कीर्तिमानसँगै रोमाञ्चक मोडमा विश्वकप

कीर्तिमानसँगै रोमाञ्चक मोडमा विश्वकप


sportअस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको विश्वकप क्रिकेट प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ । पाकिस्तानले विश्वकपमा जिम्बाबेविरुद्ध पहिलो जित हासिल गरेर क्वार्टरफाइनलमा पुग्ने आशालाई जीवितै राखेको छ । त्यस्तै विश्वकपमा पहिलोपटक सहभागिता जनाएको अफगानिस्तानले स्कटल्यान्डविरुद्ध पहिलो जित हासिल गर्दै ऐतिहासिक सफलता हात पारेको छ । एसोसियट राष्ट्र आयरल्यान्डले विश्वकपमा लगातार दोस्रोे जित हासिल गर्दा स्कटल्यान्ड र यूएईको प्रदर्शन सहभागितामा मात्रै सीमित भएको छ । आयरल्यान्डको गर्विलो प्रदर्शन अहिले टेस्ट मान्यताप्राप्त राष्ट्रहरूका लागि टाउको दुःखाइ बन्न पुगेको छ । साँचो अर्थमा भन्नुपर्दा आयरल्यान्डको यो प्रदर्शनबाट टेस्ट खेल्ने राष्ट्र भयभीत बन्न पुगेका छन् । उनीहरूमा अपत्यारिलो नतिजाको सिकार हुनुपर्ने त होइन भन्ने सन्त्रास छाएको छ । हाल सञ्चालन भइरहेको विश्वकपमा आयरल्यान्डले वेस्टइन्डिज र यूएईलाई पराजित गरिसकेको छ । अब आयरल्यान्डले भारत, पाकिस्तान, दक्षिण अफ्रिका र जिम्बाबेविरुद्ध खेल्न बाँकी छ ।
त्यस्तै, कीर्तिमानमाथि कीर्तिमानको झन्डा गाड्दै अगाडि बढिरहेको यो विश्वकपमा भारत र न्युजिल्यान्ड अपराजित राष्ट्र बनेका छन् । यी दुवै राष्ट्र अहिलेसम्म आफूले खेलेका खेलमा अपराजित रहेर अङ्क–तालिकामा शीर्ष स्थानमा रहन सफल भएका छन् । भारतले अहिलेसम्म पाकिस्तान, दक्षिण अफ्रिका र यूएईलाई पराजित गरिसकेको छ भने न्युजिल्यान्डले श्रीलङ्का, इंग्ल्यान्ड, स्कटल्यान्ड र अस्टे«लियालाई पराजित गर्दै विश्वकपको प्रमुख दाबेदारको रूपमा प्रस्तुत गरेका छन् । आफ्नो चौथो खेलमा विश्वकपको प्रमुख दाबेदार मानिएको अस्ट्रेलियालाई न्युजिल्यान्डले सनसनीपूर्ण तरिकाले पराजित गर्दै अस्ट्रेलियाको आत्मविश्वासमा नुनचुक दल्न सफल भएको थियो । अकल्यान्डमा भएको सनसनीपूर्ण खेलमा न्युजिल्यान्ड अस्ट्रेलियालाई एक सय ५२ रनमा समेट्दै एक विकेटले विजय बनेको थियो । निकै रोमाञ्चक मोडमा पुगेको उक्त खेलमा न्युजिल्यान्डलाई विजय हासिल गर्न ६ रनको आवश्यकता थियो भने अस्ट्रेलियालाई एक विकेटको । जसले पनि बाजी मार्न सक्ने खेलको अवस्था रहे पनि आखिर जित न्युजिल्यान्डको झोलीमा परेको थियो । चालीस हजार दर्शकको मुटु धड्किरहेको अवस्थामा एघारौँ नम्बरमा ब्याटिङ गर्न आएका न्युजिल्यान्डका केन विलियम्सले २४औँ ओभरको पहिलो बलमा नै छक्का प्रहार गरेर न्युजिल्यान्डलाई विजयी बनाएका थिए । यो हारसँगै अस्ट्रेलिया अङ्क–तालिकामा चौथो स्थानमा झरेको छ । एक जित, एक हार र एक बराबरी खेलेको अस्ट्रेलिया अहिले दबाबमा परेको छ । यसर्थमा कि अहिले पनि बङ्गलादेश अङ्क–तालिकामा अस्ट्रेलियाभन्दा माथि रहेको छ ।
