नयाँ सरकार जन्माउने कसरत

नयाँ सरकार जन्माउने कसरत


othernewsएक वर्ष संविधान निर्माणको निम्ति कसरत गरेर बिताएको नेपाली राजनीति अब नयाँ सरकार जन्माउनेतर्फ मोडिएको छ । एमाओवादी र मधेसी मोर्चासहितका विपक्षी दलहरूको सङ्घर्ष सफल भएमा वर्तमान सरकार विघटन भई काङ्गे्रसकै नेतृत्वमा नयाँ समीकरणको सरकार गठन हुने निश्चित छ । सङ्घर्ष असफल भए काङ्गे्रस–एमालेले दुईतिहाइ बहुमतका आधारमा संविधान जारी गर्ने र त्यसपछि एमाले नेतृत्वमा सरकार बन्ने सम्भावना छ । संविधान जारी गर्ने सफलता मिलेमा सुशील कोइराला राष्ट्रपति बन्ने र केपी ओली प्रधानमन्त्री बन्ने आन्तरिक सम्झौता उच्च तहमा पहिल्यै बनेको बताइन्छ । तर, सङ्घर्षका कारण वर्तमान सरकार विस्थापित भएमा नयाँ सरकार शेरबहादुर देउवा, डा. रामशरण महत या डा. शेखर कोइरालाको नेतृत्वमा गठन हुने र उक्त सरकारमा एमाओवादी तथा मधेसी मोर्चासहितका दलहरूको सहभागिता रहनेछ । नयाँ समीकरणको सरकार गठन भएमा दोस्रो ठूलो दल नेकपा एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा सीमित हुने प्रबल सम्भावना छ ।
नेपाली काङ्गे्रसको तेह्रौँ महाधिवेशन ०७२ को भदौमा गर्ने निर्णय भएको सन्दर्भमा सुशील कोइराला पदत्याग गर्न सजिलै तयार होलान् भन्ने विश्वास गरिएको छैन । महाधिवेशनसम्म आफैँ प्रधानमन्त्री रहिरहन कोइरालाबाट सबै प्रकारका प्रयास रहनेछन् । अरू जोसुकै प्रधानमन्त्री बने पनि महाधिवेशनको पूर्वसन्ध्यामा कोइरालाले पद त्याग गरेर देउवालाई हस्तान्तरण गर्नसक्ने किञ्चित सम्भावना देखिँदैन । त्यसैले कदाचित पदत्याग गर्नुपर्ने अवस्था आयो भने कोइराला देउवाबाहेक अरू जो–कसैलाई प्रधानमन्त्री बनाउन तयार हुने देखिन्छ । सुशील कोइराला डा. शशांक कोइरालालाई आफ्नो उत्तराधिकारी बनाउन चाहनुहुन्छ, उहाँको जोड शशांकलाई नै प्रधानमन्त्री बनाउनेमा रहने निश्चित छ । तर, अहिलेसम्म डा. शशांकको पक्षमा वातावरण बनिसकेको छैन । त्यसैले डा. रामशरण महत या डा. शेखर कोइराला काङ्गे्रसभित्रको सम्झौताको प्रधानमन्त्री बन्नुभयो भने अस्वाभाविक मन्नुपर्ने छैन । रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउँदा कोइराला परिवारको राजनीतिक भविष्य जोखिममा पर्ने भएकोले सुशील कोइरालाले डा. शशांकलाई प्रधानमन्त्री बनाउन नसक्ने अवस्थामा डा. शेखर कोइराला या डा. रामशरण महतको नाममा सहमति जनाउन सक्ने देखिन्छ । वरिष्ठ नेता शेरबहादुर देउवा सुशील कोइरालाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गर्न तयार भएका भए देउवा प्रधानमन्त्री बन्ने निर्विकल्पित सम्भावना थियो । तर, देउवा अविश्वास प्रस्ताव ल्याउने पक्षमा नभएकोले काङ्गे्रसको आन्तरिक सम्झौताका आधारमा नयाँ पुस्ताका नेताहरूमध्येबाट प्रधानमन्त्री बन्ने सम्भावना बढेको हो । यद्यपि सडकसङ्घर्ष चर्कियो र देउवा अविश्वास प्रस्तावका निम्ति तयार भए भने अझै पनि देउवा नै प्रधानमन्त्री बन्ने सम्भावना अधिक छ ।
सुशील कोइरालालाई नजिकबाट चिन्नेहरूको विचारमा सुशील बरु पार्टी विभाजन गर्न तयार हुन्छन्, तर देउवालाई महाधिवेशनको मुखमा प्रधानमन्त्री स्वीकार गर्न तयार हुँदैनन् ।
यसरी संविधान निर्माणको प्रक्रिया ओझेलमा पर्दै छ भने सरकार परिवर्तनको मुद्दा क्रमशः टड्कारो बन्दै गएको छ ।

माधवका कारण कठिनाइ झेल्दै केपी
एमाले नेता माधवकुमार नेपालले आफ्नो पराजय स्वीकार गर्न नसकेका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले अनेकौँ कठिनाइहरू भोग्नुपरेको छ । ओलीका हरेक काममा अप्रत्यक्ष ढङ्गले अड्चन पैदा गर्न नेता नेपालले बैठकलाई समेत महत्व दिन छोड्नुभएको छ । पार्टी नेतृत्वमा देखिएको अभूतपूर्व एकतालाई जोगाउँदै अघि बढ्ने मनसायका साथ हरेक विषयमा माधव नेपाल र झलनाथ खनालललगायतका नेताहरूको समेत सम्मति लिन इच्छुक केपी ओलीलाई विभिन्न बहानाबाजी गरेर नेपालले असहयोग गर्दै आउनुभएको छ । केन्द्रीय समितिलाई पूर्णता दिने र कार्य विभाजनका विषयमा पनि नेता नेपालले ओलीलाई अप्ठ्यारो पार्ने भूमिका मात्र निर्वाह गर्नुभएको ठहर ओली पक्षले गरेको छ । केन्द्रीय समितिलाई पूर्णता दिन र नेताहरूको कार्यविभाजन गर्न भनेर तय गरिएको स्थायी समिति बैठकमा नेता नेपालले अनेक निहुँ बनाएर उपस्थिति जनाउनुभएन । फागुन ६ गते पूर्वनिर्धारित (चालू) बैठक छोडेर नेपाल अध्यक्षलाई जानकारीसमेत नदिई रौतहट जानुभयो । केपीले नेपाल नभए पनि बैठक अघि बढाउन सक्नुहुन्थ्यो, तर त्यसो गर्दा बनिबनाउ एकता र समझदारीमा असर पर्ने भन्दै उहाँले माधव नेपालसँग सल्लाह गरेर फागुन १० गतेका लागि बैठकको मिति निर्धारण गर्नुभयो । तर, माधव नेपाल अघिल्लै दिन कञ्चनपुरतिर जानुभयो र १० गतेको बैठकमा पनि उपस्थिति जनाउनुभएन । त्यसपछि ओलीले पुनः बैठक सार्नुभयो र फागुन १३ गते मंगलबारका लागि निश्चित गर्नुप-यो । माधवको अनुपस्थितिमा बैठक गरेर कुनै निर्णय लिँदा आफूसँग सल्लाह नै नगरी जथाभावी निर्णय लिएको भन्दै पार्टीभित्र र बाहिरसमेत रडाको मच्चाउन सक्ने सम्भावनालाई दृष्टिगत गरी ओलीले संयम राख्दै आउनुभएको बताइन्छ । तर, ओलीको धैर्यलाई नेपालले आफ्नो सफलता ठान्नुभएको भान पर्न थालेको छ । बैठकमा उपस्थित रहँदा पनि माधव नेपालले केपीका हरेक प्रस्तावमा विमति जनाउने गर्नुभएको छ । कुनै विभागको प्रमुख या केन्द्रीय समितिको रिक्त सदस्य पदमा केपीले कसैको नाम प्रस्तुत गर्नेबित्तिकै नेता नेपालले विमति जनाउँदै अर्कै व्यक्तिलाई प्रस्तुत गर्ने गर्नुहुन्छ । यही कारण एमालेले आफ्ना २८ विभागहरूको प्रमुख चयन गर्ने काम महाधिवेशन सम्पन्न भएको आठ महिना बितिसक्दा पनि सकेन । सबै विभाग तदर्थ ढङ्गले चल्दै आएका छन् । त्यस्तै १७ वटा अञ्चल इञ्चार्ज चयन पनि अहिलेसम्म हुन सकेको छैन । यसलाई केपीको असफलताका रूपमा हेर्न थालिएको छ । यसरी आफ्नै कार्यक्षमता र छविमाथि प्रश्न उठ्ने अवस्था बनिसक्दा पनि केपी ओलीले माधव नेपालसँगको सम्मतिमै अघि बढ्ने अठोट गर्नुभएको छ । तर, ओलीको धैर्य टुटेको दिन के होला ? यो विचारणीय प्रश्न बनेको छ ।

