नेपाली टीममाथि ब्याटिङ सुधार गर्नुपर्ने चुनौती

नेपाली टीममाथि ब्याटिङ सुधार गर्नुपर्ने चुनौती


शुक्रबार भएको पहिलो एक दिवसीयमा कमजोर ब्याटिङ प्रदर्शनका कारण पराजित हुनपुगेको नेपालले आज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)सँग दोस्रो एकदिवसीय खेल खेल्दैछ । नेपाली टोली तीन एक दिवसीय र तीनवटा टि–२० सिरिजका लागि यूएइ पुगेको हो ।

दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा नेपाल र युएईबीचको दोस्रो खेल नेपाली समयअनुसार बिहान ११ः१५ मा शुरु हुनेछ । पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसँगको दोस्रो खेल निकै महत्वपूर्ण रहेको छ ।

शुक्रबारको खेलमा पराजित भएपछि नेपाली टोलीको मुख्य प्रशिक्षक जगत टमाटाले कमजोर ब्याटिङ प्रदर्शनका कारण खेल हार्नुपरेको बताउँदै आजको खेल जित्न कुनै पनि हालतमा ब्याटिङमा सुधार गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्लले शुक्रबारको पहिलो खेलमा नेपाल पराजित हुनुमा ब्याट्सम्यानकै कमजोरी रहेको स्वीकार गर्दै आजको खेलमा ब्याटिङ सुधार गर्ने दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलिरहेको नेपाललाई सिरिज जोगाउन पनि आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा जित निकाले नेपालले सिरिज १–१ को बराबरी गर्नेछ । दोस्रो खेल गुमाए नेपालको पहिलो एकदिवसीय सिरिज जित्ने सपना अधुरो रहनेछ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको थियो । युएई नेपालविरुद्धको ३ खेलको सिरिजमा १–० ले अघि छ । नेपालको यो पाँचौ एकदिवसीय खेल हुनेछ । जिम्बाबेमा सम्पन्न विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको नेपालले गत असारमा नेदरल्याण्डसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १–१ को बराबरीमा सकिएको थियो । नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज माघ १७, १८ र २० मा टी–२० सिरिज खेल्नेछ ।