चार ट्रक ठोक्किँदा पाँच घाइते

चार ट्रक ठोक्किँदा पाँच घाइते


पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा पाँचजना घाइते भएका छन् । गएराति पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा दुई ट्रक एक–आपसमा ठोक्किँदा चार घाइते भएका छन् ।

घाइतेमध्ये एक चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मुग्लिनबाट काठमाडौं जाँदै गरेको ना.५ख ९७०६ नम्बरको मालबाहक ट्रक र काठमाडौंबाट मुग्लिङतर्फ आउँदै गरेको ना.६ख ९८९९ नम्बरको ट्रक एक–आपसमा ठोक्किएर दुर्घटना भएका हुन् ।

यसैबीच आज (बुधबा) बिहान ८ बजे इच्छाकामना गाउँपालिका–३ कै चुम्लिङटारमा पनि दुई ट्रक एक–आपसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौंबाट कुरिनटारतर्फ आउँदै गरेको ना.६ख ९१०६ नम्बरको ट्रक र काठमाडौंतर्फ जाँदै गरेको ना.५ख २७६२ नम्रबको ट्रक –समा ठोक्किएर दुर्घटना भएका हुन् ।

दुर्घटनामा काठमाडौंतर्फ जाँदै गरेको ट्रकको चालक घाइते भएका छन् । उनको अहिले मनकामना पोलिक्लिनिक कुरिनघाटमा उपचार भइरहेको छ । लामो समयपछि सिमसिम पानी पर्दा सवारीसाधन चिप्लिएर अत्यधिक दुर्घटना हुने गरेका छन् ।