यमीलाई मानेनन् काङ्ग्रेस–एमालेले
एकीकृत माओवादीले लोकसेवा आयोगको अध्यक्ष पुनः कयोदेवी यमीलाई नै बनाउनुपर्ने अडान राखेको छ । यमीले केही समयअघि मात्र लोकसेवाको अध्यक्ष पदबाट अवकाश पाएकी थिइन् । काङ्ग्रेस–एमाले एकीकृत माओवादीलाई बाइपास गरी एकलौटी निर्णय गर्दै अघि बढेको आरोप लगाउँदै एमाओवादीले प्रस्ताव गरेको नयाँ व्यक्तिलाई नियुक्त नगरे पनि पुरानैलाई नियुक्ति गर्न दबाब दिएको हो । एमाओवादीको बेग्लै दबाबका कारण लोकसेवा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पदाधिकारी नियुक्त हुन सकेको छैन ।
मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोगको अध्यक्षलगायत पदाधिकारी नियुक्त गर्न भनी तीन घण्टा लामो बैठक बसेको थियो । बैठकमा सहभागी एक अधिकारीका अनुसार बैठक अवधिभर एमाओवादीले निर्वाचन आयोगको उदाहरण दिँदै लोकसेवामा कयोदेवीलाई नै नियुक्ति गर्नुपर्ने अडान राखेको थियो । पहिले परिषद्ले निर्वाचन आयोगको प्रमुख आयुक्तमा कार्यवाहक आयुक्त नीलकण्ठ उप्रेतीलाई नियुक्त गरेको थियो । तर, परिषद्का अन्य सदस्यहरूले उप्रेतीको सिफारिस विशेष परिस्थितिमा गरिएको भन्दै अन्य सदस्यहरूले असहमति जनाएका थिए ।
बैठकमा सहमति नभएपछि परिषद् ऐनको दफा ७ अनुसार लोकसेवाको अध्यक्ष र सदस्य पदमा पदपूर्तिको सिफारिस गर्न बिहीबार पुनः बैठक राख्ने निर्णय भएको छ । अर्को बैठक बस्दा सकभर परिषद् सदस्यहरूबीच सहमतिको प्रयास हुने र सहमति नभए उपस्थित सदस्यहरूको बहुमतबाट पदपूर्ति हुन सक्नेछ । लोकसेवाको अध्यक्षमा काङ्ग्रेसले पूर्वगृहसचिव उमेश मैनाली र एमालेले पूर्वसचिव बालानन्द पौडेललाई प्रस्ताव गरेको छ ।

ठूलाबडाले पाएनन् निम्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नी छोरीको विवाह अत्यन्त साधारण किसिमबाट सम्पन्न गर्न लाग्नुभएको जानकारी प्राप्त भएको छ । समाचारअनुसार उहाँकी छोरी डा. अध्याश्री कार्कीको विवाह ख्यातिप्राप्त उद्यमी रोहिणी थपलियाका छोरा शुभआशिष थपलियाका साथ हुँदै छ । यस अवसरमा प्रमुख आयुक्त कार्कीले फागुन १४ गते बिहीबार आफ्नै निवासस्थानमा सानो दिवाभोजको आयोजना गर्नुभएको बुझिएको छ । परिवारका सदस्य, नातेदार र अत्यन्त सीमित शुभचिन्तकलाई मात्र आमन्त्रण गरिएको उक्त दिवाभोजमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र उच्चपदस्थ कसैलाई पनि निम्ता नगरिएको थाहा भएको छ । भोजमा मदिरा तथा मदिराजन्य कुनै पनि पदार्थ ‘सर्भ’ नगरिने बताइएको छ । त्यस्तै दाइजोको रूपमा छोरी–ज्वाइँलाई नगद या जिन्सी केही पनि उपलब्ध नगराइने पनि समाचार सूत्रले जनाएको छ ।
कार्की प्रमुख आयुक्त बन्नुभएपछि विवाह–व्रतबन्धका नाममा हुने भड्किलो खर्च नियन्त्रण गर्न अख्तियारले जनतालाई सचेत गराउँदै आएको छ । त्यसरी ठूला भोजभतेरलाई अङ्कुश लगाउन थालिएपछि कार्की स्वयम्ले चाहिँ के गर्नुहोला भन्ने जिज्ञाशा धेरैले राख्दै आएका थिए । अत्यन्त सामान्य रूपमा छोरीको वैवाहिक कार्य सम्पन्न गरेर कार्कीले भड्किलो खर्च गर्ने परम्पराविरुद्ध एक सन्देश दिनुभएको ठानिएको छ ।

मन्त्रिमण्डल पुनर्गठन हुँदै !
विपक्षीहरूले सरकारकै विस्थापनका निम्ति सङ्घर्षको आँधीबेहरी उत्पन्न गर्ने प्रयास गरिरहेका बेला प्रधानमन्त्रीनिवासमा भने मन्त्रिमण्डल पुनर्गठनको विषयले प्रवेश पाएको छ । बालुवाटारनिकट सूत्रले जनाएअनुसार कतिपय मन्त्रीले नगद सङ्ग्रहमा ध्यान दिने गरेका र कतिपयको ‘पर्फर्मेन्स’ राम्रो नरहेको भन्ने विषयलाई लिएर प्रधानमन्त्रीनिवासमा अचेल बारम्बार ‘रिपोर्टिङ’ र छलफल हुने गरेको छ । वनमन्त्री महेश आचार्य अर्थमन्त्री बन्न इच्छुक रहनुभएको र उहाँ प्रधानमन्त्री सुशील कोइरालाको सर्वाधिक निकटका मन्त्री हुनुभएकोले पनि प्रधानमन्त्रीमाथि मन्त्रिमण्डल पुनर्गठनको निम्ति दबाब परेको बुझिएको छ । काङ्गे्रसका कतिपय नेतालाई ‘एडजस्ट’ गरेर पार्टीको आगामी महाधिवेशनमा आफ्नो स्थिति सबल बनाउनुपर्ने भएकोले सुशील स्वयम् पनि पुनर्गठनको पक्षमा रहनुभएको बताइन्छ । समाचार स्रोतका अनुसार फागुन १६ गतेपछि एमाले अध्यक्ष केपी ओलीसँग परामर्श गरी पुनर्गठन गर्ने सोचमा प्रधानमन्त्री हुनुहुन्छ । काङ्गे्रस केन्द्रीय कार्यसमितिको बैठकमा सुशील कोइरालाको व्यापक आलोचनासहित पदत्याग गर्न उहाँलाई दबाब परेकोले आफ्नो स्थिति सुधार्नका लागि पनि उहाँ मन्त्रिमण्डल पुनर्गठन गर्ने टुङ्गोमा पुग्नुभएको सम्बद्ध सूत्रको भनाइ छ । आनन्द ढुङ्गाना, दिलेन्द्रप्रसाद बडू, दिलबहादुर घर्ती, पद्मनारायण चौधरी र फरमुल्लाह मन्सुरलगायतलाई मन्त्री बनाएपछि पार्टीको आगामी महाधिवेशनमा आफ्नो स्थिति सुदृढ बन्ने विश्वास प्रधानमन्त्री कोइरालाले गर्नुभएको छ ।