विश्वकपमा लगातार दुई खेलमा पराजित इंग्ल्यान्डले तेस्रो खेलमा विजय हासिल गरे पनि चौथो खेलमा श्रीलङ्कासँग पराजित हुँदा उसको क्वार्टरफाइनलमा पुग्ने सम्भावना निकै न्यून बनेको छ । अघिल्ला खेलहरूमा आफ्नो क्षमताभन्दा निकै कमजोर प्रदर्शन गरेको इंग्ल्यान्डले श्रीलङ्काविरुद्धको खेलमा तीन सय रनको आँकडा पार गरेको थियो । तर, दुर्भाग्य, उक्त खेलमा श्रीलङ्काले उत्कृष्ट ब्याटिङको प्रदर्शन गर्दै सहजै लक्ष्य हासिल गरेको थियो । श्रीलङ्काका ब्याट्सम्यानका सामु इंग्ल्यान्डका बलरहरू निरीह सावित भएका थिए । हाल सञ्चालन भइरहेको विश्वकपमा अफगानिस्तान र बंगलादेशले औसत प्रदर्शन गर्दै विश्वकपमा एक–एक खेल जितिसकेकाले इंग्ल्यान्डका लागि निकै चुनौती बनेको छ । इंग्ल्यान्डले विश्वकपमा जीवित रहन यी दुवै खेल ठूलो रनरेटले जित्नुपर्छ । अन्यथा एउटा पराजय इंग्ल्यान्डका लागि विश्वकपको ढोका बन्द हुने प्रायः निश्चित छ । त्यस्तै हालत पाकिस्तानको बनेको छ । आफ्नो पहिलो दुई खेल भारत र वेस्टइन्डिजसँग पराजित भएर आफ्नो समूहमा अन्तिममा पुगेको पाकिस्तानले जिम्बाबेलाई पराजित गरेर केही राहतको महसुस गरे पनि उसले क्वार्टरफाइनलसम्म पुग्न ठूलो चुनौतीको सामना गर्नुपर्नेछ । भारतले दक्षिण अफ्रिकालाई ठूलो रनरेटको अन्तरले पराजित गरेपछि झस्किएको दक्षिण अफ्रिका पाकिस्तानविरुद्ध वेस्टइन्डिजको जस्तै बदला नलेला भन्न सकिँदैन । तसर्थ यूएई पाकिस्तानका लागि कमजोर पाटो होला, तर आयरल्यान्ड र दक्षिण अफ्रिकाविरुद्धको खेलमा पाकिस्तानले फलामकै चिउरा चपाउनुपर्नेछ । यसअघि आयरल्यान्डले वेस्टइन्डिजलाई पराजित गरिसकेको छ भने वेस्टइन्डिजले पाकिस्तानलाई । यसरी समूह ‘बी’को विश्लेषण गर्दा पाकिस्तानलाई क्वार्टरफाइनलमा पुग्न त्यति सहज देखिँदैन । एउटा पराजय नै पाकिस्तानका लागि विश्वकपबाट बाहिरिन काफी हुनेछ ।
चालू विश्वकपमा वेस्टइन्डिजका क्रिस गेल दुई सय १५ रनको पारी खेलेर विश्वकपमा पहिलो दोहोरो सतक बनाउने खेलाडी बनेका छन् । उनले जिम्बाबेविरुद्धको खेलमा एक सय ४७ बलमा १६ छक्का र १० चौकाको मद्दतले दुई सय १५ रन बनाएका हुन् । यसअघि यूएईविरुद्ध दक्षिण अफ्रिकाका ग्यारी क्रिस्ट्रियनले सन् १९९६ को विश्वकपमा एक सय ८९ रनको कीर्तिमान राखेका थिए । विश्वकपमा दुई सय १५ रनको महान् पारी खेलेपछि एकदिवसीय क्रिकेटमा दोहरो शतक बनाउने खेलाडीमा गेल चौथो नम्बरमा परेका छन् । यसअघि भारतका सचिन तेन्दुलकर, वीरेन्द्र सेहवाग र रोहित शर्माले मात्र दोहोरो शतक बनाएका थिए । रोहितले दुईपटक दोहोरो शतक बनाउँदै दुई सय ६४ रनको कीर्तिमान राखेका छन् । यसरी ट्वान्टी–ट्वान्टीमा शतक, एकदिवसीयमा दोहोरो शतक र टेस्ट क्रिकेटमा तेहोरो शतक बनाउने क्रिस गेल विश्वका पहिलो खेलाडी बनेका छन् । त्यस्तै, गेल र स्यामुयल्सको जोडीले कुनै पनि विकेटका लागि वेस्टइन्डिजका लागि गरेको यो सर्वाधिक ठूलो र एकदिवसीय क्रिकेटको कीर्तिमानी साझेदारी हो । यो जोडीले दोस्रो विकेटका लागि तीन सय ७२ रनको साझेदारी गरेको थियो । यसअघि यो कीर्तिमान सचिन तेन्दुलकर र राहुल द्रबिडको जोडीले बनाएको थियो । उनीहरू न्युजिल्यान्डविरुद्ध तीन सय ७१ रनको साझेदारी गरेका थिए । त्यस्तै, विश्वकपमा सबैभन्दा बढी छक्का प्रहार गर्नेको कीर्तिमान पनि गेलले बनाएका छन् । उनले चालू विश्वकपमा जिम्बाबेविरुद्ध १६ छक्का प्रहार गरेका थिए । यसअघि एकदिवसीय क्रिकेटमा भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले १६ छक्का प्रहार गरेर कीर्तिमान कायम गरेका थिए । यसैगरी एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो दोहोरो शतक बनाउने कीर्तिमान पनि गेलले आफ्नो नाममा लेखाएका छन् । उनले चालू विश्वकपमा एक सय ३८ बलमा दोहोरो शतक बनाएका थिए । स्मरण रहोस्, गेल जिम्बाबेविरुद्ध १५ वटा विश्व कीर्तिमान कायम गरेका थिए ।
यसैगरी चालू विश्वकपमा दक्षिण अफ्रिकाका कप्तान एबी डिभिलियर्सले पनि सर्वाधिक छिटो डेढ सय रन बनाएर विश्व कीर्तिमान बनाएका छन् । उनले वेस्टइन्डिजविरुद्ध ६६ बलमा एक सय ५० रन बनाएर उक्त कीर्तिमान कायम गरेका हुन् । उनको यसै पारीले गर्दा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध चार सय १३ रनको विशाल स्कोर खडा गरेको थियो । परिणाम यो खेलमा वेस्टइन्डिज कीर्तिमानी दुई सय ५७ रनले पराजित भएको थियो । डिभिलियर्सको यो प्रदर्शनपश्चात् उनी एकदिवसीय क्रिकेटमा तीव्र गतिमा अर्धशतक, शतक र डेढ सय रन बनाउने पहिलो कीर्तिमानी खेलाडी भएका छन् । उनले यी तीनवटै कीर्तिमान वेस्टइन्डिजविरुद्ध बनाएका हुन् । यसरी कीर्तिमानमाथि कीर्तिमान बन्दै गएको चालू विश्वकपमा अझै कति कीर्तिमान बन्ने हुन त्यो प्रतीक्षाको विषय बनेको छ । यो विश्वकपमा टेस्ट खेल्ने राष्ट्रले मात्र नभई एसोसियट राष्ट्रहरूले पनि उत्कृष्ट प्रदर्शन गरिरहेकाले अझै थुप्रै ऐतिहासिक कीर्तिमान कायम हुने क्रिकेट विश्लेषकले अनुमान र अड्कल काटेका छन् ।

खेल समाचार
अतिक्रमण समस्या समाधान गर्न समिति
मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको जग्गा अतिक्रमणसम्बन्धी समस्या समाधानका लागि ६ सदस्यीय मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण समन्वय र सहजीकरण समिति गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को सक्रियतामा युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको संयोजकत्वमा मूलपानीमा बसेको सर्वदलीय एवम् सर्वपक्षीय बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिका सदस्यहरूमा उपेन्द्र कार्की (नगर प्रतिनिधि, नेपाली काङ्ग्रेस, कागेश्वरी मनोहरा न.