बाँदर नियन्त्रणका गाउँपालिकाबाट पाँच लाख रुपैयाँ विनियोजन

बाँदर नियन्त्रणका गाउँपालिकाबाट पाँच लाख रुपैयाँ विनियोजन


सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाको चौथो सभाबाट धुस्कुनबाट शुरु गर्ने गरी बाँदर नियन्त्रणको लागि सो बजेट विनियोजित गरिएको हो । किसानको अन्नपात, फलफूल केही बाँकी नराखेर घरघरमा नै आई राखेको अन्नसमेत खान थालेपछि बाँदर नियन्त्रण अभियान शुरु गरिएको हो । सिन्धुपाल्चोक जिल्लामामै बाँदर नियन्त्रक सम्पर्कमा आएपछि बजेट विनियोजित गरिएको हो ।

वन्यजन्तुलाई कानुनविपरीत मार्नेभन्दा समातेर राष्ट्रिय निकुञ्जमा लगिने र बाँदरलाई जंगलमा नै कसरी राख्न सकिन्छ भन्नेबारे अध्ययन गर्ने निर्णय भएको छ । बाँदरले घरघरमा आएर दुःख दिने गरेको र अनेक उपाय खोजी गर्दासमेत उपयुक्त उपाय नभेटिएकाले बाँदरलाई समातेर निकुञ्जमा पठाइने योजना बनाइएको हो ।

वडा नं. ३ धुस्कुनबाट शुरु गरिएको बाँदर नियन्त्रण कार्यक्रम अन्य वडामा पनि छिट्टै सञ्चालन गर्ने निर्णय गरिएको छ । विशेष गरी धुस्कुनमा बाँदरले सबैभन्दा क्षति गरेकाले सो वडाबाट कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष सुकुदेव रिसालले जानकारी दिए । बाँदर नियन्त्रणका लागि सो विनियोजित बजेटको प्रयोग गरी किसाान बाँदरको दुःखबाट मुक्त हुने विश्वास लिइएको छ ।