तीन सय चेपाङ परिवारलाई न्यानो कपडा वितरण

तीन सय चेपाङ परिवारलाई न्यानो कपडा वितरण


इच्छाकामनाका चेपाङहरूलाई शनिबार न्यानो कपडा (स्लिपिङ ब्याग) वितरण गरिएको छ । नेपाल चेपाङ संघ चितवनको समन्वयमा नेपाल आदिवासी जनजाति महासंघले चितवनको विकटमा रहेको इच्छाकामना गाउँपालिका–२ काउले मायाटारका तीन सय चेपाङ परिवारलाई स्लिपिङ ब्याग वितरण गरिएको हो ।

नेपाल आदिवासी महासंघका उपाध्यक्ष सोनाम लामाले भौगोलिक विकटताका कारण सहयोगीहरू नआउने भएकाले यहाँका गरिब चेपाङलाई सहयोगका लागि छनोट गरिएको बताए ।

कठ्यांग्रिँदो जाडोमा न्यानो स्लिपिङ ब्याग सहयोग गरेकामा वडाध्यक्ष पञ्चबहादुर चेपाङले सहयोगीलाई धन्यवाद दिए । यहाँका प्रायः चेपाङ दिनमा घाम र रातमा आगोको भर पर्नुपर्ने अवस्थामा रहेको स्थानीयवासी शिक्षक पदम चेपाङले बताए । जाडोमा न्यानो कपडा (स्लिपिङ ब्याग) पाएपछि खुसी व्यक्त गर्दै सहयोगी संस्थालाई चेपाङ समुदायले धन्यवाद दिएका छन् ।

ब्याग वितरण कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष सोनाम लामा, नेपाल चेपाङ संघ चितवनका अध्यक्ष लक्ष्मण चेपाङ, नेपाल जिरेल संघका अध्यक्ष युवराज जिरेल र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।