स्वर्गीय हरिशरण महर्जनको स्मृतिमा तेस्रो हरिशरण महर्जन स्मृति खुला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । कीर्तिपुरको पुष्पसदन आवासीय माध्यमिक विद्यालयमा माघ १९ देखि सञ्चालन हुने प्रतियोगिताको दौरान अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता पनि हुने पुष्पसदन आवासीय माध्यमिक विद्यालयका संस्थापक एवं निर्देशक महेश श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
खुला बुद्धिचालतर्फ १८ सय रेटिङभन्दा कम भएका खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् । खुलातर्फ प्रथम स्थान हात पार्नेले १२ हजार, दोस्रो हुनेले ७ हजार र तेस्रोले ५ हजार प्राप्त गर्नेछन् भने चौथोदेखि उत्कृष्ट दश स्थान हासिल गर्ने खेलाडीले पनि जनही १ हजार नगद प्राप्त गर्नेछन् ।
पुष्पसदन आवासीय माध्यमिक विद्यालयको आयोजनामा सञ्चालन हुने अन्तर विद्यालयतर्फ ३ समूहमा प्रतिस्पर्धा हुनेछ । सब जुनियर कक्षा १ देखि ४ सम्म, जुनियर कक्षा ५ देखि ७ सम्म र सिनियर कक्षा ८ देखि १० सम्ममा खेलाडीले आ–आफ्ना विद्यालयबाट सहभागिता जनाउन सक्नेछन् ।
अन्तरविद्यालयतर्फ विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । तीनदिने प्रतियोगिताको माघ १९ मा उदघाटन हुनेछ भने माघ २६ र माघ २७ सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया