नेविसङ्घ नेता कार्यकर्ता घाइते

नेविसङ्घ नेता कार्यकर्ता घाइते


संसद्ले चिकित्सा शिक्षा विधेयक जबर्जस्तीरूपमा पारित गरेको भन्दै त्यसको विरोधमा आज भएको प्रदर्शनमा महामन्त्री कपिलेश्वर यादवसहितका नेता कार्यकर्ता घाइते भएको नेपाल विद्यार्थी सङ्घले जनाएको छ ।

सङ्घका उपसभापति रामप्रसाद अधिकारीका अनुसार प्रदर्शनका क्रममा यादवसहित सुशील भट्ट, नीरञ्जन थापा, भीम महतलगायतका नेता कार्यकर्ता घाइते भएका छन् । अनशनरत डा गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेको र काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्रीद्वयका नाममा स्थापित अस्पताललाई समेत राजनीतिक पूर्वाग्रहका आधारमा स्वीकृति नदिएको भन्दै नेविसङ्घले आज काठमाडौँमा प्रदर्शन गरेको थियो । सो क्रममा २५ भन्दाबढी आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अधिकारीले उनीहरुको विनाशर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रहरी परिसर काठमाडौँका अनुसार प्रदर्शनकारीले हानेको ढुङ्गा लागेर एक महिला घाइते भएको र अन्य घटना नभएको जनाएको छ । प्रदर्शनमा उत्रिएका केहीलाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

रिहाइ गर्न माग

नेपाल विद्यार्थी सङ्घले आन्दोलनका लागि थुनामा पु¥याइएका विद्यार्थीलाई रिहा गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष नैनसिंह महरले आज एक विज्ञप्ती जारी गरी चिकित्सा शिक्षा विद्येयक संसदले जवरजस्ती रुपमा पारित गरेको विरोधमा आन्दोलनका क्रममा थुनामा पु¥याइएका विद्यार्थीलाई विनासर्त रिहा गर्न माग गरेका हुन् ।

आज दिउँसो माइतीघरबाट आन्दोलनका क्रममा नेविसङ्घका एकदर्जन नेतालाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त बानेश्वर पु¥याएको थियो । थुनामा राखिएका विद्यार्थी नेतालाई चार घण्टाभित्र रिहाई नगरे हामी देशव्यापी आन्दोलनमा जान्छौँ,’–अध्यक्ष महरले भने ।

यस्तै आन्दोलनका क्रममा प्रहरीको लाठीचार्जबाट नेविसङ्घका महामन्त्री कपलेश्वर यादव, केन्द्रीय सदस्य कल्पना खड्का, चन्द्र विकलगायत विद्यार्थी घाइते भएका छन् ।