पा., काठमाडौं), मणिराम फुँयाल (नगर संयोजक, नेकपा (एमाले), कागेश्वरी मनोहरा न.पा., काठमाडौं), साधुराम लामिछाने (नगर प्रतिनिधि, एनेकपा (माओवादी), कागेश्वरी मनोहरा न.पा., काठमाडौं), राधाकृष्ण विष्ट (नगर प्रतिनिधि, राप्रपा, कागेश्वरी मनोहरा न.पा., काठमाडौं), लक्ष्मी ढकाल (कार्यकारी अधिकृत, कागेश्वरी मनोहरा न.पा., काठमाडौं) तथा सदस्यसचिवमा नारायणराज अर्याल –कानुन शाखा प्रमुख, राखेप) रहेका छन् ।
समितिको सल्लाहकारहरूमा काठमाडौं क्षेत्र नं. २ का सभासद् दीपकप्रसाद कुइँकेल, काठमाडौं क्षेत्र नं. ३ का सभासद् रामेश्वर फुँयाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव शर्मा तथा राखेप सदस्यसचिव युवराज लामा रहेका छन् । समितिले २ महिनाभित्र तोकिएको कार्य पूरा गरी राखेपसमक्ष प्रतिवेदन बुझाउनुपर्नेछ ।

खेलकुद फिल्म बनाउन १० लाख
नेपालमा खेलाडी र खेलजीवनसँग जोडिएर फिल्म निर्माण नभएकाले त्यसको सुरुवात गर्न मोडल ग्लोबल भिसास कन्सल्टेन्सीले १० लाख रुपैयाँको प्रायोजक हरेक वर्ष गर्ने भएको छ । काठमाडौंमा हालै सम्पन्न भएको पहिलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा सो फेस्टिभलका मुख्य प्रायोजकसमेत रहेको मोडेल ग्लोबलले त्यस्तो सम्झौता गरेको हो ।
गत साता आयोजित एक कार्यक्रममा मोडल ग्लोबल र नेपाल स्पोर्टस् फाउन्डेसनबीच सो सम्बन्धमा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सम्झौतामा फाउन्डेसनको तर्फबाट राष्ट्रिय क्रिकेट टोलीका सदस्य राहुल विक र मोडल ग्लोबलका तर्फबाट कार्यकारी निर्देशक मनोज पाण्डेले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार प्रायोजक मोडल ग्लोबलले सन् २०१५–१६ का लागि दुई किस्तामा सो रकम उपलब्ध गराउनेछ ।
स्पोर्टस् फिल्म फेस्टिभलका आयोजक नेपाल स्पोर्टस् फाउन्डेसनले सो रकमबाट पाँचवटा फिल्म बनाउनेछ । फाउन्डेसनका अध्यक्ष सूर्य थपलियाले भने, ‘नेपालमा खेलकुद क्षेत्रको विषयलाई समेटेर फिल्म बनाउने प्रथाको अब विकास हुने हामीले विश्वास लिएका छौँ ।’ मोडल ग्लोबलका कार्यकारी निर्देशकले यो कार्यक्रम सन् २०२० सम्मका लागि निरन्तर हुने बताएका छन् । उनले भने, ‘नेपाली खेलकुदलाई अगाडि बढाउन मेरोतर्पmबाट यो सानो प्रयास हो । पाँच वर्ष म यो कार्यक्रमलाई निरन्तरता दिन्छु । त्यसपछि ठूलो प्रायोजक आउला भन्ने मलाई विश्वास छ ।’
कार्यक्रममा ग्रान्डी हस्पिटलका विनोद अधिकारीले र वल्र्डकप इन नेपाल फिल्मका निर्माता प्रकाश थापाले बोलेका थिए । काठमाडौंमा यही फागुन १५ र १६ गते दुई दिनसम्म पहिलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको प्रदर्शन सम्पन्न भएको थियो । नेपाल पर्यटन बोर्डको हलमा निःशुल्क देखाइने सो फेस्टिभलमा नेपाली र विदेशी भाषा गरी कुल १७ फिल्म प्रदर्शन गरिएको थियो ।

