संसदमा के होला आज ?

संसदमा के होला आज ?


चिकित्सा शिक्षा विधेयकको विषयलाई लिएर गत मंगलबार संसदमा सत्तापक्ष र प्रतिपक्षबीच घम्साघम्सी नै भयो । सभामुख कृष्णबहादुर महराले सुरुवातमा काँग्रेसले बैठक अवरुद्ध गर्दा १५ मिनेट बैठक स्थगित गरे । तर त्यो १५ मिनेटमा उनले कुनै पहल गरेनन् । त्यसपछि फेरि बैठक चलाउन खोजे । काँग्रेस सांसदहरु उठे । उनीहरु आफ्नो सिट छाडेर जान खोज्दा पनि सभामुखले जवरजस्ती संसद चलाउन खोजे ।

विरोधबीच नै सभामुख महराले चिकित्सा शिक्षा विधेयक पेश गर्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई बोलाए । तर काँग्रेस सांसदहरुले विधेयक पेश गर्न दिएनन् । सो क्रममा सांसदहरुबीच ठेलमठेल पनि भयो । घम्साघम्सीको स्थिति देखिएपछि फेरि १५ मिनेटका लागि सभामुखले संसद स्थगित गरे र शुक्रबार अर्थात आज दिउँसोलाई संसद बोलाएका छन् । प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ । संघीय संसद्का महासचिव मनोहर भट्टराईले आजको बैठकको कार्यसूची चिकित्सा शिक्षा विधेयक पेस तथा पारित गर्ने रहेको जानकारी दिए ।

नेपाली काँग्रेसले आजको प्रतिनिधिसभा बैठक निकै सौहार्द हुने अपेक्षा गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदमा सभामुख कृष्णबहादुर महराले सौहार्दपूर्ण तरिकाले संसद चलाउने विश्वास समेत व्यक्त गरेका छन् । तर आज काङ्ग्रेसले सोचेकोजस्तो भने हुनेछैन् ।
संचारमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता नहुने र संसदमा शुक्रबार जसरी पनि पारित हुने दावी गर्दै आएका छन् । उनको यही भनाईलाई मात्रै आधार मान्ने हो भनेपनि आजको संसद बैठक मंगलबारको भन्दा फरक हुने अड्कल लगाउन सकिन्छ । तर, प्रतिपक्ष नेपाली कांग्रेसका प्रवक्ता शर्माले जसरी पनि भन्ने शब्द लोकतन्त्रिक संस्कृतिमा हुन्न भनेका छन् । उनले सत्ताधारीले डा गोविन्द केसी र प्रमुख प्रतिपक्षीको आग्रह बुझ्नुपर्ने बताएका छन् भने त्यसको माहोल बनाउने काम सभामुखको भएको पनि स्पष्ट पारेका छन् । ‘नेपालको संविधान फलानो मितिभित्र बनाउनैपर्छ भनेजस्तै आज साँझसम्म जसरी पनि चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्छ भनेर लाग्नु राम्रो हुँदैन् ।’ उनले भने, ‘मुलुकको नेतृत्व प्रधानमन्त्रीले गर्ने हो मन्त्रीले हैन ।’

काँग्रेसले अहिले दुईवटा मागलाई मात्रै विशेष ध्यान दिएको छ । डा केसीले गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भएको सम्झौताको अक्षरसः पालना र दुई पूर्व सभापति एवं पूर्व प्रधानमन्त्रीहरुको नाममा रहेका अस्पताललाई केन्द्र सरकार मातहतमा राख्नुपर्ने । २ दिन संसद् अवरोध गरिसकेको कांग्रेस त्यसलाई अझै निरन्तरता दिने पक्षमा छ । यसै विषयका कारण शुक्रबार संसदमा के हुन्छ भन्ने आमचासो बढेको छ ।

समस्याको समाधान गर्न सरकारले प्रतिपक्षसँग छलफल गर्नुपर्छ । तर सभामुखले मंगलबारपछि प्रमुख प्रतिपक्षी दलसंग कुनै छलफल गरेका छैनन् । यो बीचको समयमा आपसमा शब्दप्रहार गर्ने काम नेताहरुले बढी गरेका छन् । सत्तापक्ष विधेयक पास गराउने पक्षमा छ भने प्रतिपक्ष त्यसलाइै रोक्ने दाउमा छ । मध्यान्हसम्म कुनै ठोस पहल र राजनीतिक सहमति सभामुखले नगर्ने हो भने दिउँसो बस्ने बैठकमा फेरि मुठभेड हुने निश्चित छ । मुठभेडको खतरा बढेपछि संसद् सचिवालय त्यसको पूर्वतयारीमा जुटेको छ । सचिवालयका अनुसार, अप्रिय घटना हुन नदिन मर्यादापालकको संख्या बढाइएको छ ।