‘प्याक्ट’को कृषि अनुदानमा व्यापक भ्रष्टाचार
किसानको सट्टा कार्यकर्ता मोटाए– रामहरि पाण्डे
कृषिको नाममा दिइने सरकारी अनुदानमा व्यापक घोटाला हुने गरेकोे छ । विश्व बैंकको अनुदान र ऋण सहयोगमा सरकारले व्यावसायिक कृषि तथा व्यापार आयोजनामार्फत वास्तविक कृषकलाई उपलब्ध गराएको अनुदान रकममा घोटाला हुने गरेको हो । आयोजनामार्फत कृषकलाई दिएको अनुदानमा वार्षिक ८० प्रतिशतभन्दा बढी घोटाला हुने गरेको छ । कृषि मन्त्रालय तथा जिल्ला कृषि विकास कार्यालय र आयोजनाका कर्मचारी, स्थानीय दलाल तथा राजनीतिक कार्यकर्ता हुँदै दलका केन्द्रीय नेताहरूकै मिलेमतोमा कृषकको नाममा जारी गरिएको रकममा घोटाला हुने गरेको पाइएको छ ।
यस आयोजनामार्फत केही गर्न खोजेका तर आर्थिक अभावका कारण आफ्नो व्यवसाय अघि बढाउन नसकेका कृषकलाई किस्ताबन्दीमा अनुदान दिइने गरिन्छ । त्यसका लागि कृषकले कुनै न कुनै व्यवसाय गरेको हुनुपर्छ । आयोजनाले सम्बन्धित व्यवसाय गरेका कृषक समूह वा संस्थालाई किस्ताबन्दीमा अनुदान रकम उपलब्ध गराउनुपर्ने व्यवस्था छ । तर, केही दलका कार्यकर्ताले कागजी आयोजना बनाई प्रस्ताव पेस गरेर अनुदान रकम बुझ्ने गरेका छन् । आयोजना स्रोतका अनुसार कृषक अनुदान कार्यक्रमलाई कर्मचारी र राजनीतिक कार्यकर्ताले आम्दानीको दरिलो माध्यम बनाएका छन् । आयोजनाबाट सञ्चालित योजनामध्ये ९० प्रतिशतभन्दा बढी योजना राजनीतिक दलका कार्यकर्ताले दर्ता गरेको समूह वा संस्थाले कृषकका नाममा अनुदान लिएको देखिन्छ । आयोजनाकै एक अधिकृतले भने, ‘त्यसमा वास्ताविक दश प्रतिशत कृषकको सहभागिता रहेको होला ।’
कृषकलाई अनुदान दिने कार्यक्रममध्ये सरकारको व्यावसायिक कृषि तथा व्यापार आयोजनालाई सबभन्दा ठूलो मानिन्छ । यो आयोजनामा ८१ दशमलब ८५ मिलियन अमेरिकी डलर लगानी छ । सन् २००९ बाट सुरु भएको आयोजनको समाप्ति मिति २०१८ सम्म छ । कृषकहरूका नाममा खर्च हुने ठूलो प्रोजेक्ट भएकोले केन्द्रदेखि स्थानीय तहका राजनीतिक दलका नेता तथा कार्यकर्ताको ध्यान यो आयोजनामा पर्नु स्वाभाविकै हो । आयोजनाको एक अधिकृतका अनुसार, ‘यहाँबाट सञ्चालित कुनै पनि कार्यक्रम व्यवहारमा पारदर्शी र निष्पक्ष देखिँदैन, तर कागजमा सबैभन्दा राम्रो देखिएको छ ।’
यतिबेला आयोजनले तेस्रो चरणको कार्यक्रम सञ्चालन गरिरहेको छ । उसले चौथो चरणका कार्यक्रमका लागि स्थलगत निरीक्षण सकेको र पाँचौँ चरणको कार्यक्रमका लागि स्थलगत निरीक्षण गर्ने क्रममा छ । चौथो चरणका लागि सात सय ७९ वटा समूह छनोटमा परेका छन् । यहीबाट आर्थिक अनियमितता सुरु भएको आयोजनका अधिकारीहरू बताउँछन् । उनी भन्छन्, ‘हामीले यहाँबाट सबै काम पारदर्शी रूपमा गरे पनि जिल्ला तहबाट मिलेमतो सुरु हुन्छ र लक्षित समूहसम्म पैसा नै पुगेको देखिँदैन या कम मात्र पुग्दछ ।
आयोजना पार्न दबाब दिनेमा सबैभन्दा धेरै एमालेका केन्द्रीयदेखि स्थानीय तहका नेताहरू हुन्छन् । त्यसपछि एमाओवादी र काङ्ग्रेसका । धेरै नेताहरू आयोजनाको केन्द्रीय कार्यालय सल्लाघारी महाराजगञ्जमै पुग्छन् भने केहीले टेलिफोन र पत्र पठाउँछन् । आयोजनको कर्मचारीहरूका अनुसार तोकआदेशबिना आयोजनका प्रस्तावहरू स्वीकृत हुने सम्भावना अत्यन्तै कम हुन्छ । यदि प्रारम्भिक चरणमा स्वीकृत भइहाले पनि अन्त्यमा त्यो फेल हुन्छ । तोकआदेशमा परेको प्रस्तावको कुल बजेटमा ३० देखि ७५ प्रतिशत रकम दलका नेता, कर्मचारी र स्थानीय कार्यकर्ताले बाँडीचुँडी खाने गर्छन् । योजना पार्दा नै केन्द्रदेखि स्थानीय तहसम्म पहिले नै सेटिङ भइसकेको हुन्छ । त्यही सेटिङअनुसार आयोजनाको रकम बाँड्ने काम हुन्छ । कार्यक्रम योजना शाखाका कर्मचारीका अनुसार धेरै आयोजनाको रकम त काम सकिनुअघि नै लगिसकेका हुन्छन् । त्यसरी रकम लैजानेमा दलका केन्द्रीय नेताहरूको संलग्नता रहेको समूह हुने गरेका छन् ।
स्रोतका अनुसार आयोजनामा धेरैजसो प्रस्ताव गृहमन्त्री वामदेव गौतमले नेतृत्व गरेको किसान महासङ्घबाट पर्ने गरेको छ । सङ्घमा आबद्ध भएका मानिसको समूहले विभिन्न प्रस्ताव पेस गर्ने गर्छ । त्यसका लागि एकै व्यक्तिले धेरै समूह बनाउने र त्यही समूहको नाममा प्रस्ताव पेस गरेर नेता, सिनियर सरकारी कर्मचारीलाई भन्न लगाएर योजना पारी कामै नगरी रकम बुझ्ने गरिन्छ । ‘आयोजनाका धेरैजस्तो प्रस्ताव कागजी मात्र देखिने गरेको स्वयम् कर्मचारीलाई पनि राम्रो जानकारी हुन्छ । प्रमाण कागज नै हुने भएकोले हामीले कागजी आयोजनालाई आधार मानी रकम भुक्तानी गर्छौं,’ आयोजना लेखा शाखाका एक कर्मचारीले भने । कागजमा सबै काम गरेको देखिने, तर फिल्डमा नदेखिएका धेरै छन् । कतिले प्रस्ताव पेस गर्दा अरूकै फार्म देखाउने, खेती देखाउने पनि गरेका छन् । एउटै गाईफार्म, मौरीफार्मबाट दर्जन बढी प्रस्ताव पेस हुन्छन् ।
आयोजनाका वरिष्ठ कार्यक्रम अधिकृत गणेश श्रेष्ठ भने योजना सिस्टमअनुसार चलेकोले त्यसमा त्यति धेरै अनियमितता नभएको बताउँछन् । विभिन्नखाले दबाब आउने गरेको स्वीकार गर्दै श्रेष्ठले दबाब आए पनि आफूले योजनाको नीति र नियमभित्र रहेर प्राप्त प्रस्तावहरू स्वीकृत गरी, किस्ताबन्दीमा रकम दिने गरेको जानकारी गराए । विभिन्न नाममा फर्जी प्रस्तावहरू पनि पर्ने गरेको जानकारी दिँदै उनले पछि त्यसबारेमा जानकारी भए त्यस आयोजना नै क्यान्सिल गर्ने गरेको बताए । उनका अनुसार आयोजना पार्नका लागि थेगिनसक्ने गरी दबाब आउने गरेको छ । उनले भने, ‘हाम्रो ब्युरोक्रेसी पनि भ्रष्टाचारको जालोमा जेलिएको छ, त्यसैले यहाँबाट सबै काम कानुनसम्बद्ध भएको छ भन्न सकिने अवस्था देखिँदैन ।’ उनले योजना परेका वास्तविक कृषकहरू मैले यो आयोजना पार्नका लागि तीस प्रतिशत रकम खर्च गर्नुप-यो, कर्मचारीलाई यति हजार दिनुप-यो, फलानो नेताले यति मागे भन्ने गुनासो आउने गरेको बताए ।
‘यद्यपि आयोजनाले आफ्नो काम अघि बढाइरहेको छ । राजनीतिक दलका स्वार्थभन्दा पनि किसानका स्वार्थअनुसार काम गरिरहेका छौँ,’ वरिष्ठ योजना अधिकृत श्रेष्ठले भने । उनका अनुसार आयोजनाले दोस्रो चरणमा सुरु गरेको दुई सय चारवटा आयोजनामध्ये एक सय २५ वटा आयोजना सकिसकिएको छ । बाँकी आयोजनाका काम अघि बढिरहेको छ भने तेस्रो चरणको दुई सय ५४ वटा आयोजनाको काम भइरहेको छ । स्रोतका अनुसार यी सबै आयोजना व्यवहारमा भन्दा पनि कागजमा मात्र सीमित देखिएको छ । यीमध्ये एक सय ९० वटा आयोजना एमालेनिकट कार्यकर्ताको मात्र छ । त्यसैले पनि आयोजनाको लक्ष्यअनुसार दश प्रतिशत पनि काम भएको देखिँदैन । दलका कार्यकर्ताले नै समूह बनाएर योजना पारे पनि केहीले भने चामत्कारिक प्रगति गरेका छन् । आयोजनाले त्यसैलाई देखाउने र आफ्नो लक्ष्य पूरा भएको प्रतिवेदन निकाल्ने गर्छ ।
आफूले अनुदान रकम सदुपयोग भएको या दुरुपयोग भएको छ भन्ने विषयमा लगानीकर्ता विश्व बैंकले पनि बेलाबखत कार्यक्रमको अनुगमन गर्नेगर्छ । तर, आयोजनाका कर्मचारीले केही सफल र व्यवहारमै प्रयोग भएको आयोजनको मात्र अवलोकन गराउने र बाँकी सबै यस्तै राम्रो भएको छ, वास्तविक कृषकले नै यहाँबाट लाभ लिएर काम गरिरहेका छन् भन्दै गोलमोटल जवाफ दिएर विश्व बैंकका अधिकारीहरूको अनुगमन भ्रमणलाई सीमित गर्ने गरिएको छ ।
वरिष्ठ योजना अधिृकत श्रेष्ठ सुरु गरेको काममा दश प्रतिशत मात्र सफल भयो भने पनि आयोजना सफल हुने बताउँछन् । उनले भने, ‘सबै आयोजना सफल हुँदैनन्, तर यो आयोजनाको काम दश प्रतिशत मात्र सफल भयो भने पनि आयोजना सफल भएको मान्नुपर्छ ।’ उनको भनाइलाई आधार मान्ने हो भने योजनाको ९० प्रतिशत रकम खेर जान्छ । सो रकमको सदुपयोग कागजमा मात्र देखिन्छ, व्यवहारमा देखिन्न । त्यसैले आयोजनाका नाममा भएको खर्च र प्रगतिबारे तुरुन्तै अख्तियारले छानबिन गर्नुपर्ने देखिएको छ ।

