयक समितिले पारित गर्छ र समितिले पारित गरेको प्रस्ताव संसद्को पूर्ण बैठकले पारित गर्छ । विधेयक पारित भएको तीस दिनपछि यो कानुनको रूपमा देखापर्नेछ । मन्त्री पण्डितले पनि आफूले पेस गरेको विधेयक जस्ताको तस्तै पारित हुने जानकारी दिए । उनले भने, ‘यसलाई रोक्न अझै पनि निकै ठूलो शक्ति लागिपरेको छ, तर त्यसलाई म सफल हुने दिनेछैन ।’ उनले भने, ‘यो विधेयक पारित भएर कानुन बन्छ, अहिले यति मात्र भनौँ, बाँकी कुरा पछि जानकारी भइहाल्छ नि ।’

त्रिशूली धमिल्याउने जिम्मा लिए सीडीओले
धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले त्रिशूली नदी धमिल्याउने ‘ठेक्का लिएका’ छन् । त्रिशूली नदी र आसपासका क्षेत्र भत्काएर अनधिकृत ढङ्गले बालुवा खानी सञ्चालन भएको र बालुवा धोएको पानी सीधै त्रिशूली नदीमा पठाउँदा हिउँदको समयमा समेत वर्षायामको झैँ नदी धमिलो बनेकोले स्थानीय बासिन्दाहरूबाट त्यसको विरोध हुँदै आएको थियो । जनताको व्यापक विरोधपश्चात् केही साता बन्द रहेको बालुवा धुने प्रक्रिया प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको विशेष सक्रियतामा यसै शिवरात्रिको अवसर पारेर खुला गरिएको छ । शिवरात्रिका दिन मंगलबार बिहान (५ फागुन) गजुरी, मलेखु, बेनीघाट, विशालटार, चरौँदी र मझिमटारका बासिन्दा स्नानका लागि त्रिशूली नदी पुग्दा नदीको अवस्था देखेर स्तब्ध र चिन्तित हुन पुगेका थिए । त्यसबखत वातावरणप्रेमी कतिपयले त आँसु नै झारेका थिए ।
स्थानीय बासिन्दाको विरोध रहँदै आएको भए पनि जिल्ला प्रशासनको विशेष सहयोगमा त्रिशूली नदी धमिल्याउने कार्य हुँदै आएको छ । यसपटक जिल्ला प्रहरी प्रमुख प्रकाश मल्ल र स्थानीय विकास अधिकारीले असहमति जनाएका भए पनि सीडीओ घिमिरेको विशेष अग्रसरतामा नदी धमिल्याउने कार्य पुनः आरम्भ गरिएको छ । यसरी नदी प्रदूषित तुल्याएबापत घिमिरेले साप्ताहिक रूपमा कति नगद प्राप्त गर्ने हुन् सो भने स्पष्ट हुन सकेको छैन ।
स्मरणीय छ, त्रिशूली नदीको पानी तानेर फिरफिरेमार्फत बालुवा धुने र धोएको पानी पुनः नदीमै पठाइँदा नदी प्रदूषित हुँदै आएको छ । त्यसरी बालुवा धुने फिरफिरे सञ्चालन गर्नेहरूले ‘खाद्य मिल’ सञ्चालनका लागि भनी विद्युत् प्राधिकरणबाट ‘थ्री फेज लाइन’ प्राप्त गर्ने गरेका छन् । प्राधिकरण आफूले उपलब्ध गराएको विद्युत् के–कस्तो काममा दुरुपयोग भएको छ भन्ने देख्दै देख्दै पनि आँखा चिम्लेर बसेको छ ।

मधेसमै सङ्घीयताविरुद्ध आन्दोलन
सङ्घीयताको अवधारणा जनहितका लागि नभई राजनीतिक समूहका नेताहरूको महत्वाकाङ्क्षा पूरा गर्नका निम्ति मात्र अघि सारिएको पुष्टि हालै ‘बारा घटना’ले गरेको छ । सरकारले बारा जिल्लाको सिमरा र त्यस आसपासका जनताको सेवा–सुविधालाई दृष्टिगत गरी मालपोत र नापी कार्यालयको कार्यालय विस्तार गर्ने र सिमराबाट पनि सेवा दिने निर्णय केही अघि गरेको थियो । सदरमुकाम कलैयामा रहेका मालपोत र नापी कार्यालय यथावत् राखी ती कार्यालयको शाखा विस्तार गरेर सीमराबाट पनि सेवा उपलब्ध गराउने सरकारको उद्देश्य थियो । सरकारको उक्त निर्णय कार्यान्वयन हुन नदिन सङ्घीयताको एकोहोरो रट लगाउने विभिन समूहहरू सक्रिय भए र अन्ततः सो निर्णय फिर्ता लिन सरकारलाई बाध्य पारिएको छ । कलैयाका केही लेखनदास र ‘सङ्घीय राज्य पक्षधर राजनीतिक समूहका समर्थक’हरूले सामान्य विरोध प्रदर्शन गर्नेबित्तिकै सरकार डराएर निर्णय फिर्ता लिनुलाई सिमरावासीले सरकारको लाक्षीपनको रूपमा लिएका छन् । सिमरावासीहरू सरकारको निर्णय कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा उत्रिने तयारी गरिरहेका छन् । मालपोत र नापी कार्यालयको सेवा सिमराबाट नै पाउनुपर्ने माग राखी गर्न लागिएको आन्दोलनको स्वरूप कस्तो हुने र कहिलेदेखि ठोस आन्दोलन सुरु गरिने भन्ने स्पष्ट भइसकेको छैन । तर, सिमरावासीहरू अधिकारका लागि आन्दोलन गरिछाड्ने निर्णयमा भने पुगेका छन् । त्यसका लागि केही राजनीतिक दलका नेता र कार्यकर्ता पनि क्रियाशील भइरहेका छन् ।

तरुण दलको नेतृत्व लिन पौने एक दर्जन युवा मैदानमा
नेपाली काङ्गे्रसको भ्रातृ संस्था नेपाल तरुण दलको महाधिवेशनको तिथि अनिश्चित भए पनि दलको नेतृत्वका लागि करिब पौने एक दर्जन युवा प्रतिस्पर्धाका निम्ति मैदानमा उत्रिएका छन् । विभाजित काङ्ग्रेस एकीकृत भएपछि तरुण दल तदर्थ किसिमबाट चल्दै आएको छ, तर पार्टी नेतृत्वले यसको महाधिवेशन गराउनेबारे कुनै तत्परता लिएको छैन । भ्रातृ संस्थाहरूको समयमै महाधिवेशन गराउँदा युवा नेतृत्व चाँडै स्थापित हुने र नेतृत्व स्थापित भएपछि तिनलाई पार्टीको जिम्मेवारी दिनुपर्ने अवस्था आउने हुनाले काङ्गे्रस नेताहरूले नयाँ नेतृत्वको ‘फ्लो’ रोक्नका लागि समयमै भ्रातृ संस्थाहरूको महाधिवेशन नगराउने नीति अवलम्बन गर्दै आएका छन् । नेताहरूले तरुण दलको राष्ट्रिय महाधिवेशन गराउनेप्रति उदासीनता देखाउँदै आएका भए पनि जिल्ला अधिवेशन गराउने क्रम भने दु्रत गतिमा अघि बढेको छ । हालसम्म चौबीस जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ र केही जिल्लाका अधिवेशनको तिथि निर्धारण गरिएको छ । जिल्ला अधिवेशनमा तरुण दलको नेतृत्व लिन इच्छुक युवाहरूले उत्साहजनक सहभागिता जनाउने गरेका छन् । तरुण दलको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न सक्रिय भएका युवाहरू लक्ष्मी खतिवडा, पदम पालुङ्गा, दामोदर कोइराला, जन्मजय तिमिल्सिना, नागेश्वर यादव र कर्णबहादुर मल्ल विशेष रूपमा सक्रिय देखिएका छन् । यीबाहेक खिमानसिंह रायमाझी, मेदिनीप्रसाद सिटौला र नारायण भट्टराईले पनि अध्यक्षको उम्मेदवार बन्ने बताएर आफूहरूलाई चर्चामा ल्याएका छन् । प्राप्त जानकारीअनुसार संस्थापन पक्षकी लक्ष्मी खतिवडा कार्यकर्ता माझ सर्वाधिक लोकप्रिय मानिएकी छिन् भने शेरबहादुर देउवा पक्षले पदम पालुङ्गालाई उम्मेदवार बनाउने सम्भावना रहेको छ । तथापि डडेलधुरा काङ्गे्रसका सभापति कर्णबहादुर मल्ललाई पनि देउवा पक्षका बलवान उम्मेदवारका रूपमा लिइएको छ । तर, तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादव र नेता विमलेन्द्र निधिले भने नागेश्वर यादवलाई देउवा पक्षको उम्मेदवार बनाउने कसरत गरिरहेका छन् । त्यस्तै बर्दियाका जन्मजय तिमिल्सिनालाई देउवा पक्षको उम्मेदवार बनाउन तरुण दलका पूर्वअध्यक्ष एवम् काङ्गे्रसका युवा नेता बालकृष्ण खाँणले प्रयास गरिरहेका छन् । सभापति सुशील कोइरालाको आशीर्वाद लिएर मोरङका दामोदर कोइराला अध्यक्षको उम्मेदवार बन्न प्रयासरत रहेको बताइन्छ । झापाका मेदिनीप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउन गगन थापा लागिपरेका छन् । यसरी विभिन्न तरुण नेताहरूलाई विभिन्न नेताहरूले बोकेर हिँडेका भए पनि अन्ततः लक्ष्मी खतिवडा र पदम पालुङ्गाबीच मुख्य प्रतिस्पर्धा हुने सम्भावना रहेको छ । कुल १२५० मतदाता (प्रतिनिधि) रहने तरुण दलको महाधिवेशनमा साढे तीन सयभन्दा बढी महिला प्रतिनिधि मात्र रहनेछन् ।

नेवानिका दुई कर्मचारी पत्नीसहित पक्राउ
मुख्य योजनाकारलाई प्रमुखको संरक्षण
नेपाल वायुसेवा निगमका दुई कर्मचारी अमेरिकी राजदूतावासबाट आफ्ना श्रीमतीहरूसहित पक्राउ परेका छन् । निगमका फ्लाइट डिस्प्याचर राजीव अधिकारी र निवास नगरकोटी आफूहरूले अमेरिकाको भिसा पाइसकेपछि आफ्ना श्रीमतीहरूलाई पनि भिसा प्राप्त गराउने क्रममा पक्राउ परेका हुन् । उनीहरूले आफ्ना श्रीमतीहरू पनि नेवानिको फ्लाइट डिस्प्याचर भएको नक्कली कागजात तयार गरी भिसाको लागि आवेदन दिन लगाएका थिए । जोडी बाँधेर माघ २८ गते अमेरिकी राजदूतावास पुगेका उनीहरू चारैजनालाई प्रहरीले दूतावास परिसरबाटै पक्राउ गरेको हो । तर, नक्कली कागजात र परिचयपत्र बनाइदिने निगमको प्रशासन विभागका वरिष्ठ अधिकृत अशोक सिग्देललाई भने प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।
प्राप्त जानकारीअनुसार राजीव र निवासले यसअघि नै अमेरिकाको भिसा प्राप्त गरिसकेका थिए । आफ्ना श्रीमतीसहित अमेरिका पलायन हुने योजना बनाएका उनीहरूले पत्नीहरूका लागि पनि नेवानिबाटै किर्ते कागजपत्र तयार गराए र नेवानिको कर्मचारी भएको प्रमाणित गर्न फोटोसहितको परिचयपत्र पनि बनाएका थिए । तिनका श्रीमतीहरूको नाममा नेवानिको कर्मचारी प्रशासनबाट दूतावासलाई भिसा दिन आग्रहसहित पत्र लेखिएको, तलब शाखाबाट उनीहरूले प्राप्त गर्ने गरेको महिनावारी तलब विवरण खोलिएको पत्र र नेवानिको परिचयपत्र हुनुले यस किर्ते प्रकरणमा अशोक सिग्देलको मुख्य भूमिका भएको रहस्य खुलेको छ । प्रशासन प्रमुखको सहयोगबिना ती कागजात र परिचयपत्र उपलब्ध हुन सम्भव मानिँदैन । अशोक सिग्देलको सहयोगमा तयार पारिएको किर्ते कागजात सामेल गरी भिसाका लागि आवेदन दिएका राजीव र निवासका पत्नीहरूलाई माघ २७ गते दूतावासले अन्तर्वार्ताका लागि बोलाएको थियो । अन्तर्वार्ताका क्रममा दूतावासका कर्मचारीलाई उनीहरूले आफूहरू नेवानिको फ्लाइट डिस्प्याचर भएको बताएका थिए । दूतावासका कर्मचारीले फ्लाइट डिस्प्याचरले गर्ने कामबारे प्रश्न गर्दा भने दुवै महिला निरुत्तर हुन पुगेका थिए । त्यसरी उनीहरू निरुत्तर भएपछि शङ्का उत्पन्न भयो, तर ती कर्मचारीले शङ्का लागेको सङ्केत दुवै महिलालाई दिएनन् । बरु भोलि (माघ २८ गते) दूतावासमा आउनु भन्दै उनीहरूलाई त्यहाँबाट बिदा गरिएको थियो । उनीहरूलाई फर्काएपछि दूतावासले नेवानिमा सम्पर्क गरी बुझ्दा दुवै महिला त्यहाँको कर्मचारी नभएको पत्ता लाग्यो । भोलिपल्ट (माघ २८) ‘भिसा दिने भयो’ भन्दै आ–आफ्ना श्रीमान्सहित उनीहरू अमेरिकी दूतावास पुगेका थिए । उनीहरू चारैजनालाई प्रहरीले तत्काल पक्राउ ग-यो र अहिले महाराजगञ्जस्थित प्रहरी वृत्तमा थुनामा राखिएको छ । यसरी चारजना पक्राउ परे पनि यस प्रकरणका प्रमुख सूत्रधार अशोक सिग्देललाई पक्राउ नगरिनु आश्चर्यको विषय मानिएको छ । अशोक पहिले नेवानिमै ज्यालादारीमा काम गर्थे र पाँच वर्ष ज्यालादारी कर्मचारी रहेका उनी खुला प्रतिस्पर्धाबाट सातौँ तहको अधिकृत बन्न सफल भएका थिए । नगदका लागि जेसुकै गर्न तयार रहने व्यक्तिको छवि बनाएका सिग्देललाई प्रशासनजस्तो महत्वपूर्ण फाँटको जिम्मेवारी दिन नहुने नेवानिका अधिकांश कर्मचारीको धारणा थियो र तीनवटा टे«ड युनियनका अध्यक्षसहित कर्मचारीहरूले महाप्रबन्धक मदन खरेललाई भेटी सिग्देललाई प्रशासनबाट हटाउन माग पनि गरेका थिए । तर, खरेलसँग अन्तरङ्ग सम्बन्ध बनाएका सिग्देल जो–जसको विरोध भए पनि खरेलले च्यापेका कारण प्रशासन फाँटमै काम गर्दै आएका छन् । यो किर्ते प्रकरण सिग्देलले आर्थिक प्रलोभनमा परेर रचेको विश्वास गरिएको छ । अब यी सिग्देललाई मदन खरेलले कसरी बचाउन सक्छन्, प्रतीक्षाको विषय बनेको छ ।

ठूलो भाग खोजे माधवले
पार्टीभित्रको आन्तरिक विवादका कारण पार्टी महाधिवेशन भएको एक वर्षभन्दा लामो समय बितिसक्दा पनि एमालेको पार्टी केन्द्रीय कमिटीले पूर्णता पाउन सकेको छैन । अध्यक्ष केपी ओली र माधवकुमार नेपाल पक्षधर नेताहरूबीचको असहमतिका कारण केन्द्रीय कमिटीले पूर्णता पाउन नसक्नुका साथै नेताहरू जिम्मेवारीविहीन बनेका हुन् ।
अध्यक्ष ओली र नेता नेपालबीचको लामो छलफलपछि सहमतिमा केन्द्रीय कमिटीलाई पूर्णता दिनुको साथै जिम्मेवार बाँडफाँड गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार सोमबार पार्टी मुख्यालय बल्खुमा स्थायी समितिको बैठक आरम्भ गरिएको थियो । उक्त बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटीका प्रस्तावित १५ नाम प्रस्तुत गरेका थिए । तर, महासचिव पोखरेलले पार्टी विधानअनुसार सचिवालयमा छलफल गरेर मात्र नाम प्रस्ताव गरी केन्द्रीय कमिटीमा लैजानुपर्नेमा एक्लै नाम पेस गरेको भन्दै नेपालपक्षीय नेताहरूले आपत्ति जनाएका थिए । उनीहरूले महासचिवले पेस गरेको नामावली अपूरो भएको भन्दै थप नामहरू अघि सारेका थिए ।
बैठकमा महासचिव पोखरेलले केन्द्रीय कमिटीमा मनोनयनका लागि विनोद ढकाल, देवराज घिमिरे, घनेन्द्र बस्नेत, केदार न्यौपाने, सुमन प्याकुरेल, कृष्णगोपाल श्रेष्ठ, कल्याणी खड्का, डा. गोविन्दबहादुर थापा, रञ्जना सरकार, नन्दलाल शर्मालाई पूर्ण केन्द्रीय सदस्य र वैकल्पिकमा भीम राई, जुली महत्तो, कृपाराम राणा, दिनेश सुवेदी, झपट रावल, रूपनारायण श्रेष्ठको नाम प्रस्तुत गरेका थिए । तर, नेपाल पक्षका नेताहरूले भने महासचिव पोखरेलले प्रस्तुत गरेको नामावलीको विरोध गर्दै ४७ जनाको नाम प्रस्तुत गर्दै यीमध्येबाट पन्ध्र सदस्य मनोनीत गर्नुपर्ने अडान राखेका थिए ।
