जुनियर टेनिसमा अद्रित र प्राज्णा च्याम्पियन

जुनियर टेनिसमा अद्रित र प्राज्णा च्याम्पियन


अद्रित नेपाल र प्राज्णा मानन्धर १६औँ जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा बिहीबार यू–९ सिंगल्स च्याम्पियन बनेका छन् । मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा अद्रितले स्पर्श तिमिल्सना क्षेत्रीलाई ४–०, ५–४ र ९–७ को सेटमा पराजित गरे । छात्रा फाइनलमा प्राज्णाले नाला मास्केलाई ४–२ र ४–० को सोझो सेटमा पराजित गरिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भइरहेको प्रतियोगिताको यू–१० ब्वाइज सिंगल्समा निशाद जोशीले बोरिस अधिकारीलाई ६–७(६), ६–२ र १०–७ तथा सम्मान बस्नेतले अविर श्रीवास्तवलाई ६–३ र ६–४ को सेटमा पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

ब्वाइज डबल्समा चिराग तिमिल्सना र राजवीर प्रधानको जोडीले प्रीतम परियार र आयुशमान हजुर घलेको जोडीलाई ४–६, ६–२ र १०–७ ले पन्छाउँदै फाइनल यात्रा तय गरे । उपाधिका लागि विजेता जोडीले आरभसम्राट हाडा र प्रणव मानन्धरको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । आरभ र प्रणवको जोडीले जेड आलेमगर र सौगात विकको जोडीबाट वाकओभर पाएका थिए ।

छात्रा डबल्समा सुभांगीलक्ष्मी शाह र अजा रेग्मीको जोडीले प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीमाथि ६–० र ६–० को सहज जित रच्दै फाइनलमा स्थान बनायो । अर्को सेमिफाइनल खराब प्रकाशका कारण रोकिएको छ । पहिलो सेटमा निमिशा ढकाल र आइशा डोल्कर गुरुङको जोडीविरुद्ध इशाश्री शाह र रायना शाहको जोडी ६–० ले अगाडि छ । दोस्रो सेट ६–६ को बराबरीमा सकिएको अवस्थामा इशाश्री र रायनाको जोडी टाइब्रेकरमा २–५ ले पछाडि परेको छ ।

यू–१२ ब्वाइज सिंगल्समा प्रणव मानन्धरले स्लोक कजेर खड्कालाई ६–१ र ६–४, आयुशमान हजुर घलेले राजवीर प्रधानलाई २–६, ६–३ र १०–८, सरोज तामाङले सक्षम शाहलाई ६–३ र ६–२ तथा ऋद्भिक कार्कीले रुसात अरोरालाई ७–६(८) र ६–१ ले निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

यू–१४ ब्वाइज सिंगल्समा आरभसम्राट हाडाले सौगात विकलाई ६–२ र ६–२, चिराग तिमिल्सनाले श्रेयश पौडेललाई ६–० र ६–१ तथा प्रीतम परियारले प्रसिद्ध मोक्तानलाई ६–० र ६–० को सीधा सेटमा पाखा लगाउँदै सेमिफाइनलमा पुगे । आर्यन गिरी पनि आदित्य अग्रवालबाट वाकओभर पाउँदै सेमिफाइनलमा पुग्न सफल भए ।

यू–१० छात्रा सिंगल्समा समृद्धि महर्जन फाइनलमा पुगिन् । समृद्धि पहिलो सेटमा ६–२ ले अगाडि रहेको अवस्थामा प्रतिद्वन्द्वी अर्निका थापा रिटायर्ड भएपछि नतिजा समृद्धिको पक्षमा गएको हो । फाइनलमा समृद्धिले प्रतिष्ठा लामा र शैभी ढकालबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।