दोषीलाई कारबाही र उपचारको माग
नेपाल सोतोकान कराते सङ्घ (जेएसकेए) ले एसिड आक्रमणमा परी गम्भीर घाइते भएकी आफ्ना खेलाडी संगीता मगरलाई एसिड प्रहार गर्ने दोषीलाई तुरुन्त पक्राउ गरी कारबाही र निःशुल्क उपचारको माग गर्दै गत साता काठमाडौं जिल्ला प्रशासन कार्यालय, बबरमहलमा ज्ञापनपत्र बुझाएको छ । सोतोकान कराते सङ्घका अध्यक्ष विष्णुबहादुर कार्कीले सङ्घका महासचिव एवम् प्रमुख प्रशिक्षक श्याम शेर्पालगायतका पदाधिकारीहरूको उपस्थितिमा काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याललाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष कार्कीले यस्तो अमानवीय कार्य हाम्रो खेलाडीलाई मात्र नभई कसैलाई पनि नहोस् भनी कामना गर्दै दोषीलाई तुरुन्त पक्राउ गरी कारबाहीका साथै पीडित खेलाडीको निःशुल्क उपचारका लागि प्रमुख जिल्ला अधिकारी अर्याललाई आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी अर्यालले दोषी पत्ता लगाउन डीएसपीको कमान्डमा अनुसन्धान टोली गठन भइसकेको र उपचारका लागि सम्बन्धित निकायमा पत्रचार भइसकेको बताए ।
एसएलसी परीक्षाको तयारीका सिलसिलामा गत आइतबार वसन्तपुरको एक ट्युसन सेन्टरमा रहेका बेला संगीता अपरिचित युवाको एसिड प्रहारबाट गम्भीर घाइते भएकी थिइन् । त्यो एसिड आक्रमणमा संगीतासहित सीमा बस्नेत र हेमु पनि घाइते भएका थिए । संगीताले विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको कुमुते र कातामा स्वर्णसहित थुप्रै पदक जितिसकेको सोतोकान कराते सङ्घले जनाएको छ ।
ज्ञापनपत्र बुझाउनुअघि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणबाट -याली निकालिएको थियो । -याली त्रिपुरेश्वर, सुन्धारा, न्युरोड गेट, रत्नपार्क, भद्रकाली, माइतीघर हुँदै बबरमहलमा पुगेपछि टुङ्गिएको थियो । -यालीमा विभिन्न आठ विद्यालयका छात्र–छात्रा, सोतोकान कराते सङ्घका अध्यक्ष कार्की, महासचिव शेर्पालगायतका पदाधिकारी, खेलाडी, संगीताका बुबा, नेपाल कराते महासङ्घका महासचिव एवम् बादोरियो करातेका प्रमुख प्रशिक्षक हरिशरण केसीलगायतको सहभागिता थियो ।

राष्ट्रिय रग्वी टोलीको घोषणा
नेपाल रग्वी सङ्घले पहिलोपटक २० सदस्यीय राष्ट्रिय रग्वी टोली (पुरुष) को घोषण गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को दशरथ समीक्षालयमा पत्रकार सम्मेलन गरी सङ्घले टोलीको औपचारिक घोषणा गरेको हो । घोषित टोलीमा नवीन गिरी, रविन भुजेल, कृष्ण क्षेत्री, कृष्णप्रसाद धमला, विनोद तामाङ, थमन भुसाल, विराट ऐडी, सन्जित ढुङ्गाना, उज्ज्वल बडाल, निर्मल लामा, आभाष घर्तीमगर, विराट श्रेष्ठ, अर्जुन श्रेष्ठ, आनन्द सागर, श्रीराम श्रेष्ठ, रेशम तामाङ, गजेन्द्र राना, गणेश भण्डारी, प्रेमबहादुर कोइराला र लभज पुरी रहेका छन् । पछि यो टोलीलाई १२ मा झारिने सङ्घका महासचिव चेतनराज गिरीले जानकारी गराएका छन् ।