उनीहरूले बैठकमा राजेन्द्र राई, रञ्जना साह, कल्याणी खड्का, लक्ष्मण लम्साल, रामकुमार ज्ञवाली, तारा लामा, सुधीर साह, गणेश पौडल, धनराज आचार्य, दिलु पन्त, टीकाराम खड्का, गोपाल बम, कालु हमाल, कोमल भट्टराई, डा. गोवन्द थापा, पूर्ण जोशी, देवशंकर पौडेल, पीताम्बर भुसाल, शैलेन्द्र मियाँ, गगन विष्ट, विष्णु रिमाल, रवीन्द्र अधिकारी, विमला विक, भीम केसी, नन्दा शर्मा, विचारी यादव, सत्यध्वज तुम्बाहाम्फे, काजीमान सम्वाहाम्फे, दिनेश सुवेदी, शान्ता चौधरी, उषाकला राई, कृष्णलाल महार्जन, रञ्जना मास्के, शेषकान्त गौतम, जयप्रकाश थारू, टहलबहादुर खड्का, योगेन्द्र शाहीलगायतका नाम पेस गरेका थिए ।
केन्द्रीय कमिटीमा अध्यक्ष ओलीको मात्र बहुमत नभई नेता पक्षधर सदस्यहरूको पनि झन्डै समान उपस्थिति रहेको र मनोनीत हुनेहरू पनि समान हुनुपर्ने धारणा बैठकमा नेपाल पक्षमा नेताहरूले राखेका थिए । माधव नेपालले ठूलै भाग खोजेपछि महासचिवले बैठकमा पेस गरेको प्रस्ताव फिर्ता लिएका थिए भने दुवैले पेस गरेको नामबाट केन्द्रीय समितिमा मनोनीत गर्ने भन्दै यसको जिम्मा अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव पोखरेलको टिमलाई दिइएको छ । यसले बैठकमा पेस गरिएका नामहरूबाट उपयुक्त उम्मेदवार छनोट गरी मनोनीत गर्नेछ ।
बैठकमा नेपाल पक्षका नेताहरूले कसैले पनि एकपक्षीय ढङ्गले जान नसक्ने र एकपक्षीय रूपमा अघि बढ्दा पार्टी अघि बढ्न नसक्ने धारणा राखेका थिए । एमालेमा अध्यक्षलगायत सबै सदस्य प्रत्यक्ष निर्वाचनबाट आएका हुनाले प्रणालीगत हिसाबमा सामूहिक नेतृत्व हुनुपर्ने धारणा उनीहरूको थियो । ‘संविधान निर्माणको काममा सक्रिय हुनुपर्ने यो बेलामा सहमतिमै पार्टीलाई लैजानुपर्ने धारणाका आधारमा पार्टी नेतृत्व सहमत भएको थियो,’ सचिव योगेश भट्टराईले बैठकबारे जानकारी दिँदै भने, ‘पार्टीलाई एकताबद्ध बनाएर लैजान हामीले भन्यौँ, त्यसै नामावलीलाई अन्तिम रूप दिन पाँच सदस्यको टिम बनाइएको छ, त्यसले बुधबार बस्ने बैठकमा नामावली प्रस्तुत गरी पन्ध्र सदस्यको टुङ्गो लगाउनेछ ।’ मनोनीत हुने सदस्यहरूको नाम छनोट गर्दा टिमले सूचीभित्रबाट वरिष्ठता, योग्यता–क्षमता, समावेशिता, क्षेत्रीय सन्तुलन र पार्टी कामको आवश्यकतालाई आधार बनाउनेछ ।

सार्कराष्ट्रका ज्योतिषी वैज्ञानिक नयाँदिल्लीमा भेला हुँदै
यही फागुन १० देखि १२ सम्म भारतको राजधानी नयाँदिल्लीमा ज्योतिषी वैज्ञानिकहरूको ३८औँ सार्कस्तरीय सम्मेलन आयोजना हुँदै छ । भावी दिनमा विश्वमा के हुँदै छ, ज्योतिषीय मतमा विश्वको उन्नति र ग्रहबाट विश्वले के–कस्ता ऊर्जा प्राप्त गर्न सक्ला, ग्रहहरूको भ्रमण र दृष्टिपात तथा युक्तिपातबाट मानवजीवनमा कस्तो प्रभाव पर्दै छ भन्ने सवालमा सम्मेलनमा छलफल हुने दक्षिण एसियाली ज्योतिष महासङ्घका सङ्गठन सचिव फलादेश शिरोमणि ज्यो. पं. आत्माराम उप्रेतीले जानकारी दिनुभएको छ । यसका साथै सूर्य सिद्धान्तअनुसार उदय–अस्त, पूर्व–पश्चिम उत्तर–दक्षिण अक्षांश र देशान्तर, शुक्ल–कृष्ण पक्षमा हुने तिथिको घटबढका कारणबारे पनि हिसाब मिलन गरी एकरूपता ल्याउन सम्मेलनले पहल गर्ने बुझिएको छ । पौराणिक दर्शन कति वैज्ञानिक छ भन्नेमा बहस गर्नुका साथै आधुनिक विज्ञान र पराधुनिक विज्ञानको संयोग वा भिन्नता छ–छैन भन्ने विषयमा पनि सम्मेलनले छलफल र खोज जारी राख्ने बताइएको छ ।
नयाँदिल्लीको प्रगति विहार लोधीरोडस्थित श्री सत्यसाई इन्टरनेसनल सेन्टर अडिटोरिएममा आयोजना हुने ज्योतिष सम्मेलनमा संस्कृत साहित्य, वेद–वेदान्त, स्मृति–पुराण, ज्योतिष, वास्तुशास्त्र र योगासँग सम्बन्धित विज्ञजनसमेत सहभागी हुने इन्डियन इन्स्टिच्युट अफ ओरियन्टल हेरिटेजले जनाएको छ । यसैगरी गणितीय पद्धतिबाट पृथ्वीको पछाडि र आकाशीय वृत्तान्तमा हुने ग्रहगोचरको यथारूप मान्यतालाई थप पुष्टि प्रदान गर्ने यस सम्मेलनको उद्देश्य रहने सम्बद्ध ज्योतिषीहरूको कथन छ । नेपाल, भारत, अफगानिस्तान, पाकिस्तान, भुटान, बङ्गलादेश, माल्दिभ्स र म्यानमारका राजज्योतिषीहरूको उपस्थितिका साथै अन्य सङ्घसंस्थाका प्रतिनिधिहरूको व्यापक सहभागिता रहने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष ज्योतिषी डा. लोकराज पौडेलले गर्दै हुनुहुन्छ ।

जोड नचलेपछि रुझेको बिरालो
भू तथा जलाधार संरक्षण विभागका कामचोर कर्मचारीहरू जतिसुकै गलत ढङ्गले मिडियाबाजीमा उत्रिए पनि महानिर्देशक पेमनारायण कँडेल आफ्नो जायज काम र विभागको हितका लागि थिरिक्क नभएर अगाडि बढेपछि यतिखेर ती कामचोर कर्मचारी रुझेको बिरालोजस्तै भएका छन् । विगत लामो समयदेखि राजनीतिक पहुँचको धम्की दिँदै नेताको आडमा आफूखुसी बुर्कुसी मार्नेहरू कँडेलले सबै कर्मचारीलाई सिस्टमको घेरामा बाँधेपछि इमानदार कर्मचारी खुसी भएका छन् । कामचोर कर्मचारी विगतमा झैँ मिडियाबाजीमा उत्रँदासमेत महानिर्देशक कँडेल अघि बढेपछि केही नलागेर त्यस्ता कर्मचारी बाध्य भई काममा फर्किएका छन् । यसरी सबैभन्दा बढी कामचोर बनेर क्षेत्रीय प्रशासन कार्यालयको निरीक्षणमा समेत अनुपस्थित भई स्पष्टीकरणमा परेका डम्बरबहादुर थापा हुन् । थापाले विगत लामो समयदेखि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासम्म आफ्नो पहुँचको हाउगुजी देखाएर कँडेलभन्दा अघिका महानिर्देशकलाई हैरानीमा पार्दै आएका थिए ।
नेता देउवाको दुरुपयोग गरी डडेल्धुरामा एकछत्र राज गर्दै आफूखुसी कार्यालय जाने डम्बरका विषयमा स्थानीय उपभोक्ता आक्रोशित बन्दै आएका थिए । काम परेर कार्यालयमा जाँदा रकमकलम बुझ्नबाहेक प्रायः काठमाडौंमा घुरेर सरकारी जागिर खाने थापाले आफूअनुकूलको कार्य गर्न नपाए विभिन्न सञ्चारगृहका सञ्चारकर्मीलाई गुमराहमा राखी विभागीय प्रमुखका विषयमा गलत समाचार सम्प्रेषण गराउने गरेका थिए । उनले गरेको सबै कर्तुतलाई नजिकबाट नियाल्दै विभागलाई नीति र नियमको घेराभित्र रही डटेर अघि बढेपछि अन्ततः थापा महानिर्देशक पेमनारायण कँडेलका अगाडि गल्ती स्वीकार गरी घुँडा टेक्न पुगेका हुन् । थापा डडेल्धुराको प्रमुख हुँदा २०७१ वैशाखदेखि भदौ ११ गतेसम्म जम्मा ५५ दिन मात्र हाजिर भएर कामचोर त भएका थिए नै उनले उक्त मितिमा काज र बिदा दुवै लेखेर आफूलाई गलत सावित गराएका थिए । थापाले गरेका दर्जनौँ गल्तीलाई केलाउँदै उनलाई विभागले सातबुँदे स्पष्टीकरणसमेत सोधेको थियो । यसरी गलत गरेको कार्यबाट अत्तालिएका थापाले मिडियालाई गुमराहमा राखी गलत समाचार सम्प्रेषण गराएको छरप्रस्ट भइसकेको छ । पेमनारायण कँडेल महानिर्देशक भई आएयता उनको गलत क्रियाकलापलाई छुट नदिएपछि उनले सरुवामा मनपरी गरेको र अधिकार प्रत्यायोजन नगरेकोजस्ता गलत समाचार सम्प्रेषण गराएको स्वयम्ले यतिखेर स्वीकार गरेका छन् । कँडेलले सरुवा हुन चाहने कर्मचारीको निवेदन माग्ने र आर्थिकजस्तो महत्वपूर्ण कार्यमा आउँदाआउँदै अधिकार प्रत्यायोजन गरी ०७० फागुन ९ गते उपमहानिर्देशक चेतनप्रसाद गुरागाईंलाई दिएका थिए । थापालगायतका केही कामचोर कर्मचारीहरू विभागीय सिस्टममा भन्दा बाहिर गएर सरकारी काम कहिले जाला घाम भनेझैं डडेल्धुराका प्रमुख राजधानीमा मस्तीमा डुबुल्की मार्ने गरेका थिए । जनतालाई दिने सेवालाई भन्दा व्यक्तिगत मेवालाई बढी महत्व दिने थापा प्रवृत्तिका कर्मचारी यतिखेर आफूले गरेको गलत कार्यप्रति पछुतो मानिरहेका छन् भने महानिर्देशक कँडेल निर्धक्क भई जनतालाई सेवा दिने कार्यमा लागेका छन् ।

नयाँदिल्ली उडान पुनः सुरु हुने
नेपाल वायुसेवा निगमले विमान अभावका कारण वर्षौंदेखि स्थगित गरेको काठमाडौं–नयाँँदल्ली उडान यही फागुन महिनाको १३ गते (२५ फेब्रुअरी २०१५)देखि पुनः सुरु गर्ने भएको छ । हाललाई भारतको राजधानी नयाँदिल्लीको उडान हप्ताको चार दिन सोमबार, बुधबार, शुक्रबार र शनिबार हुने र उक्त उडान बिहान ८ः०० बजे काठमाडौंबाट नयाँदिल्लीका लागि र १०ः४० बजे नयँँदिल्लीबाट काठमाडौंका लागि हुने निगमले जनाएको छ ।
