बलात्कारपछि हत्या गरिएकी श्रेयाको परिवारलाई सहयोग

बलात्कारपछि हत्या गरिएकी श्रेयाको परिवारलाई सहयोग


बलात्कारपछि हत्या गरिएकी पोखरा पुम्दीभुम्दीकी श्रेया सुनारको परिवारलार्ई पोखरा सभागृहमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग हस्तान्तरण गरेको छ ।

सहकारीले आफ्नो ११औं वार्षिकोत्सवको अवसरमा शनिबार १५ हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको हो । सहकारीको सिंगो कार्यसमिति श्रीयाको घर पुगेर उनकी आमा बेलकुमारी सुनारलाई आर्थिक सहयोग गऱ्यो ।

सहकारीका अध्यक्ष महेन्द्र विश्वकर्माले सामाजिक सेवामा योगदान पुऱ्याउने उद्देश्यले श्रेयाको परिवारलार्ई सहयोग गरेको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा उनले भने, ‘हाम्रो सहयोगले थोरै भएपनि राहत पुगोस् भनेर सहयोग गरेका हौँ ।’

सहकारीका उपाध्यक्ष एवं युवा व्यवसायी दशरथ सुनारले समाजमा गरिब एवं उत्पीडित समुदायमाथि आपराधिक गतिविध हुनु हेपाहा प्रवृत्तिको चरम भएको बताए । ‘जो कमजोर छ उसैलाई निशाना बनाइन्छ,’ उनले भने, ‘उत्पीडित समुदाय माथि उठ्न शिक्षामा जोड दिनुपर्छ ।’

सहकारीकै सदस्य उमेश अछामीले आफ्नो छोरा रञ्जित अछामीको जन्मदिनको अवसरमा श्रेयाको परिवारलार्ई ११ हजार रुपैयाँ सहयोग गरे । गोरखाको पालुङटारमा रहेको मंगल संसारी स्मृति प्रतिष्ठानका संरक्षक अछामीले जन्मदिन मनाउने खर्च जोगाएर श्रेयाको परिवारलाई सहयोग गरेको बताए ।

श्रेयाकी आमा बेलकुमारीले दैनिक औषधी खानुपर्दा आर्थिक स्थिति नाजुक हुँदै गएको बताइन् । उनले आर्थिक अवस्था कमजोर भएकैले ठूली छोरीले विद्यालय छाड्नुपरेको दुःखेसो पोखिन् । श्रेयाका ठूलोबुबा मीनबहादुर सुनारले घरसम्मै पुगेर सहयोग प्रदान गरेकोमा सहकारीलाई धन्यवाद व्यक्त गरे ।

जनमुखी बचत तथा ऋण सहकारी संस्थाले हरेक वार्षिकोत्सव सामाजिक कार्य गरेर मनाउने गरेको छ । सहकारीका सचिव कुमार सुनारले यसअघिका वार्षिकोत्सवमा विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति प्रदान, सरसफाइ लगायत कार्य गरेको जानकारी दिए ।