अर्को टोली घोषणा नभएसम्म यही टोलीले भारतको चेन्नईमा मार्चमा ७ र ८ तारिखमा हुने ओलम्पिक प्रि–क्लालिफाइङमा भाग लिनुका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउने अध्यक्ष टंकलाल घिसिङले बताए । माघ १७ गते दशरथ रंगशालामा भएको प्रथम राष्ट्रिय रग्वी सेभेन ए साइड प्रतियोगिताबाट खेलाडीको छनोट गरिएको सङ्घले जनाएको छ । त्यो प्रतियोगिता पनि नेपालमा भएको पहिलो राष्ट्रिय रग्वी प्रतियोगिता हो । सोही पत्रकार सम्मेलनमा चार प्रशिक्षकको नाम पनि सार्वजनिक गरिएको थियो । प्रशिक्षकहरूमा गोपाल क्षेत्री, गोविन्द घिमिरे, टंकराज गिरी र हरिबहादुर तामाङ छन् ।

सर्वाधिक राशिको राष्ट्रिय टेबलटेनिस
अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा प्रथम कला बोहरा स्मृति राष्ट्रिय खुला नगद पुरस्कार टेबलटेनिस प्रतियोगिता फागुन २२ गतेदेखि हुने भएको । उक्त प्रतियोगिता नेपाली टेबलटेनिसको इतिहासमै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको आयोजकका अध्यक्ष चतुरानन्द राजवैद्यले पत्रकार सम्मेलनमा जानकारी गराए हुन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशि चार लाख २५
हजार रुपैयाँ रहेको छ ।
पुरुष–महिला सिंगल्स र जुनियर पुरुष–महिला गरी चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ । चारै विधामा मिलाएर करिब दुई सय खेलाडीको सहभागिता रहने सङ्घका उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् । पुरुष–महिला सिंगल्समा शीर्ष १६ बरियताका खेलाडीले सोझै प्रतियोगितामा सहभागिता हुन पाउने प्रावधान छ । मुख्य प्रतियोगिताअघि फागुन १९ र २० गते हुने छनोट चरणमा शीर्ष चार स्थानमा आउने पुरुष–महिला खेलाडीलाई १६ बरियताका खेलाडीसँग समावेश गराई लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । शीर्ष १६ र छनोटमा शीर्ष चारमा आउनेसहित २० खेलाडीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका खेल राउन्डरोबिन लिगका आधारमा हुनेछन् ।
प्रत्येक समूहमा शीर्ष ८–८ स्थान प्राप्त गर्ने खेलाडीले नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । पुरुष–महिला सिंगल्समा पहिलो हुनेले ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले १० हजारका दरले नगद पुरस्कार पाउनेछन् । त्यस्तै, चौथोदेखि आठौँ हुनेले क्रमशः पाँच हजार, चार हजार, तीन हजार पाँच सय, तीन हजार र दुई हजार पाँच सयका दरले नगद हात पार्नेछन् ।