नयाँ विमान एयर बस–३२० बाट उक्त उडान गरिने सूचित गर्दै निगमले हाल नेपालीका लागि करसहितको एकतर्फी भाडा रु. ७०८४ रपैयाँ र दुईतर्फी भाडा रु. १५,१७७ रुपैयाँ निर्धारण गरिएको बताएको छ । यसैगरी बैंकक र हङकङमा पनि एयरबस ३२० बाट सेवा प्रारम्भ गरिने तथा यसबाट उडानको नियमितता हुनुका साथै विश्वसनीयतासमेत बढ्ने निगमको दाबी छ । उक्त विमानको १५८ सिटमध्ये आठ सिट बिजिनेस क्लास र १५० सिट इकोनोमी क्लास हुने उल्लेख गर्दै निगमले जारी गरेको विज्ञप्तिमा यात्रुहरूको सुविधालाई ध्यानमा राखी काठमाडौं–क्वालालम्पुर उडानको एकतर्फी नयाँ भाडा (करबाहेक) रु. १४,००० कायम गरेको पनि उल्लेख गरिएको छ ।

‘कन्भर्सेसन्स’मा यसरी खुले ‘अक्षरगञ्ज’का सर्जक
भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको सहआयोजनामा ‘कन्भर्सेसन्स’को २४औँ कार्यक्रम गत शुक्रबार नेपाल एयरलाइन्स भवनस्थित नेपाल–भारत पुस्तकालयमा सम्पन्न भयो । ‘कन्भर्सेसन्स’को उक्त एपिसोडमा प्रमुख आमन्त्रित पाहुना थिए– ख्यातिप्राप्त लेखक कुमार नगरकोटी, र उनलाई कुराकानीमा साथ दिन उपस्थित थिए शेखर खरेल ।
‘कन्भर्सेसन्स’लाई कार्यक्रमको मौलिक शैलीमा अघि बढाउने क्रममा लेखक नगरकोटीले आफ्नो हालै प्रकाशित पुस्तक ‘अक्षरगञ्ज’बारेका अन्तरङ्गी कुरा उपस्थित श्रोतामाझ पेस गरे । पुस्तकमा आफूले नेपाली साहित्यमा परम्परागत रूपमा प्रयुक्त गरिँदै आएको शब्दावलीबाट अलग रहँदै पुस्तकभित्रका चरित्रहरूलाई नौलो किसिमले प्रस्तुत गर्ने जमर्को गरेको नगरकोटीले बताए । कुराकानीमा साथ दिँदै शेखर खरेलले सर्जक नगरकोटी शब्दका एक जादुगर रहेको उल्लेख गर्दै उनको लेखनीमा रहेको जादुमय शैली पाठकले प्रस्ट अनुभूति गर्न सक्ने बताए । जवाफमा नगरकोटीले भने, ‘म शब्दहरूसँग प्रेम गर्छु र शब्दका ध्वनिसँग लेखकीय खेल खेल्न रुचाउँछु ।’ यसै क्रममा खरेलको अनुरोधमा नगरकोटीले आफ्नो पुस्तकका केही हरफ वाचन गरेर श्रोतालाई सुनाए ।
आफ्ना लेखनीमाथि समीक्षकका टीका–टिप्पणी कस्ता लाग्छन् भन्ने सवालको जवाफमा नगरकोटीले भने, ‘मलाई मेरो लेखनीमाथि कस्तो समीक्षा वा टिप्पणी आउँछ भन्नेबारेमा कहिल्यै परवाह भएन, म त आफ्नो भावअनुसार शब्दसँग खेल्न र लेखनमा नयाँ–नयाँ प्रयोग गर्न रुचाउँछु ।’
अक्षरगञ्जमा एउटा स्वप्नलोकको चित्रण छ जहाँ लेखकले दिवंगत लेखक, दार्शनिक र चित्रकारहरूलाई भेटेर उनीहरूसँग कुराकानी गरेका हुन्छन् । ती व्यक्तिहरूसँग भेटेर कुराकानी गर्ने लालसा मेटाउनकै लागि आफूले यो पुस्तक लेखेको सन्दर्भ पनि उनले जोडे ।
कार्यक्रमको अन्त्यमा बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका सचिव अभय कुमारले लेखकद्वयका साथै उपस्थित श्रोताहरूलाई धन्यवाद दिनुका साथै ‘कन्भर्सेसन्स’ले नेपालका विख्यात लेखक तथा स्रष्टा एवम् श्रोताहरूको साथ–सहयोगकै कारण दुई वर्ष पूरा गर्न सकेको भन्दै सबैप्रति आभार प्रकट गरे । साथै, यही फागुन ७ गते बिहीबार आयोजना हुने ‘भ्वाइसेस’मा विख्यात भारतीय नाटककार तथा फिल्म निर्देशक महेश दत्तानी र आगामी ११ गतेको कार्यक्रममा प्रसिद्ध भारतीय कवि मनोहर सेट्ठीको उपस्थिति रहनेबारे पनि अभय कुमारले जानकारी दिए ।

अपराध घटेको प्रहरीको दाबी
नेपाल प्रहरीले ज्यान मार्ने उद्योग कर्तव्य ज्यानजस्ता जघन्य अपराधलगायत लागूऔषध, अपहरण, चोरी–डाँका, हातहतियार तथा खरखजाना, मानव बेचबिखन, जबर्जस्ती करणी एवम् महिला तथा बालबालिकासम्बन्धी अपराधमा कमी आएको दाबी गरेको छ । ०७१ साउनदेखि पुससम्ममा पूर्वक्षेत्रमा तीन हजार ६८, मध्यक्षेत्रमा दुई हजार आठ सय ५८, उपत्यकामा तीन हजार ९५, पश्चिमक्षेत्रमा दुई हजार सात ४९, मध्यपश्चिम क्षेत्रमा एक हजार तीन सय ७९ र सुदूरपश्चिम क्षेत्रमा केवल ६ सय आठ गरी कुल १३ हजार सात सय ५७ अपराध सङ्ख्या दर्ता भएको तथ्याङ्क गत आइतबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कमलसिंह बमले प्रस्तुत गरे ।
