तिमी हामी र गणेशमान– मोतीराज बम

तिमी हामी र गणेशमान– मोतीराज बम


indreniजुन दिन, गोली दाग्यौ तिमीले उसलाई
त्यही दिन, जिउन सिकायो उसले हामीलाई
जुन दिन, मुख थुन्न भन्यौ तिमीले उसलाई
त्यही दिन, बोल्न सिकायो उसले हामीलाई
जुन दिन, बन्धकी राख्यौ तिमीले उसलाई
त्यही दिन, आकाश उपहार दियो उसले हामीलाई
त्यही खुला आकाशमुनि
छमछमी नाच्यौँ हामी
बेलगाम हाँस्यौँ हामी
उसले गीत गायो
स्वतन्त्रता, प्रजातन्त्र, नागरिक अधिकार ।
हो ! तिमीले नचिनेर उसलाई
तिमी नचिनिने भएका छौ आज
अनि म उसलाई
किन ! सलाम नभनुँ ?
किन ! नमन नगरुँ ?
हेर त ! उसले चुम्बन गरेको
भद्रगोलको पर्खाल
कसरी खितखिताइरहेको छ आज ।
त्यही उन्मुक्त खुसीको पर्खालमाथि बसेर
जोडी परेवाहरू
प्रीति गाँसिरहेछन् निर्धक्क
र भनिरहेछन् मुस्कुराउँदै
उसले त हो हामीलाई
एक नाङ्लो आकाशमा भुरभुर उड्न सिकाएको
एक पोल्टो धर्तीमा खुरखुर हिँड्न सिकाएको ।
हो उसैले दिएर हो एक झुल्का किरण
त्यही मधुर उज्यालोको सारेगमसँगै
पढिरहेका छौँ हामी स्वतन्त्रताको इतिहास
गाइरहेका छौँ हामी प्रजातन्त्रको मंगलगान
र सिउरिरहेका छौँ हामी नागरिक अधिकारको
चाँदनी फूल ।
ढाल्न पनि खोज्यौ तिमीले उसलाई
किन ! ढल्थ्यो र ऊ ?
जन्मँदै पहाड भएर जन्मियो
हुर्कंदै चट्टान भएर हुर्कियो
छातीमा उमार्नुथ्यो उसले स्वतन्त्रताको लालीगुराँस
छातीमै बगाउनुथ्यो उसले स्वाभिमानको अनन्त नदी
निधारमा लगाउनुथ्यो उसले मानवताको रातो टीका ।
बाटो खिइयो होला बरु
खिइएनन् उसका पइतालाहरू
नदी थाक्यो होला बरु
थाकेन लक्ष्यको लामो यात्रामा ऊ
म सुन्छु आजभोलि
हामीले महान् ठानेको त्यही अथक योद्धा
हामीले सम्मान गरेको त्यही महापुरुष
तिमी पनि भन्दै छौ रे सगौरव
हाम्रो गणेशमान
वीर गणेशमान ।