जन्तीबसमा करेन्ट लागेर निधन भएका परिवारले जनही पाँच लाख पाउने

जन्तीबसमा करेन्ट लागेर निधन भएका परिवारले जनही पाँच लाख पाउने


सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्तीबसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही रु. पाँच लाख क्षतिपूर्ति दिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सोमबार मन्त्रीस्तरीय निर्णय गरी मृतकका परिवारलाई क्षतिपूर्तिबापत उक्त रकम दिन लागिएको हो । यस्तै मन्त्रालयले घाइते भएका सबैको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको छ । बसमा करेन्ट लागेर घाइते भएका २१ मध्ये १९ जना उपचारपछि घर फर्किसकेका छन् ।

बाँकी रहेका दुईमध्ये फुलकुमारी कुँवरको जनकपुर अञ्चल अस्पताल र पवन परियारको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । क्षतिपूर्ति रकम मन्त्रालयले नेपाल विद्युत प्राधिकरणमार्फत उपलब्ध गराउनेछ ।

प्राधिकरणले उक्त दुर्घटना हुनुमा आफ्नातर्फबाट कुनै पनि लापरबाही नरहेको र नगरेको यसअघि नै प्रस्ट पारिसकेको छ । प्राधिकरणका सखुवा शाखा प्रमुख राजकुमार रमनले बसको छतमा राखिएको टिनको ट्यांका ११ केभी प्रसारण लाइनको नांगो तारमा छुँदा करेन्ट प्रवाह भएको बताए ।

त्यस स्थानमा प्रसारणको तार लत्रिएको गुनासो यसअघि कहीँबाट नआएको पनि उनले स्पष्ट पारे । सबैला नगरपालिकाले भने प्राधिकरणको लापरबाहीले घटना भएको आरोप लगाएको छ ।

कोठिया बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कँदै गरेको बसमा यही माघ ११ गते साँझ करेन्ट प्रवाह हुँदा ६ जनाको मृत्यु भएको थियो । मृतक र घाइते परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसद गणेश पहाडी, पूर्वसभासद विषमलाल अधिकारी र कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले पहल गरेका थिए ।