नेपाल आर्मी १४औँ रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको अग्रस्थानमा रहन सफल भएको छ । आर्मीले अपराजित रहँदै ३ खेलबाट ९ अंक जोडेको छ । माघ ७ गते सोमबार भएको खेलमा आर्मीले आयोजक ढोरपाटनलाई २५–३, २५–७ र २५–४ को सोझो सेटमा पराजित गरेको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेलमैदानमा भएको खेलमा श्रीगाउँ खेलकुद विकास समिति दाङले मिश्रित नतिजा निकाल्यो । पहिलो खेलमा सामाखुसी इंग्लिस बोर्डिङ स्कुल (सेब)लाई २५–९, २५–१८ र २५–११ को सोझो सेटमा हराउँदा दोस्रो खेलमा बलियो टिम एपीएफसँग २५–२०, २५–११ र २५–८ को सोझो सेटमा पराजित भयो । प्रतियोगितामा श्रीगाउँले ४ खेलबाट ९ अंक जोड्दा साबिक विजेता एपीएफले ३ अंकका साथ विजयी सुरुवात गरेको छ । सोमबारको अन्तिम खेलमा पुलिसले सेबलाई २५–१३, २५–१३ र २५–९ को सोझो सेटमा हरायो । सेबले ४ खेलबाट ६ अंक जोड्दा पुलिसले पनि ३ अंकका साथ विजयी यात्रा अगाडि बढाएको छ ।
प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौँ हुनेले ४० हजार, छैटौँ हुनेले ३० हजार र सातौँ हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एकजना भाग्यमानी दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी दिए ।
प्रतिक्रिया