घरमा सुतेकी बालिका खोलामा मृत फेला

घरमा सुतेकी बालिका खोलामा मृत फेला


मोरङमा शनिबार राति सकुशल घरमा सुतेकी एक बालिका आइतबार नजिकैको खोलामा मृत अवस्थामा फेला परेकी छिन् । स्थानीय रामप्रसाद दासकी ११ वर्षीषा कान्छी छोरी रूपमतिकुमारी दास आइतबार विराटनगरको मधुमारा ८ बलुवाहीस्थित सिंघिया खोलामा मृत अवस्थामा फेला परेकी हुन् ।

शनिबार साँझ बाबु छिमेकीको घरमा टीभी हेर्न गएका बेला रूपमती घरमै सुतिरहेकी थिइन् । तर, उनी टीभी हेरेर घर फर्किंदा छोरी घरमा थिइनन् । घरमा आउँदा श्रीमतीले पनि छोरी टीभी हेर्न जान्छु भन्दै करिब ८ बजेतिर घरबाट निस्किएको बताइन् । गाउँलेसहित उनीहरूले रातभरि रूपमतिको खोजी गरे पनि भेटेनन् । तर, आइतबार बिहान स्थानीय माछा मार्न सिंघिया खोलामा जाँदा नग्न अवस्थामा उनलाई डुबिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले उनको शव पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पताल राखिएकोे छ । उनको शव नग्न अवस्थामा फेलापरेका कारण कसैले बलात्कारपछि हत्या गरेर खोलामा फालिएको आशंका रहे पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उनको घर सोही खोलानजिकैको बस्तीमा रहेको छ ।