प्रधानमन्त्री केपी शर्मा ओलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकीर्तिमान राख्न सफल क्रिकेटर रोहितकुमार पौडेललाई आइतबार बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकामा रोहितलाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री ओलीले ट्विटरमा अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको उल्लेख गरेका छन् । रोहितले शनिबार यूएईविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका थिए ।
अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा अर्धशतक पूरा गर्दा रोहित १६ वर्ष १४६ दिनका थिए । १५ वर्षको उमेरमा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका रोहितले भारतीय पूर्वखेलाडी सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रिदीको कीर्तिमानलाई भंग गरेका हुन् ।
यसअघि सचिनले १६ वर्ष २१३ दिनको हुँदा एकदिवसीयमा अर्धशतक बनाएका थिए । यस्तै अफ्रिदीले १६ वर्ष २१७ दिन हुँदा अर्धशतक बनाएका थिए ।
प्रतिक्रिया