ओप्स बृहत् खेलकुद महोत्सव शुरु

ओप्स बृहत् खेलकुद महोत्सव शुरु


अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा बृहत् खेलकुद महोत्सव माघ ८ गते मंगलबारदेखि शुरु हुने भएको छ । महोत्सवअन्तर्गत सिर्जना ज्ञानसागरको संयोजकत्वमा फुटबल हुनेछ भने कौशल स्कुलले एथलेटिक्स, लालीगुराँसले बास्केटबल, एन्जल्सहार्टले ब्याडमिन्टन र सेब स्कुलले भलिबल खेल सञ्चालन गर्ने ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले माघ ७ गते सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

महोत्सवअन्तर्गतको छात्र फुटबल मंगलबारदेखि शुरु हुनेछ । सिर्जना ज्ञानसागर स्कुलको संयोजनमा हुने प्रतियोगितामा ओप्सअन्तर्गतका १६ विद्यालयको सहभागिता रहेको प्रतियोगिता संयोजक राजेन्द्रप्रसाद फुँयालले जानकारी दिए । एथलेटिक्स तथा फुटबल प्रतियोगिता तारकेश्वर नगरपालिका–५ गोलढुंगामा अवस्थित मैदानमा हुनेछ । एथलेटिक्सको प्रतिस्पर्धा माघ ११ गते हुनेछ ।

पुरुष फुटबलमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा मनास्लु, मस्र्याङ्दी, पुष्पकुञ्ज र न्युटन, समूह ‘बी’मा एन्जेल हर्ट, विभूति, प्रगति र ज्ञानमन्दिर रहेका छन् । यसैगरी समूह ‘सी’मा हिमरश्मी, सीएचए, सेब र मञ्जरी तथा समूह ‘डी’मा कौशल, सिर्जना ज्ञानसागर, फेरील्यान्ड र लालीगुराँस रहेका छन् । प्रतियोगिताका खेलहरू लिगकम नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टोलीले आकर्षक नगद पुरस्कार पाउनेछन् । यस्तै, विधागत रूपमा उत्कृष्ट हुनेले पनि आकर्षक पुरस्कार पाउनेछन् ।