आजदेखि मौसममा क्रमिक सुधार हुने

आजदेखि मौसममा क्रमिक सुधार हुने


पश्चिमी वायुको प्रभावले आइतबार देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली र उच्च पहाडी तथा हिमाली भेगतिर हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना औँल्याएको हो ।

पश्चिमी वायुको प्रभावले गत मंगबारदेखि शुरु भएको वर्षा आज (आइतबार)बाट क्रमिक सुधार हुँदै जाने मौसमविद् विभूति पोखरेलले बताए । उनका अनुसार दिउँसो देशभरिको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागमा भने आंशिक बदलीको सम्भावना रहेको बताइएको छ ।

भोलि देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । महाशाखाको पछिल्ला विवरणअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस र अधिकतम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ र अधिकतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी अधिकतम तापक्रम विराटनगरको २६ डिग्री सेल्सियस रहेको छ ।