डरलाग्दो व्यापारघाटा– सुदर्शन अर्याल
केही दिनअगाडि भन्सार दिवसको अवसर पारेर विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको आयात–निर्यात विवरण सार्वजनिक ग-यो । जुन विवरणमा नेपालमा सबैभन्दा महत्वपूर्ण कृषि उत्पादनको रूपमा रहेको धानमा अघिल्लो आर्थिक वर्षको तुलनामा ५ प्रतिशतभन्दा बढी आयात भएको उल्लेख छ । यसरी कृषिप्रधान मुलुक कृषि उत्पादनमै दिन प्रतिदिन परनिर्भर बन्दै जाँदा पनि सरकारले यसको रोकथाममा कुनै प्रभावकारी काम गर्न सकेको देखिँदैन । बरु दिन प्रतिदिन आयात वृद्धि हुँदै गइरहेको छ । जसका कारण नेपालमै उत्पादन भएका घरेलु उद्योगहरू सङ्कटग्रस्त बन्दै गइरहेका छन् ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो आर्थिक वर्षमा २० प्रतिशतले वृद्धि भएको वैदेशिक व्यापारमा कुल व्यापारको ११.२ प्रतिशत मात्रै निकासी भयो भने बाँकी ८८.८ प्रतिशत सामग्री आयात भएकोे छ । उक्त अवधिमा नेपालबाट निर्यात हुने सामग्रीहरूमा उनी, गलैँचा, तयारी पोसाक मुसुरोको दाल, पोलिस्टरका सामग्रीहरू, विभिन्न हस्तकलाका सामग्रीहरू, अदुवा र पस्मिनालगायत रहेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यी सामग्रीको निर्यातमा भने उल्लेख्य वृद्धि भइरहेको छ । तर, आयात हुनेमा दैनिक उपभोगका सामग्रीहरू रहेका छन् । पछिल्लो आर्थिक वर्षमा जम्मा ८१४.१४ अर्ब रूपैयाँबराबरको सामग्रीको व्यापार भएको केन्द्रको तथ्याङ्कले देखाएको छ ।
नेपालसँग सबैभन्दा बढी व्यापार हुने मुलुक भारतसँग सन् २००९ देखि सन् २०१३ सम्मको कुल निर्यातको अवस्था हेर्ने हो भने दुई खर्ब ३६ अर्ब २३ करोड ३८ लाख ९२ हजार सात सय ३२ रूपैयाँबराबरको सामग्री निर्यात भएको सरकारी तथ्याङ्कले देखाएको छ । विभागकै तथ्याङ्कले सोही अवधिमा भारतबाट नेपालले गरेको आयात भने १४ खर्ब ८९ अर्ब ८६ करोड ९० लाख १४ हजार पाँच सय ४५ रूपैयाँबराबरको रहेको छ । यस अवधिमा नेपालमा कुल आयात हुने सामग्रीमध्ये ६३.४ प्रतिशत भारतबाट आयात हुने गरेको छ भने नेपालले निर्यात गर्ने सामानमध्ये पनि ६६.४ प्रतिशत हिस्सा भारतको नै रहेको केन्द्रका अधिकारीहरूले जानकारी दिए ।
यसैगरी, भारतपछिको सबैभन्दा बढी सामान आयात हुने अर्काे छिमेकी मुलुक चीनबाट सोही अवधिमा दुई खर्ब ५७ अर्ब ४७ करोड ८३ लाख ९७ हजार सात सय ८२ रूपैयाँबराबरको सामग्री आयात भएको थियो भने सोही अवधिमा भारतपछिको सबैभन्दा बढी सामान निर्यात गर्ने मुलुक संयुक्त राज्य अमेरिका हो र अमेरिकासँग सो अवधिमा २५ अर्ब ३७ करोड ७४ लाख एक हजार ६ सय ५६ रूपैयाँबराबरको निर्यात भएको थियो ।
तथ्याङ्कको आधारमा हामी सजिलैसँग अनुमान गर्न सक्छौँ कि नेपालमा व्यापार घाटाको अवस्था कस्तो छ भन्ने कुरा । व्यापारघाटामा पनि नेपालजस्तो कृषिप्रधान मुलुकले खाद्यान्नमूलक सामग्रीमा नै क्रमशः परनिर्भरताको बाटोतर्फ उम्मुख हुँदै जानु आफैँमा दुःखलाग्दो विषय हो । तर, कृषि विकास मन्त्रालयकै जिम्मेवार अधिकारीहरू भने नेपालमा खाद्यान्नको आयात बढ्नुको कारण हामीहरूले नै सही व्यवस्थापन गर्न नसक्नु हो भन्छन् ।
कृषि विकास मन्त्रालयको परराष्ट्र मामला हेर्ने वरिष्ठ अधिकारी प्रद्युम्नराज पाण्डे नेपालमा उत्पादित खाद्यान्नलाई त्यसै नष्ट गरेर विदेशी खाद्यान्नको आयात गर्नेतर्फ बढी उन्मुख हुँदा यस्तो अवस्था आएको बताउनुहुन्छ । नेपालमा उत्पादन हुने धानले पूरा नेपालीलाई एकछाक मात्रै खान पुग्ने बताउँदै नेपालमा उत्पादन हुने अन्य बालीहरू जस्तै मकै, कोदोलगायतका खाद्यान्नको पनि सदुपयोग गरेर आयात घटाउनुपर्ने उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘नेपालमा उत्पादन हुने मोटो चामल नेपालीले भारतमा निकासी गरेर त्यहीँबाट मसिनो चामल आयात गरिरहेका हुन्छन् । डब्लूटीओको सदस्य बनेको हुनाले हामीहरूले आयातलाई नै रोक्न सक्ने अवस्था पनि छैन ।’
नेपालले सन् २००३ देखि संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व व्यापार सङ्घ (डब्लूटीओ)को सदस्यता लिएको छ । उक्त सङ्घको सदस्यता लिएको मुलुकले कुनै पनि अर्का सदस्य मुलुकमा उत्पादित सामग्रीहरू निर्वाध रूपमा ल्याउन पाउने र आफ्नो देशमा उत्पादित सामग्री पनि जुनसुकै सदस्य मुलुकमा पठाउन पाउने व्यवस्था छ । तथ्याङ्कलाई हेर्दा नेपालको व्यापार घाटा अत्यन्तै दयनीय अवस्थामा रहेको छ भने सरकारी तवरबाट यसको रोकथामका निम्ति कुनै पनि प्रभावकारी काम भएको पाइँदैन ।

