आरभसम्राट हाडा र शुभांगीलक्ष्मी शाह १६औँ जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यू–१४ सिंगल्समा च्याम्पियन बनेका छन् । आरभ ब्वाइज तथा शुभांगी छात्रामा पहिलो भएका हुन् ।
मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा आरभले आर्यन गिरीलाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गरे । छात्रा फाइनलमा शुभांगीले इशाश्री शाहलाई ६–३ र ७–६(४) को सीधा सेटमा हराइन् । दुवै स्पर्धाका विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको प्रतियोगिताअन्तर्गत यू–१२ सिंगल्सको ब्वाइजमा प्रणव मानन्धर तथा छात्रामा इभा अधिकारीले स्वर्ण जिते । ब्वाइज फाइनलमा प्रणवले सरोज तामाङलाई ६–३ र ६–२ को सेटमा पाखा लगाए । गल्र्सको निर्णायक प्रतिस्पर्धामा इभाले प्रशंसा मोक्तानलाई ६–२ र ७–५ को सेटमा निराश पारिन् । ब्वाइज–छात्रा दुवैको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुररस्कार पाए ।
यू–१० सिंगल्सको ब्वाइजमा निशाद जोशी तथा छात्रामा प्रतिष्ठा लामा च्याम्पियन बने । ब्वाइज फाइनलमा निशादले सम्मान बस्नेतलाई ६–१ र ६–० ले पन्छाए । छात्रा फाइनलमा प्रतिष्ठाले समृद्धि महर्जनमाथि ६–४ र ६–४ को जित निकालिन् । दुवै समूहका विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय नगद पुरस्कार थापे ।
प्रतियोगितामा १२ स्पर्धामा ४६ ब्वाइज र ३१ छात्रा गरी ७७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसअघि यू–८ सिंगल्सको ब्वाइजमा अशभ हाडा र छात्रामा शिभाली गुरुङ तथा यू–९ सिंगल्सको ब्वाइजमा अद्रित नेपाल र छात्रामा प्राज्णा मानन्धर पहिलो भएका थिए । डबल्सको ब्वाइजमा चिराग तिमिल्सना र राजवीर प्रधान तथा छात्रामा इशाश्री शाह र रायना शाहको जोडी च्याम्पियन बनेका थिए ।
प्रतियोगितामा कुल नगद पुरस्कार राशि २ लाख ८५ हजार रुपैयाँ रहेको थियो । विजेतालाई जीएए अल्मुनाई एसोसिएसनका अध्यक्ष भूअरुण मल्ल, नेपाल टेनिस संघ र आयोजक एकेडेमीकी अध्यक्ष ज्योति राणा, आयोजक एकेडेमीका संरक्षक मनोज राणाले पुरस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया