सरकारविरुद्ध आन्दोलन गर्ने कांग्रेसको तयारी

सरकारविरुद्ध आन्दोलन गर्ने कांग्रेसको तयारी


सरकारको कार्यशैलीको विरोध गर्दै नेपाली कांग्रेस आन्दोलनमा उत्रने भएको छ । आज बोलाइएको केन्द्रीय समिति बैठकले सरकारविरुद्धको आन्दोलन घोषणा गर्ने भएको हो ।

तरुण दल, महिला संघ र नेविसंघले आज राजधानीमा संयुक्त विरोध जुलुस निकाल्ने भएका छन् । विरोध कार्यक्रम भने केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरेर तय गरिनेछ । बिहीबार सुरु भएको पार्टी केन्द्रीय कार्यसमितिको बैठक आज पुनः बस्न लागेको हो । बैठकमा आन्तरिक विषयका अतिरिक्त सरकारविरुद्ध कसरी उत्रने भन्नेबारे छलफल हुने बताइएको छ ।

प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद् बैठक बोलाएर विभिन्न आयोगमा प्रमुख नियुक्ति गरिएको, संसद्मा प्रतिपक्षले वेल घेराउ गर्दासमेत सभामुखबाट संसद्को कारबाही अघि बढाइएको, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघबाट हटाइएको घटनाले सरकार प्रतिपक्षलाई निषेध गरेर अघि बढ्न खोजेको कांग्रेसको निष्कर्ष छ ।

उत, बैठकले नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन गराउन नसकेको भन्दै संघका अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमिति विघटन गरी तदर्थ समिति बनाउनेबारे निर्णय लिने भएको छ । महर नेतृत्वको कार्यसमितिको अवधि भदौ २ मा सकिएको हो । महाधिवेशन गराउनकै निम्ति पहिलो पटक तीन र दोस्रो पटक दुई महिनाको समय दिइएको थियो ।