यस्तो छ उपत्यकाको सुरक्षा स्थिति

यस्तो छ उपत्यकाको सुरक्षा स्थिति


काठमाडौं उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सीसी क्यामेरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनअनुसार काठमाडौंको नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरको ६ हजार ३३९ स्थानमा क्यामेरा राख्नुपर्ने देखिएको हो । कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री उपत्यकामा एउटा व्यक्ति पूर्णरूपमा सुरक्षित रहन हजारौँ क्यामेरा जडान गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् ।

‘अहिले तत्काल सम्भव छैन, लामो समयमा पछि उक्त क्यामेरा जडान गरे उपत्यका पूर्णरूपमा सुरक्षित हुन्छ,’ उनी भन्छन् । एउटा व्यक्ति राज्यको निगरानीमा हरदम रहनका लागि उक्त सीसी क्यामेरा चाहिने उहाँको भनाइ छ ।

कार्यालयले गरेको अध्ययनअनुसार नै सीसी क्यामेरा जडान भए उपत्यकामा प्रहरी जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिँदैन । हाल काठमाडौं उपत्यकामा ५२९ सीसी क्यामेरा रहेका छन् । जसमध्ये ४६० क्यामेरा चालू अवस्थामा छन् । काठमाडौंमा ४०३, ललितपुरमा ३३ र भक्तपुर २४ क्यामरा रहेका छन् ।

प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न स्थानीय तहसँग समन्वय गरी तत्काल आवश्यक परेका स्थानमा सीसी क्यामेरा जडानको कामसमेत शुरु गरेको छ । उपत्यकामा हाल २१ स्थानीय तह रहेका छन् । हरेक स्थानीय तहमा प्रहरी कार्यालयसमेत स्थापना भइसकेको छ ।

यस्तै, उपत्यकामा हुने अपराधका घटनालाई तत्काल सम्बोधन गर्न ८१ स्थानमा कन्ट्रोल रुम भेइकल (सीआरभी) भेइकल राखिएको छ । उक्त सीआरभी भेइकलले घटना घट्न नदिन र घटना घटिहाल्यो भने पनि तत्काल घटनास्थलमा पुगेर अनुसन्धान तथा दोषीलाई पक्रने काम गरिरहेको छ ।

कार्यालयका अनुसार काठमाडौंमा ५४, भक्तपुरमा ११ र ललितपुरमा १६ सीआरबी भेइकल राख्ने व्यवस्था गरिए पनि हाल काठमाडौंमा ४५, भक्तपुरमा ११ र ललितपुरमा १५ सीआरभी भेइकल रहेका छन् । काठमाडौं उपत्यकामा ०६३ देखि सीआरभी भेइकलबाट सुरक्षा दिन थालिएको हो । जनसंख्या वृद्धिसँगै थप ८१ स्थानमा सीआरभी भेइकल थप्नुपर्ने देखिन्छ । कार्यालयले गरेको अध्ययनमा काठमाडौंमा ४९, भक्तपुरमा १० र ललितपुरमा २२ स्थानमा सीआरभी भेइकल आवश्यक देखिएको हो ।

काठमाडौं उपत्यकामा हाल १८ वृत्त र तीन परिसरबाट मुद्दा चल्दै आएको छ । त्यसबाहेक कार्यालयदेखि चौकीसम्म १६७ एकाइबाट सुरक्षा प्रदान गर्दै आइरहेको छ । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह उपत्यकाको १८ स्थानबाट प्रहरी कार्यालय थप गर्न माग आएको बताउँछिन् । काठमाडौं चार, ललितपुर नौ र भक्तपुरबाट चार स्थानमा प्रहरी कार्यालय थप गर्न माग आइरहेको उनको भनाइ छ ।

मुख्य शहरलाई केन्द्रित गरेर सुरक्षा योजना बनाए पनि पछिल्लो समय भएको बस्ती विकासका कारण गाउँगाउँमा समेत प्रहरी कार्यालय स्थापना गर्नुपर्ने देखिन्छ । काठमाडौंमा ११ हजार ३१९ प्रहरी अधिकृत तथा जवानको दरबन्दी भए पनि हाल नौ हजार ३९८ कार्यरत रहेको कार्यालयले जनाएको छ ।