अस्पतालबाट फरार थुनुवा पाँच घन्टापछि पक्राउ

अस्पतालबाट फरार थुनुवा पाँच घन्टापछि पक्राउ


जलेश्वर कारागारबाट ल्याई जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदागराउँदै फरार भएका एक थुनुवा पाँच घन्टापछि पक्राउ परेका छन् ।

महोत्तरीको जलेश्वर कारागारमा पुर्पक्षमा रहँदै आएका धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका– ६ घर भई हाल जलेश्वर कारागारमा नकबजनी चोरी मुद्दामा बस्दै आएका रञ्जित यादव जनकपुर अञ्चल अस्पतालबाट उपचारका क्रममा गएराति २ बजे फरार भएकामा आज बिहान ७ बजे पुनः पक्राउ परेको जेलर चिरञ्जीवी थापाले बताए ।

धनुषा जिल्ला अदालतको फैसलाअनुसार नकवजनी चोरी मुद्दामा रु. १० हजार धरौटी तिर्न नसकी ०७५ मंसिर २८ गतेदेखि थुनुवा यादव जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएकामा गएराति उनी उपचार गराउँदा गराउँदै भागेका थिए ।

दुई दिनअघि बुधबार अत्यधिक पेट दुखेर (एपेन्डिक्स) भएर दुईजना सुरक्षाकर्मी र एक जना कार्यालय सहयोगीका साथमा अञ्चल अस्पताल जनकपुरमा उपचारका लागि गएका थुनुवा यादव गएराति करिब २ बजेतिर पिसाब फेर्ने बहानामा उठेर हतकडी खोली भागेको जेलर थापाले बताए ।

थुनुवा यादव भागेलगत्तै कारागार कार्यालय महोत्तरीका जेलर थापाको आग्रहमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र धनुषा जिल्ला प्रहरी तथा प्रदेश प्रहरीले थुनुवाको खोजतलास व्यापक रूपमा गरेर पाँच घन्टापश्चात् पुनः थुनुवा यादवलाई पक्राउ गर्न सफल भएको महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।