जुनियरको लिग कम नकआउट आधारमा खेल हुने उपाध्यक्ष बज्राचार्यले जानकारी गराए । पहिलोदेखि आठौँसम्ममा प्रतियोगिता टुंग्याउनेले क्रमशः १० हजार, आठ हजार, ६ हजार, चार हजार, तीन हजार पाँच सय, तीन हजार, दुई हजार पाँच सय र दुई हजार नगद जित्नेछन् । प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा फागुन २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा ५० पुरुष खेलाडीको सहभागिता रहनेछ ।

पोखरामा महिला आमन्त्रण फुटबल हुने
स्पोर्टस् फर अल क्लब, नेपालले आठौँ सगरमाथा दिवसको अवसर पारेर पोखरामा ‘नेपाल कप महिला आमन्त्रण फुटबल’ प्रतियोगिता आयोजना गर्ने भएको छ । २९ मे १९५३ मा पहिलोपटक तेन्जिङ नोर्गे शेर्पा र एडमन हिरालीले सफल सगरमाथा आरोहण गरेको अवसरमा नेपालमा केही वर्षयतादेखि २९ मेलाई सगरमाथा दिवसका रूपमा मनाइँदै आइएको छ । सो अवसर पारेर महिला आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हालै आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् फर अल क्लबले जानकारी दिएको हो । खेलकुद पर्यटन र विकासको अवधारणाअनुसार महिला फुटबलको विकासका लागि टेवा पुगोस् भन्ने हेतुले प्रतियोगिता २०७२ को जेठ ६ देखि १५ गतेसम्म पोखराको रंगशालामा हुन लागेको हो ।
स्पोर्टस् फर अलको आयोजना र महिला फुटबल समिति कास्की, कास्की जिल्ला फुटबल सङ्घ तथा कास्की जिल्ला आइस हक्की सङ्घको समन्वयमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपाल र छिमेकी राष्ट्र भारतका गरी १० टिमको सहभागिता रहने आयोजक टिमका अध्यक्ष लोकबहादुर शाहीले बताए । प्रतियोगिताका लागि त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको महिला टिम, मोरङ, सुनसरी, रौतहट, काठमाडौं र पोखरा ११ महिला टिमलाई आमन्त्रण गरिएको छ । त्यसैगरी भारतबाट कोलकाताको महिला लिग च्याम्पियन टल्टला दीप्ति र दार्जिलिङको महिला टिमलाई आमन्त्रण गरिएको शाहीले बताए ।
प्रतियोगिताको विजेता टिमलाई एक लाख र उपविजेतालाई ५० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । यसका साथै खेलाडीको प्रोत्साहनका लागि अन्य पुरस्कारको समेत व्यवस्था गरिने शाहीले बताए । प्रतियोगिताको अनुमानित बजेट १८ लाख १५ हजार रहेको छ ।
सो प्रतियोगिताको सञ्चालनका लागि महिला फुटबल समिति कास्कीकी अध्यक्ष भक्ति गुरुङको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समितिसमेत गठन गरिएको छ । गुरुङले पोखराको सांस्कृतिक र पर्यटकीय नगरीमा सगरमाथा दिवसको अवसरमा महिला फुटबल गरेर महिला फुटबलको प्रतियोगितालाई नयाँ उचाइमा पुयाउने बताइन् । पत्रकार सम्मेलनमा कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष धर्मबहादुर लामिछाने, जिल्ला आइस हक्की सङ्घ कास्कीका अध्यक्ष विद्या मरासिनी, नेपाल आइस हक्की सङ्घका उपाध्यक्ष मदन केसी र पूर्व राष्ट्रिय खेलाडी गणेश पाण्डेको उपस्थिति थियो ।