बसको ठक्करबाट महिलाको मृत्यु

बसको ठक्करबाट महिलाको मृत्यु


काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा.४ख ९३९० नम्बरको बसले ठक्कर दिँदा बुधबार एक महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–५ कटुञ्जे सिर्जनानगरमा बसबाट ओर्लने क्रममा सोही बसको ठक्करबाट ओखलढुंगा ज्यामिरे–२ घर भई हाल भक्तपुर कटुञ्जे प्रगति चोक बस्ने ४० वर्षीय प्रतिमा वाग्ले बानियाँको मृत्यु भएको हो ।

ठक्करबाट घाइते बानियाँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । बस र बसचालक दोलखा भीमेश्वर नगरपालिका–६ घर भई हाल भक्तपुर ठिमी बस्ने २७ वर्षीय नवराज नेपाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको उनले बताए ।