रेणुदेवीको अभिव्यक्तिबारे दूतावासको धारणा
भारतीय जनता पार्टीकी उपाध्यक्ष श्रीमती रेणुदेवीले हालै नेपाल यात्राको अवसरमा व्यक्त गर्नुभएको एक अभिव्यक्तिप्रति नेपालका लागि भारतीय दूतावासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । उपाध्यक्ष रेणुदेवीले नेपाल संवैधानिक तवरमै हिन्दूराष्ट्र हुनुपर्ने आशयमा सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्ति नेपाली सञ्चारमाध्यममा निकै चर्चामा रहेको थियो । यसै विषयलाई सम्बोधन गर्दै दूतावासले ‘मिडियामा आएको वक्तव्यको सत्यता सम्बन्धमा राजदूतावासलाई जानकारी नभएको’ जनाएको हो । एक कार्यक्रममा व्यक्त भएको भनी सञ्चारमाध्यमले उल्लेख गरेका वक्तव्य श्रीमती रेणुदेवीका निजी विचार भएकाले त्यसले भारत सरकारको नीति प्रतिविम्बित नगर्ने दूतावासद्वारा जारी विज्ञप्तिमा प्रस्ट्याइएको छ ।

‘भ्वाइसेस’मा दत्तानीले दाँजे नाटक र फिल्म
प्रख्यात भारतीय रङ्गकर्मी तथा चलचित्र निर्देशक महेश दत्तानी गत साता काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रम थियो– भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानद्वारा आयोजित ‘भ्वाइसेस’को २३औँ संस्करण । सुविख्यात नाटककार एवम् निर्देशक दत्तानीले उनलाई सुन्न ‘भ्वाइसेस’मा उपस्थित श्रोतासमक्ष रङ्गयात्रामा गुजारेको जीवनका कतिपय कुरा सेयर गरे ।
‘मैले आफूलाई १२ वर्षकै उमेर आपसेआप थिएटरसँग जोडिएको महसुस गरेँ । म मध्यमवर्गीय परिवारबाट आएको थिएँ र खासै भन्ने हो भने मेरा मातापिता पेसागत रूपमा नाटकमा मेरो उपस्थिति चाहँदैनथे । हाम्रो परिवार पुस्तैनी व्यवसायमा थियो, बेंग्लोरबाट अर्थशास्त्र, राजनीतिशास्त्र र इतिहास विषयमा स्नातक गरेको मैले पढाइ सकाएर पारिवारिक व्यवसाय धानिदिनुपर्ने परिवारको ध्येय थियो,’ दत्तानीले बताए । कुनै समय अभिनयमा जम्ने तीव्र चाहना राख्ने दत्तानीलाई पछि केही फरक गर्ने सोच पलायो, त्यसैको परिणामस्वरूप उनी नाटककार र निर्देशकको शानदार छविमा देखापर्न सके । अङ्ग्रेजीमा नाटक लेखेर साहित्य एकेडेमी पुरस्कार पाउने दत्तानी पहिलो भारतीय हुन् ।
५६ वर्षीय रङ्गकर्मी महेश दत्तानीले ‘होयर देयर इज अ विल’, ‘फाइनल सोलुसन’, ‘डान्स लाइक अ म्यान’, ‘ब्रभ्ली फाउट द क्विन’, अन द मुग्गी नाइट इन मुम्बई’लगायत चर्चित नाटक लेखेका छन् भने ‘म्याङ्गो सुफल’ र ‘मर्निङ राग’ नामक नाटक दत्तानीले निर्देशन गरेका हुन् । यौनहिंसाको विषयमा आधारित उनैको नाटक ‘थर्टी डेज इन सेप्टेम्बर’ यतिबेला अनुप बरालको निर्देशनमा लाजिम्पाटस्थित थियटर भिलेजमा प्रदर्शन भइरहेको छ ।
‘भ्वाइसेस’मा आफ्ना कुरा राख्दै दत्तानीले गुजराती नाटककार मधु रेको ‘कुर्मानी आगासी’बाट विशेष प्रभावित भएर आफू नाटकलेखनतिर लागेको बताए । आफ्नो करिअर विज्ञापन फिल्महरूको कपी राइटिङबाट सुरु गरेको उनको कथन थियो । आफ्नो युवाकालको स्मरण गर्दै त्यतिबेलाको चर्चित रङ्गमञ्चीय थलो ‘बेंग्लोर लिटिल थियटर’सँग गाँसिएका सन्दर्भहरू पनि उनले सुनाए । उनका अनुसार सबै रङ्गमञ्चप्रेमीहरू त्यहाँ जाने गरे पनि मूलतः त्यो स्थान बेंग्लोर बस्ने अङ्ग्रेजहरूको क्लब जस्तै थियो । त्यहाँ भारतीयहरू सधैँ ब्याक स्टेजमा हुन्थे ।
दर्शकश्रोतासँगको अन्तरक्रियामा उनले फिल्म र रंगमञ्च विधालाई दाँज्दै आफ्नो धारणा प्रस्तुत गरे । फिल्म र नाटक दुवै अभिव्यक्तिको सशक्त माध्यम भए पनि फिल्मचाहिँ प्राविधिक र दृश्यात्मक दुवै हिसाबले एकै साथ संसारभर प्रभाव राख्न सक्ने विधा भएको तर्क उनले गरे । नाटक हेर्न आउने दर्शक फिल्म हेर्न पनि जाने तर फिल्म हेर्ने दर्शकले नाटक हेर्छन् भन्ने ग्यारेन्टी नहुने रोचक अभिव्यक्ति उनले दिए । तथापि, नाटकको आनन्द अर्कै हुने उनको भनाइ थियो । उनले फिल्मलाई ‘प्रोसेस’ र नाटकलाई ‘प्रोडक्ट’को रूपमा अथ्र्याए । फिल्म संवादभन्दा पनि दृश्यप्रधान हुने, तर नाटकमा चाहिँ संवाद नै प्रधान हुनुपर्ने उनले बताए । सुरु–सुरुमा फिल्ममा पनि नाटककै प्रभाव झल्किने गरेको उल्लेख गर्दै उनले ‘मुगल–ए आजम’देखि ‘सोले’सम्ममा पनि संवादको प्रधानता देखिएको र अहिले त्यस्तो अवस्था नरहेको प्रस्ट्याए ।
उक्त अन्तरक्रियात्मक कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका सचिव अभय कुमारले मायाको चिनो प्रदान गर्दै दत्तानीप्रति आभार प्रकट गरे ।

‘भ्वाइसेस’को २४औँ शृङ्खलामा सेट्ठी
गत सोमबार नेपाल–भारत पुस्तकालयमा भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको संयुक्त कार्यक्रम ‘वाइसेस’कै २४औँ शृङ्खलाको आयोजना गरियो । उक्त शृङ्खलाका अतिथि थिए विख्यात भारतीय कवि मनोहर सेट्ठी । भारतका आधुनिक कविता तथा अङ्ग्रेजी साहित्यका सुपरिचित व्यक्तित्व मनोहर सेट्ठीका सिर्जनाहरू बेलायत एवम् अमेरिकामा व्यापक मात्रामा प्रकाशित भएका छन् भने उनका कविताहरू इटालियन, फिनिस, जर्मन र स्लोभेनियन भाषामा पनि अनुवादित छन् । होमीभावा फेलो र वरिष्ठ साहित्य एकेडेमी फेलो गरेका मनोहरले ज्यादाजसो आफ्ना कवितामा जङ्गली जनावरको बसोबासबारे चिन्ता प्रकट गर्दै आएका छन् । ‘भ्वाइसेस’मा उपस्थित श्रोतासमक्ष आफ्ना अनुभूति सेयर गर्दै कवि मनोहरले विश्वविख्यात कवि डीएच लरेन्सले आफ्ना कवितामार्फत दर्शाउँदै आएका जनावरसम्बन्धी सन्दर्भप्रति आफ्नो प्रेमभाव प्रकट गरे ।
कार्यक्रममा उनले आफ्ना प्रसिद्ध केही कविता वाचन गरी सुनाए भने काव्ययात्रासँगै गोवामा गुज्रिएका आफ्ना तीन दशक अवधिबारे पनि उनी खुलस्त भए । आधुनिक भारतीय अङ्ग्रेजी कविताबारे बोल्दै कवि मनोहरले समय निकै परिवर्तित भएको उल्लेख गरे । अङ्ग्रेजीमा कविता लेख्ने कविहरूका निम्ति मुम्बई उपयुक्त केन्द्रस्थल बन्न पुगेको उनको भनाइ थियो । कविताले नाम र दाम दुवै प्रदान गर्न थालेको पनि उनले स्वीकार गरे । कार्यक्रममा श्रोताहरूसँग खुलेर कुरा गरेका कवि मनोहर सेट्ठीलाई प्रतिष्ठानका सचिव अभय कुमारले मायाको चिनो प्रदान गरेका थिए ।