प्रवक्ता बमले महिला, विपन्न वर्ग सीमान्तकृत नागरिकलाई कानुनी शासनको प्रक्रियामा सबलीकरण र न्यायमा सहज पहुँचको सुनिश्चित गर्ने लक्ष्यसहित प्रहरी सङ्गठनले बेलायती सहयोगमा १६.५ मिलियन पाउण्ड राशिको परियोजना लागू गरिएको जानकारी दिए । डीएफआईडीकोे सहयोगमा नेपाल प्रहरीमा सुधार तथा आधुनिकीकरण नामक परियोजना लागू गरेको उनले जनाए । सवा ४ वर्ष अवधि (३१ डिसेम्बर २०१८)को उक्त परियोजना गत ६ जनवरी २०१५ मा सम्झौता भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीले पाउने रासनबापतको नगद रकम र मेस सञ्चालनलाई पारदर्शी रूपमा व्यवस्थापन गर्न जारी गरिएको ‘रासन व्यवस्थापन निर्देशिका, २०७१’ लागू गरिएको जानकारी दिँदै प्रवक्ता बमले निर्देशिकाअनुसार कार्यव्यस्तता, विशेष कार्यप्रकृति र अन्य विशेष परिस्थितिमा मेसमा खाना खान सम्भव नभएका कर्मचारीलाई नगद रकम उपलब्ध गराउने तथा रासन रकमको हिनामिना वा दुरुपयोग गरी अनुचित लाभ लिएको तथा खर्च–आम्दानीको अभिलेख दुरुस्त नराखेको पाइएमा सम्बन्धित व्यक्तिलाई विभागीय कारबाही गरिने बताए । यस्तै, प्रहरी कर्मचारीको मासिक तलबबाट खेलकुद कोषमा कट्टा हुँदै आएको रकममा कमी गरिएको उल्लेख गर्दैै डीआईजी बमले ०६५ जेठ १ गतेदेखि कोषमा १ प्रतिशतको सट्टा ०.५ प्रतिसत कट्टा गरिँदै आएकोमा ०७१ माघ १ गतेबाट मासिक तलबबाट केवल ०.२५ प्रतिशत कट्टा हुने जानकारी दिए ।

मलेसियामा फेला परे गैँडाकिलर
गैँडा मारेर खागको कारोबार गर्नमा कुख्याति कमाएका राजकुमार प्रजा प्रहरी फन्दामा परेका छन् । चितवन कालीखोलाका ३१ वर्षीय प्रजा गोरखाबाट भक्तराज गिरीको नाममा नक्कली नागरिकता बनाई मलेसियामा लुक्दै आएका थिए । गत माघ १६ गते नै मलेसियाबाट पक्राउ परेका गँैडासिकारी प्रजालाई गत आइतबार मात्र चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको हो । पटक–पटक प्रहरी फन्दामा परेर पनि उम्कन सफल भएका प्रजाले हालसम्ममा २० वटा गैँडा मारेर खाग बेचेको र पाँचवटा गैँडालाई गोली प्रहार गरी घाइते तुल्याएर छोडेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

भ्रामक नक्साबारे राज्य बेखबर
– मुक्तिनाथ भुसाल
अर्घाखाँची÷ भौगोलिक बनावटका आधारमा अहिले पनि सिद्धारा गाविसले अर्घाखाँची जिल्लाको एक चौथाइ भूभाग ओगटेको छ । करिब चार दर्जन सखुवाका सामुदायिक तथा राष्ट्रिय वनले भरिएको सिद्धारामा पातलो बस्तीका अत्यन्त कष्टकर जनजीवन रहेको पाइन्छ । भौगोलिक विकटताका कारण गाविसका समस्त भूभागमा अहिलेसम्म कोही स्थानीय पुग्न सकेका छैनन् । घनघोर जङ्गल, यातायात, टेलिफोन र बिजुलीको समस्याका कारण पनि चाहेजस्तै सम्पूर्ण भूभाग घुम्न असम्भव देखिन्छ । सिद्धारा गाविसको नक्साका आधारमा यात्रा गर्ने हो भने चाहेको गन्तव्यमा पुग्न सकिँदैन ।
राणाकालीन समयमा हवाई सर्भेको माध्यमबाट बनाइएकोे सिद्धाराको नक्सामा जिल्लाको एकचौथाइ भूभाग देखाइएको भए पनि वास्तविक भूगोलभन्दा नक्सा सानो र भ्रामक भएको तथ्यलाई राज्यले ध्यान दिनु उपयुक्त देखिन्छ । निर्वाचनको आधारमा जिल्लाको दुई नम्बर क्षेत्रमा पर्ने सिद्धारा गाविसको पूर्वमा ठाडा गाविस–५ अर्थात् खुम्चिकोटको सिमाना रहेको छ । पश्चिमतर्फ दाङको कालाकाटे र कपिलवस्तुको दोबाटावरपरका क्षेत्र भन्ने बुझिन्छ । उत्तर जुकेना र जलुके गाविसको सिमाना अनि दक्षिणमा कपिलवस्तु रहेको छ ।
सिद्धारा गाविसको पूर्वपश्चिम अर्थात् खुम्चिकोट सिमानादेखि दोबाटा पुग्न पैदल १०–१२ घन्टा लाग्छ भने जिल्लाको क्षेत्र नम्बर एकको पूर्व–पश्चिम दिशामा रहेको चिदिकाबाट गोखुङ्गा गाविसमा पैदल ६–७ घन्टामा पुग्न सकिन्छ । यी दुवैलाई नक्सामा तुलना गर्दा चिदिका गोखुङ्गको भूभाग धेरै र खुम्चिकोट दोबाटाको भूभाग थोरै रहेको छ । त्यसैगरी उत्तर–दक्षिण क्षेत्रमा रहेको जिल्लाको डिभर्ना हुँदै मरेङ पैदल ६–७ घन्टामा पुग्न सकिन्छ भने सोही दिशामा रहेको सिद्धाराको मौहाबारीबाट सीधा छापा निस्केर हर्रे बाटुले सिद्धारा हुँदै राङकासका लागि १४–१५ घन्टा पैदल हिँड्नुपर्दछ । यहाँनेर पनि डिभर्ना मरेङको नक्सा धेरै र सिद्धाराको मौहावारी राङकासको नक्सा थोरै पाउन सकिने कुरामा स्थानीय समाजसेवी माधव पौडेल सहमति जनाउँछन् ।
अर्घाखाँची जिल्लाका धेरै भूभागमा राजमार्गले छोएको रेकर्ड राज्यसँग रहेको बुझिन्छ । तर, यो यथार्थसङ्गत छैन । दाङको कालाकाटे पुल तरेपछि झोन्द्रेखोलाको साइड अर्थात् बाटामाथिका पोल्ट्रीफर्म, ठूला–ठूला होटल, सातमारे पल्ततिर आदिअर्घाखाँचीको जलुके गाविसका रूपमा परिचित रहेको छ । यहाँनेर करिब चार–पाँच किलोमिटर भूभाग भालुवाङतर्फको हाइवेले छोएको देखिन्छ । त्यहीँबाटै भालुवाङ जाने क्रममा दोबाटाको खोला तर्नेबित्तिकै चोरखोला, पहिराखोला, बङ्कशासहित करिब ६–७ किलोमिटर राजमार्ग सडक सिद्धारा गाविसमा पर्दछ । महत्वपूर्ण कुरा के भने उपरोक्त स्थानको यकिन सीमा सम्बन्धमा स्थानीय र गाविससचिव नै अनभिज्ञ छन् ।
