महिला डबल लिग भलिबलमा एपीएफ शीर्ष स्थानमा

महिला डबल लिग भलिबलमा एपीएफ शीर्ष स्थानमा


साबिक विजेता एपीएफ १४औँ रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । माघ १० गते बिहीबार दोहोरो जित निकालेपछि एपीएफले ५ खेलबाट १५ अंक जोड्दै उपाधि दाबेदारी प्रस्तुत गरेको छ । एपीएफले पहिलो खेलमा आयोजक ढोरपाटनमाथि २५–२, २५–४ र २५–५ को सहज जित निकाल्दा दोस्रो खेलमा पनि चितवन टाइग्रेसलाई २५–७, २५–४ र २५–२० को सोझो सेटमा पराजित गरेको थियो ।

पुलिसले पनि दोहोरो जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा थाहा नगरपालिकालाई २५–८, २५–१४ र २५–१८ को सोझो सेटमा हराएको पुलिसले आर्मीलाई २५–१६, २५–२३ र २६–२४ को सोझो सेटमा स्तब्ध बनायो । पुलिसले ४ खेलबाट १२ अंक बनाएको छ । आर्मीको बिजय यात्रा पुलिसले रोकेपछि पहिलो स्थानबाट तेस्रो स्थानमा झरेको छ । आर्मीको ५ खेलबाट १२ अंक रहेको छ ।

अर्को खेलमा सेबले पश्मिाञ्चललाई २७–२५, २०–२५, १७–२५, २५–२२ र १५–८ को स्कोरमा हराउँदै पाँचौँ स्थानमा रहन सफल भएको छ । सेबले ८ अंक जोडेको छ । श्रीगाउँ ९ अंकका साथ चौथो स्थानमा छ । पश्मिाञ्चलले पहिलो खेलमा पराजय व्यहोरे पनि खातामा १ अंक जोड्न सफल भयो ।

प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्नेछ । त्यस्तै, तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौँ हुनेले ४० हजार, छैटौँ हुनेले ३० हजार र सातौँ हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एकजना भाग्यमानी दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी दिए ।