समय तोकेरै भन्न नसकिए पनि अनुमान लगाउन सकिन्छ कि प्रायः दश–दश वर्ष फरकमा हुने राजनीतिक आन्दोलन, नारा–जुलुस र धर्नाका कारण नेपाल नामको यो मुलुक अशान्त हुने गथ्र्यो, तर यतिबेला यो देशमा बन्द, हडतालजस्ता कार्यक्रम भइरहेको स्थिति छैन, तर पनि शान्त भने यो देश छैन । मुलुक शान्त हुन जनताको मन शान्त हुनुपर्छ । जनता सन्तुष्ट र खुसी हुनुपर्छ । ठूलो सङ्ख्याका सक्कली नेपाली जनता आज पनि चामलको मुख देख्न पाइएला कि, एक पोका नुन किन्न तीन दिन पैदल हिँड्नुपर्ने दिनको अन्त्य होला कि, गोजीमा पैसा नभए पनि ओखतीमूलो गर्न पाइएला र केही दिन बढी बाँच्न पाइपो हालिन्छ कि, छोराछोरीले गतिलो शिक्षा हासिल गर्न पाइहाल्छन् कि भन्ने निराशाले भरिएका प्रश्न लिएर झोक्राइरहेका छन् । तिनको मन यस्तैयस्तै कारणले अशान्त भएको छ । यो अवस्था झेल्ने जनता रुकुम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, कालिकोट, बाजुरा, डोल्पा, हुम्ला, जुम्लालगायतका हुन् । काठमाडांै, ललितपुर, वीरगञ्ज, विराटनगर, नेपालगञ्ज, पोखरा, नारायणगढलगायतका सहरी इलाकामा बस्ने जनताको मन पनि शान्त छैन । यिनीहरूमध्ये कतिले इमानदारीपूर्वक दाम कमाएका छन् । धेरैजसोले बेइमानी गरेर धन कमाएका छन् । तर, धन भएर पनि यिनको मन शान्त छैन । बेइमानी गरेर कमाएका धनले बिहान–बेलुका मीठोमसिना खान यिनको चुल्हो बल्नुपर्छ । चुल्हो बल्न पहिलेपहिले यिनले मट्टीतेलको स्टोभ बाल्थे । विदेशीले बनाएर ग्याससहितको सिलिन्डर दिएपछि यिनको बानी बिग्रियो । ग्यासमा पकाएर खान थाले । तर, अर्काको भरमा खान पल्केका सहरिया नेपालीले भनेकै बेला ग्यास नपाउने भए । ग्यासको हाहाकार हुन्छ यिनका सहरहरूमा । ग्यासका लागि अरू सहरका मानिसले आजसम्मको राजधानी काठमाडौंतिर फर्किएर हेर्छन् । काठमाडौंबाहिरका मानिसको आक्रोश बढेपछि काठमाडांै बल्ल डराउँछ र दिल्लीतिर फर्किएर रुन थाल्छ । निकैबेर काठमाडांै रोएपछि दिल्लीले आश्वासन दिएर फुल्याउँछ । केही दिनपछि दिल्लीले ग्यास पठाइदिन्छ र नेपालका प्रायः सबै सहरवासी चुपचाप लाग्छन् । बल्लबल्ल ग्यास आपूर्ति हुन्छ फेरि पेट्रोल, डिजेल र मट्टीतेलको हाहाकार हुन्छ र सहरवासी जनता रित्ता ग्यालेन लिएर लाइनमा उभिन्छन् । लाखौँ मोटरसाइकलचालक लाइनमा रित्तो ट्यांकीवाला मोटरसाइकल तेस्र्याउँछन् । कार पेट्रोलको लाइनमा उभ्याइन्छ भने मिनीबस, माइक्रोबस र ठूला बस, ट्रकलाई डिजेलको लाइनमा राखिन्छ । कहिले चिनी लिन दौडिन्छन् । कहिलेकाहीँ त यिनलाई नुन लिन पनि हतारिनुपर्छ । दैनिक जीवन गुजाराका लागि समेत यिनीहरू दौडिएको दोडिएकै देखिन्छन् । यो तरिकाले यिनको मन शान्त छैन ।
तराईतिरका नेपालीको हालत उस्तै छ । जाडो मौसममा एकसरो कम्बल नपाएर कठ्याङ्ग्रिएर केहीको मृत्यु हुन्छ । यिनको सपना भनेकै जाडोमा न्यानो लुगा हुन्छ । जब जाडो महिना सुरु हुन्छ यिनको मुटुले ढ्याङ्ग्रो बजाउन सुरु गर्छ । जाडोबाट बच्न मुस्किल हुन्छ, यदि जाडोबाट बाँचे भने गर्मीमा अनेकथरी रोगका सिकार हुन्छन् । ओखती पाउँदैनन् । गोजीमा पैसा छैन । निन्याउरा आँखाहरू ओखतीपसल र अस्पतालतिर हुन्छन्, तर बिरामी शरीरहरू फुसका घरका आँगनतिर र सडक किनारातिर हुन्छन् । यो अवस्थाबाट बाँच्न यिनलाई हम्मेहम्मे