भारत र नेपालबीच संयुक्त मोटर-याली हुँदै
संस्कृति, प्रकृति र साहसिक अभियानको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिन लागेको ‘प्रथम भारत–नेपाल मैत्री मोटर -याली–२०१५’ छिमेकी देश भारतको उडिसास्थित पुरीबाट आगामी शुक्रबार (फेब्रुअरी २७) सुरु भई काठमाडौं हुँदै यही फागुन २४ गते (मार्च ८) का दिन दिल्ली पुगी समापन हुँदै छ । भारत र नेपालबीच विद्यमान वर्षाैं पुरानो सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई उजागर गर्दै यस -यालीले जगन्नाथ, पुरी र पशुपतिनाथका साथै भगिनी सहरहरू बोधगया र लुम्बिनीलाई समेत जोड्ने बताइएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गत वर्ष सम्पन्न भएका ऐतिहासिक नेपाल भ्रमणपछिका नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धका गतिलाई घनीभूत गराउने तथा जनस्तरको सम्बन्ध मजबुत गर्न यो -याली आयोजना गरिएको हो ।
पुरी र काठमाडौं दुवै सहर तीर्थालुहरूको प्रमुख केन्द्र भएकोले यस कार्यक्रमको अहम् महत्व रहेको सम्बद्ध विज्ञजन बताउँछन् । बुद्धले बुद्धत्व प्राप्त गरेको स्थल बोधगया र बुद्ध जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धमार्गलाई समेत यस यात्राले विशेष महत्व दिने बताइएको छ । कार्यक्रमले दुवै देशका धार्मिक तथा साहसिक पर्यटनलाई घनीभूत गराउने उद्देश्य राखेको छ भने पहिलो चरणमा -याली समुद्र सतहदेखि सुरु भई हिमालयका उच्च स्थलसम्म पुग्नेछ । यस्तै, दोस्रो चरणमा -यालीले दुई देशका महत्वपूर्ण सहरहरू काठमाडौं र दिल्लीलाई जोड्ने छ ।
मोटर -याली आगामी १८ गते विराटनगरस्थित जोगबनी भन्सार हुँदै त्यसै रात सुन्दर सहर धरानमा पुगी रोकिनेछ । अर्काे दिन बर्दिबास हुँदै धुलिखेल पुग्ने -यालीलाई नेपाल खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले स्वागत गर्नेछन् ।
आगामी २० गते काठमाडौं आइपुगेपछि -यालीको पहिलो चरण समापन हुनेछ । २१ गते बिहान युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र नेपालका लागि भारतीय राजदूत रणजित रायले दोस्रो चरणको मोटर -यालीलाई काठमाडौंबाट बिदाइ गर्नुहुनेछ । त्यसपछि सुन्दर सहर पोखरा, लुम्बिनी, धनगढी हुँदै -याली २०१५ मार्च ८ (फागुन २४) मा भारतको राजधानी दिल्ली पुग्नेछ ।
भारतको भुवनेश्वरस्थित कालिंगा मोटर स्पोर्टस् क्लब र नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसनको संयुक्त प्रयासमा भारतको फेडरेसन अफ मोटर स्पोर्टस् क्लब, राँची एड्भेञ्चर ह्विलर्स, राँची, मगध मोटर स्पोर्टस् क्लब (पटना), भारतको सडक, यातायात तथा राजमार्ग मन्त्रालय, विदेश मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालय, काठमाडौंस्थित गणतन्त्र भारतको राजदूतावास, नेपालको युवा तथा खेलकुद मन्त्रालय, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा प्रथम भारत–नेपाल मैत्री मोटर -याली आयोजना हुन लागेको हो ।

भारतीय र नेपाली सेनाबीच संयुक्त अभ्यास
रुपन्देहीको सालझन्डीस्थित एकीकृत सैनिक तालिम केन्द्रमा नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘एक्स सूर्यकिरण’ सुरु भएको छ । गत सोमबार उक्त अभ्यासको शुभारम्भ गर्दै नेपाली सेनाका पश्चिम पृतनापति उपरथी पदमविलास कार्कीले नेपाल र भारतका सेनाबीच लामो समयदेखि रहँदै आएको पारस्परिक सम्बन्धलाई यस अभ्यासले थप मजबुत बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । दुई सेनाबीच हुने यस किसिमका संयुक्त अभ्यास तथा तालिमले भविष्यमा आइपर्ने बहुराष्ट्रिय स्तरको विपद् व्यवस्थापन, प्रतिविद्रोह तथा प्रतिआतङ्कवादजस्ता कार्यमा थप सहजता प्रदान गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
नेपाली सेनाबाट एक सय ९४ र भारतीय सेनाबाट दुई सय ७० जना गरी जम्मा चार सय ६४ जना समावेश भई सञ्चालन हुन लागेको आठौँ संस्करणको संयुक्त अभ्यास आगामी २४ गते सम्पन्न हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रतिविद्रोह तथा जङ्गल वारफेयरसम्बन्धी सैद्धान्तिक एवम् व्यावहारिक कार्यक्रमहरू समावेश गरी सञ्चालन हुने यस किसिमको अभ्यास विगतमा मित्रराष्ट्र भारतमा पहिलो, तेस्रो, पाँचौँ र सातौँ संस्करण तथा नेपालमा दोस्रो, चौथो र छैटौँ संस्करण सञ्चालन भइसकेको छ ।
यस संयुक्त अभ्यासमा दुवै देशका फौजले प्रतिव्रिदोह तथा जङ्गलमा गर्नुपर्ने युद्धकलासम्बन्धी प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा प्रयोग गर्ने अभ्यास गर्नेछन् । यस अभ्यासले नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरूको आदानप्रदान सैनिक सङ्गठनको तल्लो निकायसम्म पु-याउन सहयोग पुग्ने बताइएको छ । नेपाली सेना र भारतीय सेनाबीचको यस किसिमको सैनिक अभ्यासले दुई देशबीच रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द बनाउन सहयोग पुग्ने विश्वास पनि नेपाली सेनाले लिएको छ ।

एसएलसी नतिजा उकास्न अभियान
नवलपरासी । जिल्लाका सामुदायिक विद्यालयको बिगँ्रदो शैक्षिक सुधारका लागि शिक्षकले चाहेमा गर्न सक्छन् भन्ने अभियान सञ्चालन भएको छ । जिल्ला शिक्षा कार्यालयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र एसएलसी परीक्षाको नतिजा ६५ प्रतिशत पु-याउन अभियान सञ्चालन गरिएको आयोजक संस्थाले बताएको छ । प्राथमिक तहदेखि माध्यमिक तहसम्मको शैक्षिक गुणस्तरलाई एकरूपता दिन यस्तो अभियान सञ्चालन गरिएको जनाइएको छ । अभियान सफल बनाउन जिल्लाका सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक सङ्घ÷सङ्गठनका प्रतिनिधिहरूलाई पनि समावेश गरी जिल्लाको शैक्षिक गुणस्तर सुधार गर्ने कार्ययोजना तयार गरिएको छ । शिक्षकले चाहेमा विद्यालयको गुणस्तर सुधार तथा अपेक्षित नतिजा प्राप्त हुन सक्छ भन्ने योजना सफल बनाउन सक्छन् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले अपेक्षा गरिएको बुझिएको छ । जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला, पश्चिमाञ्चल शिक्षा उपनिर्देशक गोविन्द पोखरेल, सार्क शिक्षक फेडरेसनका अध्यक्ष मोहन ज्ञवाली, प्रा. राजेन्द्र दाहाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष तिलक कुँवरलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । नवलपरासी जिल्लाकोे नवलपुर भेगको गैँडाकोट र परासीको बेलाटारीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा शिक्षकहरूको पेसा गत संस्थाका अध्यक्षहरूको सामूहिक उपस्थितिले १७ बुँदे नवलपरासी घोषणापत्र जारी गरिएको शिक्षक युनियनका अध्यक्ष मोहनप्रसाद शर्माले जानकारी दिएका छन् ।