सिद्धारा गाविसको जनजीवन, विकास निर्माण र भौगोलिक बनावटलाई गहिरिएर नियाल्दा दिवंगत काशीनाथ गौतमलाई गुमाउनु दुर्भाग्य भएको र त्यसपश्चात् जनताको दुःख बुझ्ने जनप्रतिनिधि सो क्षेत्रमा हालसम्म नदेखिएकोे महसुस गर्न सकिन्छ । आफ्नो समग्र जीवन सामाजिक हितका कार्यमा बिताएका स्वर्गीय गौतमकी सुपुत्री तथा पूर्वसभासद् पुष्पा भुसाल यसै क्षेत्रबाट चुनाव जितेर पहिलो संविधानसभामा पुगेकी थिइन् । तर, आफ्नो क्षेत्रको विकासमा उनले आवश्यक ध्यान दिन नसकेको र जिल्लाका जिम्मेवार काङ्ग्रेसजन पनि एकले अर्कालाई कसरी सिध्याउने भन्ने रणनीतिमा व्यस्त बनेका कारण लुम्बिनी अञ्चलमै काङ्ग्रेसको बाहुल्य मानिने क्षेत्रबाट काङ्ग्रेसका उम्मेदवार भुसाल पराजित बन्नुप-यो । यिनै कमजोरीलाई उपयोग गर्दै एमालेबाट संविधानसभामा पुगेका डा. दुमनसिंह थापाले केही परिवर्तनकारी काम गर्लान् भनी चिताउनु दिवास्वप्न बनेको छ । संविधानसभामा पुग्नासाथ खाली चेकमा हस्ताक्षर र खानेपानी बजेटको कहालीलाग्दो दुरुपयोगका कारण दुस्चर्चाको पात्र सभासद् थापा यतिबेला आफ्नै समस्याको भूमरीमा डुबिरहेको बुझिन्छ ।
मुलुक सबैको हो र प्रत्येक नागरिकलाई बराबरी अधिकार रहेको छ तापनि विकास–निर्माणको काममा जनप्रतिनिधिको विशेष जिम्मेवारी रहन्छ । लुकिछिपी सुटुक्क जिल्ला आउने र आफ्ना एक–दुईजना अरौटेभरौटेलाई खुसुक्क भेटेर फर्कने थापाजस्ता जनप्रतिनिधिबाट जिल्ला, क्षेत्र या गाउँले अब केही आशा गर्नु आफैँलाई सास्ती दिनु मात्र हो भन्ने कुरा यहाँका सर्वसाधारणले पनि बुझिसकेका छन् । नेताहरू आफ्नो वाचा बिर्सन माहिर हुन्छन् भन्ने धारणा छ, तर सभासद् थापाले त कम्तीमा २५ सय युवालाई रोजगार लगाउनेजस्ता चुनावी प्रतिबद्धता यति छिटो भुलिदिए कि क्षेत्रका जनता जिल्ल परिरहेका छन् । हुन त सभासद् थापा कुनै इतिहास बोकेका नेता नभई एनजीओको अनुभव बटुलेका एक चतुर व्यक्ति हुन् । उनको हालसम्मको क्रियाकलापका आधारमा भन्नुपर्दा अब अर्घाखाँची क्षेत्र नम्बर दुईका जनताले आफ्नो क्षेत्रको विकासका लागि थापाजस्ता प्रतिनिधिको भर नपरी केन्द्रकै मुख ताक्नुको विकल्प छैन । स्थानीय आमजनताले पनि यो राम्रैसँग अनुभूति गरिसकेका छन् ।

कविलाई शान्तिसमाजको कापी–कलम
मानवअधिकार तथा शान्तिसमाजले आफ्नो नियमित ३३औँ शृङ्खला शान्तिकाव्य यात्रा माघ २९ मा सम्पन्न गरेको छ । मानवअधिकारसम्बन्धी विविध कार्यक्रमहरू गर्दै आएको समाजले केही वर्षयता साहित्यमार्फत जनचेतना अभिवृद्धि होस् भनी मासिक कविगोष्ठीको आयोजना गर्दै आएको छ । ०७० देखि प्रत्येक कविलाई यातायात खर्चका रूपमा रु. सय दिँदै आएकोमा गत पुसदेखि एउटा पुस्तक र एउटा कलमसमेत थप दिने गरेको छ । यसपल्ट पनि समाजका महासचिव गंगाधर अधिकारीको सभापतित्व तथा अध्यक्ष होमकान्त चौलागाईं र संस्थापक कृष्ण पहाडीको समुपस्थितिमा कविगोष्ठी सम्पन्न ग-यो ।
कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, वेदमणि घिमिरे, भाग्यशाली अधिकारी, रत्ननिधि रेग्मी, बाबुराम लामिछाने, पूर्णविराम, प्रकाशमणि दाहाल, उर्मिला पन्त पाण्डे, ईश्वरी कार्की वर्षा, अच्युतप्रसाद पौडेल, मानन्धर अभागी, पुण्य गौतम विश्वास, मोहनमणि पोखरेल, मेनका पोखरेल, ब्रह्मप्रिय प्रेमस्वरूप, राजेन्द्रप्रसाद ढुङ्गाना, जयन्ता पोखरेल, विष्णुलाल श्रेष्ठ, गंगा पौडेल, शिशिर सापकोटा, मदन कार्की, त्रिपुरा पौडेल, ऋचा, चन्द्रश्री कार्की, रोशन गिरी, रतन दर्शन, जसध्वज गुरुङ, सुशीलकुमार ढुङ्गेल, सुशीला खड्का हसिना, लक्ष्मी ऐडी, वीरेन्द्रनाथ लोहनी, आमोस थापा, दिनेशकुमार सङ्ग्रौला, विवेक विषालु, नवराज श्रेष्ठ, एटम विद्रोही, अशोक घिमिरेसहित तीन दर्जन कविले कविता, गीत, गजल र मुक्तकहरू वाचन गरे । पुष्पा केसीको उद्घोषण रहेको कार्यक्रममा कृष्ण पहाडीका कविता नामक कृति प्रदान गरिएको थियो ।