बौरेलान् त कांग्रेस-एमाले ?

बौरेलान् त कांग्रेस-एमाले ?


नेपालको राजनीतिमा २०८२ सालको जेन्-जेड क्रान्ति एउटा ऐतिहासिक परिघटना रह्यो । यो क्रान्तिले २००३ र २००६ सालदेखिको निरन्तरता दाबी गर्ने स्वघोषित ज्येष्ठ राजनीतिक दलहरूको जग नराम्रोसँग हल्लिएको छ; अझ भनौं- भत्किएको छ ।

जेन्-जेड क्रान्तिले विगत ३५ वर्षदेखिको भ्रष्टाचार, अनाचार र राष्ट्र-दोहनलाई अस्वीकरण गर्दै नयाँ सुशासनयुक्त नेपालको बाटो खोलेको छ । २०४८ सालपछि संस्थागत रूपमै स्थापित आर्थिक, मानसिक, सामाजिक भ्रष्टाचार डरलाग्दो भएर गएको थियो । राजनीतिक दलहरू र त्यसका नेतृत्व आफूले जे जति र जस्तोसुकै भ्रष्टाचार र राष्ट्र-दोहन गरे पनि जनताले केही गर्न नसक्ने निश्चिन्त दम्भमा थियो ।

यतिसम्म कि, जेन्-जेड क्रान्तिको दोस्रो र अन्तिम दिनको अन्तिम क्षण पनि खड्गप्रसाद ओली आन्दोलनलाई गोली हानेर दबाउन उद्यत थिए । यो बेग्लै कुरा हो कि, सेनाले जनता मारेर नेताका घर जल्नबाट बचाउन सकिंदैन भनेर ओलीको आदेश मान्न अस्वीकार गरिदियो । यदि सेनाले ओलीको आदेश मानिदिएको भए अनाहकमा हजारौं मान्छेको ज्यान मात्र जाने थिएन, त्रासदिपूर्ण गृहयुद्धको बीजारोपण पनि हुने थियो । बरू सेनाले जनभावनालाई बुझेर जनाक्रोशबाट तत्कालीन प्रधानमन्त्रीलाई बचाउन हेलिकप्टर उपलब्ध गरायो । र, खड्गप्रसाद ओली जनतासँग सम्पूर्ण पराजित भएर निवास छोडी भागे ।

यो घटना केवल एउटा सरकार जानु र अर्को सरकार आउने सामान्य घटना मात्र थिएन । बरू थियो – नेपालमा सुशासनको नयाँ युगको प्रस्थान बिन्दुको थालनी । २०४८ सालको जननिर्वाचित सरकारपछिको सबै पार्टीका सबै नेताहरूले गरेको चरम राष्ट्र दोहनमा जेन्-जेड क्रान्तिले ब्रेक लगाइदियो । यो कुरा इतिहासमा स्वर्णिम अक्षरले लेखिने छ । त्यसपछि बनेको अन्तरिम सरकारले भ्रष्टाचार चाहिं गरेन । त्यसपछि नै जनतामा राजनीतिप्रति भरोसा जाग्न थालेको छ ।

त्यसैगरी, वर्तमान सरकारका मन्त्रीहरू पनि भ्रष्टाचारउन्मुख देखिएका छैनन् । कम्तीमा पनि अहिलेसम्म । मुलुकका लागि यो एउटा अत्यन्त ठूलो सकारात्मक पक्ष हो । राजनीतिबाट वाक्कदिक्क र निराश भएका नेपाली जनता अब राजनीतिप्रति आशावान र राजनीतिलाई भरोसा गर्न थालेका छन् ।

कांग्रेस, एमाले, पूर्वमाओवादीले राजनीतिप्रति मारेको जनविश्वासले चरम रूप लिएपछि जनता अति निराश थिए । अब मुलुक बन्दैन कहिल्यै – यो टुङ्गोमा पुगेका थिए । यस्तो हुनु भनेको एउटा राष्ट्रको पतन प्रारम्भ हुनु हो । तर, महान जेन्-जेड क्रान्तिले त्यो हुनबाट रोक्यो ।

वर्तमान सरकार सफल वा असफल जे होला – त्यो आफ्नो ठाउँमा छ । सफल भए राष्ट्रिय स्वतन्त्र पार्टीले अर्को चुनावमा पनि बहुमत हासिल गर्ने नै छ । असफल भए, त्यो त्यतिबेलै हेरौंला । तर, सरकार बनेको १०० दिन पनि नपुग्दै संसद्मा अत्यन्त झिनो उपस्थिति रहेको एमाले, कांग्रेस र पूर्वमाओवादी प्रभृत्ति सरकारविरुद्ध न्वारनदेखिको बल निकालेर लागेका छन् ! त्यति मात्र होइन, सडक तताउने धम्की पनि पो दिंदैछन् त !

तथापि उनीहरूको मृत्युशैयाबाट गरेको त्यो अरण्य रोदनको कुनै अर्थ र तुक छैन । ३५ वर्षसम्म राष्ट्रलाई हर तरहले मिलिजुली चुसेको/लूटेको नेपाली जनताले यति छिट्टै बिर्सन सक्ने कुरा होइन । राष्ट्रलाई कङ्गाल बनाएर आफू धनी भएकाहरूको यो अरण्य रोदनमा नेपाली जनताले रत्तिभर साथ देलान् भन्ने ठान्नु उनीहरूको मूर्खता हो ।

अर्थात्, निष्कर्षमा भन्नुपर्दा – अबका निकै वर्ष कांग्रेस, एमाले र पूर्वमाओवादीका बिल्लाधारीहरू नेपाली राजनीतिको खेलाडी हुन सक्तैनन्, केवल दर्शक दीर्घाको निरीह दर्शक हुने पक्का छ । त्यसैले अहिले यतिबेलै काङ्ग्रेस-एमाले मृत्युशैयाबाट बौरने कल्पना समेत नगरौं । झन् पूर्वमाओवादीको त चर्चा समेत गर्नु बेकार छ ।