पर्छ । कथम्कदाचित् यिनीहरू यो दुर्दशाबाट बाँचिहाले पनि यिनलाई लैजान वर्षाको बाढी हुन्डरी मच्चाउँदै आइपुग्छ । यसरी तराईका जनता सधैंभरि त्राहिमामको अवस्थामा बाँचिरहेका छन् । सङ्कट, अभाव, त्रासका बीच बाँचेका जनताको मन शान्त हुने कुरै भएन । यो कोणबाट हेर्दा हिमाल, पहाड, तराई, सहर, गाउँ सबै स्थानका नेपाली जनताको मन अशान्त देखिन्छ भने कुल मिलाएर यतिबेला पनि नेपाल अशान्त छ भन्ने पुष्टि हुन्छ । व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय हितलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने चिन्तन बोक्ने कोही नेपाली छ भने उसले प्रश्न सोध्न सक्छ । नेपाल किन अशान्त ? जवाफ जोकोहीले दिए पनि ठीक जवाफचाहिँ राजनीतिक अस्थिरता नै हो । अब कारण खोतल्नुपर्छ किन राजनीतिले स्थिरता पाउन सकेन यो देशमा ।
सबैभन्दा पहिले पुराना नेपाली शासकहरूले जनतालाई चेतनशील बनाउन चाहेनन् । चेतनाको दियो बाल्ने मूल तत्व शिक्षा हो । त्यसका लागि विद्यालय, कलेजहरू स्थापना गर्नुपथ्र्यो । तर, राणा शासकहरूले बन्देज गर्दा निकै लामो समयपछि मात्रै उदारवादी राणाहरूले नेपालमा स्कुल चलाए । संसारका अन्य मान्छेहरूको तुलनामा नेपालीको बौद्धिकस्तर वृद्धिमा स्वाभाविक रूपमा ढिला भयो । हामी दुनियाँका मान्छेसँग भौतिक विकासका सवालमा प्रतिस्पर्धामा जान सकेनौँ । दोस्रो कारण पछिल्ला शासकहरूले जनतालाई स्वावलम्बी बनाउनभन्दा दुनियाँसँग मागेर ल्याएर पाल्ने संस्कारको विकास गरे । यसकारण विश्वका जनता काम गरेर खान थाले । तर, यो देशका जनतालाई काम नगरी खान बानी पर्र्दै गयो । यस्तै जनताको बीचबाट राजनीतिक नेतृत्वको जन्म हुँदै गयो । कालोमसी फ्याक्ट्रीमा ‘रसवरी’ उत्पादन हुँदैन, दूध डेरीमा दूधकै परिकार उत्पादन हुन्छ अरू हुँदैन । जस्तो जनताको चिन्तन उस्तैखाले नेताको उत्पत्ति हुँदै गयो । यही कारणले नेपालमा जतिवटा राजनीतिक दल जन्मिए पनि, जुन कोणबाट हेर्दा पनि उस्तै चरित्रका नेता र राजनीतिक दलहरूको जन्म भयो । त्यसकारण दलहरू नै परावलम्बी हुन थाले । दलका सरकारहरूबीच कुन पार्टीको सरकारले विदेशीसँग ज्यादा मागेर ल्याउने भन्ने विषयमै प्रतिस्पर्धा हुन थाल्यो । आजसम्म त्यो अवस्थाको अन्त्य भएन । विदेशीले दिएको दिएकै गर्ने, नेपालीले त्यही दान दक्षिणा लिएको लिएकै गर्ने अवस्थाले कहिल्यै छाडेन । यसरी जनता राजनीतिक दलको पछाडि लाग्ने, दलहरू विदेशीको पछाडि लाग्ने एकखालको बाध्यता सिर्जना भयो । जनता कहिले एउटा दल त कहिले अर्को दलतिर लस्किन त पाउने भए तर दलहरू खासगरी भारत, चीन, युरोपियन युनियन, अमेरिकालगायतका धन र प्रविधिका हिसाबले शक्तिशालीहरूसँग सधैंभरिका लागि झुक्नुपर्ने अवस्था बन्दै गयो । किन पनि यो अवस्था सिर्जना भयो भने जनतालाई चाहिने आधारभूत आवश्यकताका वस्तुदेखि लिएर भौतिक विकासका पूर्वाधार निर्माणका लागि समेत विदेशीकै मुख नताकी नहुने अवस्था सिर्जना भयो । विदेशीले सबै कुरामा भरथेग गर्ने भएपछि उनीहरूले स्वाभाविक रूपमा हस्तक्षेप गर्ने नै भए । विदेशीको सल्लाह नमान्नेबित्तिकै सबै प्रकारका सहयोग बन्द गर्ने धम्की दिने भए । सहयोग बन्द पनि गर्ने भए । यसरी चाहेर–नचाहेर नेपालका सम्पूर्ण राजनीतिक दल विदेशीका टाङमुनि छिरे । छिर्न नचाहनेहरू कहिल्यै ठूला दलको रूपमा उदाएनन् । उदाउन विदेशीले दिएनन् । विस्तार–विस्तार अदृश्य रूपमा नेपालको मन्त्रिमण्डल निर्माणमा समेत विदेशीको हस्तक्षेप बढ्दै गयो । दलहरूका यो खालको बाध्यता नेपाली जनताले बुझ्ने विषय भएन । दलहरूले भन्ने कुरा पनि आएन । नेपाली नेताहरूका लागि विदेशी हस्तक्षेप कम्मरमुनि आएको पिलोजस्तो भयो । ‘कोल्टिएर हिँड्नचाहिँ मिल्ने खोलेर देखाउनचाहिँ नमिल्ने ।’