चुम्लुङ झापाको नयाँ नेतृत्वमा नेताहरूकै वर्चश्व
लिम्बूहरूको जातीय संस्था किरात याक्थुङ चुम्लुङ झापाको सम्पन्न जिल्ला तथा विभिन्न नगर शाखाहरूको नेतृत्वमा राजनीतिक नेताहरूले नेतृत्व लिएका छन् । चुम्लुङको विधानले कुनै दलको नेतृत्व तहमा बसेकाले चुम्लुङमा पदाधिकारी तथा कार्यसमितिमा बस्न नपाउने भए पनि जिल्लाका अधिकांश शाखामा दलका जिम्मेवार नेताहरूले पद ओगटेका छन् । गत शनिबार बिर्तामोडमा सम्पन्न नवौँ जिल्ला अधिवेशनले समेत जिल्ला नेतृत्वमा दलका नेताहरूको हालिमुहाली देखिएको हो । अधिवेशनले भक्त खेवाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरे पनि ती समितिमा अधिकांश कुनै न कुनै दलका जिम्मेवार नेताहरूले पद पाएका छन् । काङ्ग्रेस–एमालेलाई पहिचानविरोधी भएको भन्दै आलोचना गरिएकाले समेत जिल्ला कार्यसमिति एकपक्षीय बन्न पुगेको थियो । काङ्ग्रेस–एमालेका प्रतिनिधिहरूले निर्वाचन प्रक्रियामा नै सामेल नभएपछि समिति एमाओवादी र सङ्घीय समाजवादीको पोल्टामा गएको हो ।
सर्वसम्मत गठित समितिको उपाध्यक्षमा इक्सा सम्बाहाम्फे, सचिवमा प्रेमदीप थाम्सुहाङ र कोषाध्यक्षमा विश्वदीप लिङदेन चुनिएका हुन् । तीमध्ये थाम्सुहाङ सङ्घीय लिम्बुवान पार्टीका सचिवालय समितिका सदस्य तथा युवा नेता हुन् भने लिङदेन संविधानसभाका पूर्वसदस्य तथा सङ्घीय समाजवादी पार्टीका झापा जिल्ला इन्चार्ज हुन् । यसैगरी सदस्यहरूमा गजेन्द्र मादेन, इन्द्रदेव केरुङ, राजेश आङदेम्बे, पदमबहादुर मादेन, हर्क पन्दाक, विष्णुमाया चेम्जोङ, रणबहादुर फुरुम्बो, चन्द्रलाल थेबे, नरबहादुर योङहाङ र सपना आङ्बो चुनिएका छन् ।
कार्यसमितिमा अधिकांश दमक क्षेत्रबाट प्रतिनिधित्व भएका भने बिर्तामोड, शनिअर्जुन, मेचीनगर, कन्काई नगर शाखाहरूले नेतृत्व चयन प्रक्रियामा पुराना कार्यसमितिका सदस्यलाई उपेक्षा गरेको भन्दै कुनै पदमा नरहने जनाएका थिए । यसअघि दमक नगरको सम्पन्न चुम्लुङ अधिवेशनबाट सङ्घीय समाजवादीका झापा जिल्ला अध्यक्ष तथा चुम्लुङका निर्वतमान केन्द्रीय उपाध्यक्ष धीरेन लावती सदस्य पदमा निर्वाचित भएका थिए भने मेचीनगर चुम्लुङमा सङ्घीय समाजवादीकै जिल्ला सचिव दिलीपजंग आङदेम्बे अध्यक्ष चुनिएका थिए ।
चुम्लुङ जातीय संस्थामा यसरी राजनीतिक नेतृत्वहरूले कब्जा जमाउन थालेपछि ‘मिनी पार्टी’का रूपमा यो संस्था बन्न पुगेको विश्लेषण गर्न थालिएको छ । जिल्लाको लिम्बुवानी आन्दोलनमा सधैँ अनुहार देखिएका यी नेतृत्वको पकडले जातीय संस्था हो कि पार्टी पो हुन् भनेर छुट्याउन गाह्रो बन्न पुगेको छ ।
अग्रजहरू सम्मानित :
यसैबीच चुम्लुङ झापाले जिल्लाका अग्रज लिम्बूहरूलाई सम्मानित गरेको छ । जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा चुम्लुङको विभिन्न गतिविधिमा लामो समयदेखि काम गरेका नौजना अग्रजलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेमा चुम्लुङका पूर्व केन्द्रीय सदस्यहरू नरपति फुरुम्बो, मीना पन्धाक, नरबहादुर योङहाङ, शेरबहादुर इङनाम, बलिराज इङनाम, टेकबहादुर योङ्या, टंकीनाथ योङया, कृष्णकुमार थेबे र जगनध्वज बनेम रहेका छन् । उनीहरूलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । त्यस्तै, जिल्लाभरिका चुम्लुङ नगर शाखातर्फ दमक र गाउँ शाखातर्फ पृथ्वीनगरलाई समेत पुरस्कृत गरिएको थियो ।

कोरियामा ग्रिन नेपाल सम्मानित
शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको संस्था ग्रिन नेपाललाई दक्षिण कोरियाको किम्फो सिटी काउन्सिलले सम्मान गरेको छ । दक्षिण कोरियाको किम्फो सिटी काउन्सिलमा आयोजित कार्यक्रममा काउन्सिलले ग्रिन नेपालका अध्यक्ष हीराबहादुर कार्कीलाई सम्मानपत्र प्रदान गर्दै ग्रिन नेपालले विगत लामो समयदेखि दुई देशबीच मैत्रीपूर्ण पुलको काम गर्दै द्विदेशीय मित्रतालाई प्रगाढ बनाउँदै आएकोमा खुसी व्यक्त गर्दै उक्त सम्मान प्रदान गरेको हो । गएको सात वर्षदेखि पश्चिम नेपालका विभिन्न भागमा शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा दक्षिण कोरियाको विभिन्न संस्थाको सहयोगमा ग्रिन नेपालले विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
स्वास्थ्यसहितको शिक्षाको नारासहित उक्त संस्थाले पोखरावरपरका केही ग्रामीण भेग र लुम्बिनी क्षेत्रमा विद्यालय र स्थास्थ्यचौकी सञ्चालन गर्दै आएको छ । ग्रिन नेपालको सोही नारा र कार्यशैलीबाट प्रभावित भएर दक्षिण कोरियाका विभिन्न संस्थाले सहयोग गर्दै आएको अध्यक्ष हीरा कार्कीको भनाइ रहेको छ । विगत २२ वर्षदेखि नै दक्षिण कोरियाबाट नेपाल भ्रमणमा आएका कोरियन पर्यटक एवम् समाजसेवीहरूलाई सहयोग गर्दै आएका हीरा कार्कीले नेपालको वातावरणीय एवम् प्राकृतिक समृद्धिका लागि ग्रिन नेपालको स्थापना गरेको र स्थापनाकालदेखि नै कोरियाका संस्थाहरूले ग्रिन नेपालमार्फत सहकार्य गर्दै आएकोबाट नेपाल भ्रमणमा आएका कोरियन पर्यटक एवम् समाजसेवीहरूलाई सहयोग गर्दै आएका हस्रा कार्कीले नेपालको वातावरणीय एवम् प्राकृतिक समृद्धिका लागि ग्रिन नेपालको स्थापना गरेको र स्थापनाकालदेखि नै कोरियाका संस्थाहरूले ग्रिन नेपालमार्फत सहकार्य गर्दै आएका छन् ।
फेब्रुअरीको दोस्रो सातामा आयोजित उक्त कार्यक्रममा आफूले हरित वातावरण र प्राकृतिक सम्पदाको संरक्षणका विषयमा संस्थाले गरेको क्रियाकलापहरूलाई प्रस्तुत गरेको ग्रिनका अध्यक्ष कार्कीले बताए । उनले किम्फो सिटी काउन्सिलले आफ्नो संस्थालाई सम्मानित गरेर संस्थालाई थप जिम्मेवारी सुम्पिएको अनुभव भएको बताए । उनले किम्फो सिटी काउन्सिलले आफूलाई सम्मानित गरेकोमा धन्यवाद व्यक्त गर्दै नेपाल कोरियाबीचको मित्रतालाई अक्षुण्ण राख्न आफू सदैव क्रियाशील रहिरहने पनि बताए ।

