प्रणय दिवसका लागि डेढ करोडको गुलाफ आयात गरिने

प्रणय दिवसका लागि डेढ करोडको गुलाफ आयात गरिने


यस वर्षको प्रणय दिवसका लागि रु. एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ ।

गत वर्ष रु. एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जानकारी दिएको छ । यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन रहेको छ ।

एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गुलाफ फूलको अन्तर्राष्ट्रिय रूपमा नै मूल्य बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य वृद्धि हुनेछ । नेपालमा वार्षिक रु. २० करोडको गुलाफ फूलको कारोबार हुने गरेको छ । आन्तरिक उत्पादन २० प्रतिशत र बाह्य देशबाट आयात गरिने ८० प्रतिशत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा ६० प्रतिशत खपत हुने एसोसिएसनले जनाएको छ ।

गत वर्ष प्रतिगुलाफ रु. ४० देखि ८० सम्म तिरेर उपभोक्ताले खरिद गरेका थिए । यस वर्ष ५० देखि १०० सम्म पर्ने हुँदा गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतसम्म मूल्यवृद्धि हुने पनि एसोसिएसनले जानकारी दिएको छ ।

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुअरी १४ तारिखमा पर्दछ, तर उक्त दिनभन्दा एक हप्ता अघिदेखि नै यसलाई मनाउने प्रचलन रहेको छ । प्रेमको प्रतीक मानिले रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एक–अर्कालाई दिएर मनाउने गर्दछन् ।

नेपालमा वि.सं. २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

गुलाफको व्यावसायिक खेती गरिने जिल्लामा काठमाडौं उपत्यकाका तीन र काभ्रेपलाञ्चोक रहेको छ भने अन्य जिल्लामा यसको खेती विस्तार हुने क्रम रहेको छ । व्यावसायिक रूपमा गुलाफका ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५३ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले यसको खेती गर्दै आएका छन् । विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ ।

यस वर्षको तिहारका लागि भारतबाट रु. ३० लाखबराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो । तिहारमा मात्रै रु. एक करोड फूलको कारोबार हुने गर्दछ । यसपटकको तिहारमा भारतबाट अत्यन्तै थौरै मूल्यको माला आयात गर्ने तयारी रहे पनि माग बढेकाले फूलको माला आयातमा वृद्धि गरिएको थियो ।

गुलाफबाहेक अन्य सजावट र तिहारमा प्रयोग गरिने फूल अहिले स्वदेशमै ९० प्रतिशत उत्पादन हुन थालेकाले १० प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा १८ प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।

नेपाली उत्पादन र आयात गरिएको गरी गत वर्ष रु. एक अर्ब ८५ करोडको फूलको कारोबार भएको थियो । तिहार र अन्य मौसममा गरी रु. ११ करोडबराबरको फूल वार्षिक रूपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाफ आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अस्टे«लिया र मलेसियामा धेरै नेपाली बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए ।
रासस