अहिले दोस्रोपटक संविधानसभा निर्वाचन भएर पनि तोकिएको समयभित्र संविधान नबन्नुमा स्वदेशी कारण कम र विदेशी कारण ज्यादा महसुस गरिएको छ । प्रमाण खोज्न टाढा जान पर्दैन । काठमाडांैमा अड्डा जमाएर बसेका एकजना गोरा बेलायती राजदूतले केही महिनाअघि मात्रै नेपालको संविधानमा धर्म परिवर्तन गर्न पाउने प्रावधान राख्न पाउनुपर्छ भन्ने विचार व्यक्त गरेका थिए । त्यो विषय असाधारण प्रकृतिको गम्भीर थियो, तर त्यसलाई सामान्यीकरण गरियो । यही हो दह्रो प्रमाण कि यो देशलाई विदेशीहरूले कचक्कै किचेका छन् । नेपाली राजनीतिक दलका नेतृत्वपङ्क्तिले श्वास पनि अड्कलेर फेरिरहेका छन् । यो सत्यबारे दलका नेतृत्वपङ्क्तिले पत्रकार सम्मेलन गरेर जानकारी नदिने विषय अलगै हो । यति धेरै कारणले नेपालमा राजनीतिक अस्थिरता त देखिएकै हो । यसको अतिरिक्त नेपालमा चाहिनेभन्दा बढी सङ्ख्यामा राजनीतिक दलको उपस्थिति रहनु र त्यसमाथि अनेक नामका थुप्रै कम्युनिस्ट पार्टी हुनुलाई झमेलापूर्ण अन्योल भन्न मिल्ने अवस्था त छँदै थियो, नेकपा एमाले र एकीकृत नेकपा माओवादी नामका दुई समानान्तर हैसियतवाला कम्युनिस्ट भनिने पार्टीहरूको उपस्थिति पनि नेपाली जनताको स्वास्थ्यका लागि हानिकारक रूपमा देखाप-यो । हेर्दा यस्तो लाग्छ एमालेको सबैभन्दा ठूलो दुश्मन एमाओवादी हो र एमाओवादीको दुश्मन एमाले हो । एमालेको खास वैमनश्यता नेपाली काङ्ग्रेस, राप्रपा, मधेसवादी दलहरूसँग छैन । एमाओवादीले पनि अरूलाई दुश्मन वा प्रतिस्पर्धी मानेको छैन । एमालेले एमाओवादी र एमाओवादीले एमालेलाई नै सकेसम्म लखेट्ने र सिध्याउने खेल खेलेको देखिन्छ ।
यो खालको अवस्था यो मुलुकका लागि मात्रै होइन, दुनियाँका कुनै पनि मुलुकका लागि हितकार हुन सक्दैन । विकल्पको रूपमा एमाले, एमाओवादीबीच पार्टी एकीकरण हुने वा दुईमध्ये एक पार्टी कतै टाँसिएर बिलाउने वा दुईमध्ये एकले आफूलाई कम्युनिस्ट भन्न छाड्ने अवस्था सिर्जना भएमा नेपालको अस्थिर राजनीतिक अवस्थामा आधा सुधार आउन सक्छ । नयाँ संविधान बनाउने कार्यमा पनि सहजता देखिन्छ । तर, यो अवस्था त्यति सजिलै आउन सक्दैन किनकि यी दुई पार्टीभित्र पनि मनग्गे विदेशी घुसपैठ भएको अनुमान गरिएको छ जसले यिनलाई आपसमा निकै लामो समयसम्म लडाइरहनेछ । त्यसकारण निष्कर्ष यही हो– विदेशी हस्तक्षेप, गरिबी र जनताको काम नगर्ने बानी, विदेशमोह, एमाले र एमाओवादीजस्ता दुई शक्तिशाली राजनीतिक दल एकैपटक एकै खालको उपस्थिति राजनीतिक अस्थिरताका कारण हुन् । जबसम्म आँखैले देखिएका यी समस्या समाधान हुँदैन तबसम्म यो देशमा राजनीतिक अस्थिरताले जरो गाडिरहनेछ । राजनीतिक अस्तिरता रहुन्जेलसम्म नयाँ संविधान बन्नै सक्दैन । बने पनि टिकाउ हुनेछैन । पक्कापक्की हुनेछैन ।
प्रतिक्रिया