यसरी गरियो थाहा–प्रणेताको सम्झना
केटाकेटी बिग्रे बाबुआमा दोषी
जनता बिग्रे सरकार दोषी
सरकार बिग्रे व्यवस्था दोषी
व्यवस्था बिग्रे अगुवा दोषी…..
यी र यस्ता अनगिन्ती कालजयी विचारका प्रणेता रूपचन्द्र विष्ट ‘थाहा’को दिव्य विचारलाई आमनागरिकमाझ अभिप्रेषित गर्नका लागि स्थापित हेटौँडास्थित रेडियो थाहा सञ्चार ९९.६ एफएमको ७औँ वार्षिकोत्सव सम्पन्न भएको छ । ‘निष्पक्ष सक्रियताको अभ्यास ‘थाहा’ नाराका साथ अग्रसर उक्त एफएमले फागुन ७ गते स्टेसन परिसरमा साताव्यापी कार्यक्रमको समापन कार्यक्रममा बृहत् साहित्यिक गोष्ठीको आयोजना गरेको थियो । उक्त गोष्ठीमा स्थानीय साहित्यकार, कविका अतिरिक्त काठमाडौं, विराटनगर, रौतहट, बारा, पर्सा र चितवनका साहित्यकारको बाक्लो उपस्थिति थियो ।
रेडियो थाहा सञ्चारले आफ्नो वार्षिकोत्सवका अवसरमा वर्षेनी समाजका विविध क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तिहरूलाई थाहा वर्ष सम्मानद्वारा सम्मानित पनि गर्दै आएको छ । यस वर्ष थाहा वर्ष सम्मान शिक्षातर्फ शिक्षासेवी देवप्रसाद श्रेष्ठ, कला–संस्कृतितर्फ इतिहासका ज्ञाता केदारप्रसाद न्यौपाने, समाजसेवातर्फ समाजसेवी कृष्णबहादुर थापा, स्वास्थ्यतर्फ डा. अंगुरबाबा श्रेष्ठ कार्की र कृषि र सहकारीतर्फ एकराज उप्रेतीलाई प्रदान गरियो ।
साताव्यापी कार्यक्रमअन्तर्गत हेटौँडाका वरिष्ठ सङ्गीत साधक भोला जोशीको स्वास्थ्य उपचारका लागि सङ्कलित सहयोग राशि ८४ हजार रुपैयाँ सङ्गीतकार जोशीलाई प्रदान गरियो । कार्यक्रममा हेल्दी बेबी प्रतियोगिताका विजेता पाँच वर्षमुनिका नानी–बाबु तेजश्वी विडारी र चिराग डङ्गोललाई पुरस्कृत गरियो ।
‘हेटौँडामा आइयो, धेरै थाहा पाइयो, अरू के नै चाहियो’ गाउँदै कार्यक्रमका प्रमुख अतिथि गजलकार प्राज्ञ बूँद रानाले आमनागरिकले बुझ्ने सार्थक दर्शन प्रतिपादक दार्शनिक रूपचन्द्र विष्टको थाहा विचारले प्रत्येक नेपालीलाई सुकर्मको मार्गमा डो-याउने बताउँदै नेपाललाई प्रकृतिले धेरै दिएको तर प्रवृत्तिले ठगेको बताए । प्रमुख अतिथि रानाले प्राज्ञिक क्षेत्र राज्यबाट सधैँ उपेक्षित रहेको र सरकारले समस्याहरूलाई पार लगाउन प्राज्ञ तथा विज्ञहरूबाट कुनै सल्लाह–सुझाव नलिने गरेको बताए ।
रेडियो थाहा सञ्चारका संरक्षक एवम् व्यवसायी अजेयराज सुमार्गीले दार्शनिक रूपचन्द्र विष्टले दिएका सकारात्मक सन्देशहरू समाजमा प्रवाह गर्नका लागि नै रेडियो थाहाको स्थापना गरिएको बताउँदै चैत १ गतेदेखि काठमाडौंबाट पनि रेडियो थाहा सञ्चारले विधिवत् प्रसारण सुरु गर्ने बताए । उनले देशका अन्य ६३ जिल्लाबाट पनि रेडियो थाहा सञ्चारले आफ्ना कार्यक्रम प्रसारण गर्ने कार्यको तयारी भएको पनि बताए । सुमार्गीले आफूले १८ वर्षसम्म थाहा दर्शनका प्रणेता रूपचन्द्र विष्टको साथ र उहाँको दर्शनमा भिज्न पाएको उल्लेख गर्दै आफ्ना बाटामा अप्ठ्याराहरू आए पनि आफू सुमार्गमा अविचलित हिँडिरहने बताए ।
उक्त साहित्यिक कार्यक्रममा साहित्यकारहरू प्राज्ञ बूँद रानाका अतिरिक्त श्रीओम रोदन, मनु मञ्जिल, निमेष निखिल, राजेन्द्र शलभ, प्राडा टंकप्रसाद न्यौपाने, तुलसी थापा, आरसी रिजाल, लक्ष्मण गाम्नागे, टंक आचार्य, गण्डकी पुत्र, सीमा आभाष, खेम नेपाली, रवि प्राञ्जल, अंकिता सुमार्गी, रामगोपाल आषुतोष, देवान किराँती, पुरुषोत्तम आचार्य, मणिराज गौतम, टीका आत्रेय, ज्योति जङ्गल, मायामितु न्यौपाने, दीपज्योति थापा, छवि अनित्य, जेनन नेपाल, छविरमण सिलवाल, पुरु रिसालसहित करिब चार दर्जन साहित्यकारले आफ्ना रचना वाचन गरेका थिए ।
रेडियोकी अध्यक्ष अस्मिता सुमार्गीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पवन पौडेल, तुलसी थापा, प्राडा टंकप्रसाद न्यौपाने, अरुण सुमार्गी, श्रीओम रोदनले बोलेका थिए ।

हिन्दू परम्परालाई निरन्तरता दिन शाखा गठन
विश्वका आध्यात्मवादी समस्त सम्प्रदायबीच भाइचाराको सम्बन्ध राख्दै हिन्दूधर्मको रक्षा, सम्वद्र्धन एवम् हिन्दुत्वको जगेर्ना गरी विश्वमै एक मात्र हिन्दूराष्ट्र कायम राख्ने उद्देश्यका साथ पर्वतमा विश्व हिन्दू महासङ्घको शाखा गठन गरिएको छ । नेपालभरिका हिन्दूहरूको एक मात्र छाता र साझा सङ्गठनको रूपमा रहेको विश्व हिन्दू महासङ्घ राष्ट्रिय कार्यसमिति बाँसबारीको नियमावलीको दफा ३१ अनुसार उक्त शाखाको गठन गरिएको हो ।
महासङ्घका केन्द्रीय सदस्य भवानीप्रसाद शर्माको आतिथ्यतामा पर्वतबाट विश्व हिन्दू महासङ्घका आजीवन सदस्यहरूको भेलाले उक्त शाखाको गठन गरिएको महासङ्घले जनाएको छ । गठित समितिको सभापतिमा सूर्यप्रकाश पौडेल, उपसभापतिमा युवनाथ रेग्मी र नारायण पौडेल, सचिवमा वसन्तविक्रम तिमिल्सिना, कोषाध्यक्षमा आनन्द विक रहेका छन् । गठित शाखा सदस्यहरूमा ओमप्रसाद उपाध्याय, सुमन तिवारी, तुलसीराम सुवेदी र समीक्षा शर्मा रहेका छन् भने भेलाले विश्व हिन्दू महासङ्घ बाजुङ गाउँ कार्यसमितिका अध्यक्ष गोविन्द केसी र देउपुरका अध्यक्ष बालाराम शर्मालाई शाखाको पदेन सदस्यमा चयन गरेको छ । भेलाले पर्वतका सबै नगर तथा गाविसमा विश्व हिन्दू महासङ्घको गाउँ कार्यसमिति गठन गर्नुको साथै हिन्दू परम्परालाई निरन्तरता दिन विभिन्न क्रियाकलाप सञ्चालन गर्नेसमेत निर्णय गरेको छ ।