एमब्यानको आयोजनामा ‘एमब्यान स्पोर्ट्स मिट २०२६’

एमब्यानको आयोजनामा ‘एमब्यान स्पोर्ट्स मिट २०२६’


मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल (एमब्यान)ले आयोजना गर्न लागेको ‘एमब्यान स्पोर्ट्स मिट २०२६’को पूर्व-कार्यक्रमअन्तर्गत पत्रकार सम्मेलन तथा आधिकारिक ड्र कार्यक्रम सम्पन्न भएको छ । एमब्यानका कार्यसमिति सदस्य सन्दीप कार्कीको उपस्थितिमा गत बिहीबार धुम्बाराहीस्थित धन्वन्तरी स्पोर्ट्स हबमा सम्पन्न कार्यक्रममा आयोजक समितिले प्रतियोगिताको उद्देश्य, खेलको ढाँचा, समयतालिका तथा व्यवस्थापनसम्बन्धी विस्तृत जानकारी गराएको थियो । साथै फुटसल, ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिताका लागि आधिकारिक ड्र सम्पन्न गर्दै खेल तालिका र प्रतिस्पर्धात्मक संरचनालाई अन्तिम रूप दिइएको जनाइएको छ ।

प्रतियोगिताअन्तर्गत पुरुष फुटसलमा १८ टोली सहभागी हुनेछन्, जसलाई तीन–तीन टोली रहने गरी ६ समूहमा विभाजन गरिएको छ । महिला फुटसलमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । त्यसैगरी ब्याडमिन्टनतर्फ पुरुष डबल्समा ५ टोली, महिला डबल्समा ६ टोली तथा भेट्रान्स डबल्समा २ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, टेबलटेनिसतर्फ पुरुष एकलमा १४ खेलाडी, महिला एकलमा ५ खेलाडी र भेट्रान्स एकलमा ५ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । एमब्यान स्पोर्ट्स मिट २०२६ यही असार २० र २१ (जुलाई ४ र ५)मा धुम्बाराहीस्थित धन्वन्तरी स्पोर्ट्स हबमा आयोजना हुँदैछ । आयोजकका अनुसार प्रतियोगिताले मर्चेन्ट बैंकिङ क्षेत्रका सदस्य संस्थाबीच खेलकुदको माध्यमबाट आपसी सद्भाव, टोलीगत कार्यसंस्कृति, स्वस्थ प्रतिस्पर्धा तथा व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

एमब्यानले प्रतियोगिताको सफल आयोजनाका लागि सहभागी संस्था, खेलाडी, पदाधिकारी, प्रायोजक तथा सञ्चारमाध्यमप्रति आभार व्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेको छ । सो कार्यक्रममा सहभागी संस्थाका टोली प्रमुख, खेलाडी, प्रतिनिधि, आयोजक समितिका सदस्य तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।