केसीमाथि राजनीति गर्ने दिन सकिए : भट्टराई

केसीमाथि राजनीति गर्ने दिन सकिए : भट्टराई


नेकपा नेता तथा सांसद योगेश भट्टराईले शुक्रबार संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएसँगै डा. गोविन्द केसीको शतप्रतिशत जित भएको बताएका छन् ।

शुक्रबार प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधबीच छलफलबिना नै चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै सांसद भट्टराईले विधेयकमा अनशनरत डाक्टर केसीका सबै माग सबै समेटिएको पनि दाबी गरे ।

पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा भट्टराईले भने– डा. केसीलाई भन्न चाहन्छु– अब अनशनबाट उठेर खुसी मनाउनुहोस्, तपाईंको शतप्रतिशत जित भएको छ । यो विधेयकसँगै अब तपाईंले जीवनभर यसै विषयलाई लिएर अनशन बस्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ ।

प्रतिक्रियाकै क्रममा भट्टराईले यो विधेयक पारित भएसँगै सम्पूर्ण नेपालीको जित भएको र केसीमाथि राजनीति गर्ने दिन पनि समाप्त भएको पनि बताए । आधा दशकदेखि छलफल भइरहेको चिकित्सा शिक्षा विधेयक पारित हुनु चिकित्सा शिक्षा क्षेत्रको क्रान्तिकारी फड्को भएको उनको भनाइ थियो ।

उनले कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका दुवै अस्पताल कुनै हालतमा बिचल्लीमा नपर्ने दाबी पनि गरे ।

डा. केसी आफूसँग भएको सम्झौताअनुसारको व्यवस्था विधेयकमा राख्नुपर्ने माग राख्दै पुस २५ गतेदेखि १६औँ पटकको अनशनमा छन् ।