जंगबहादुरको अन्तिम दिन

जंगबहादुरको अन्तिम दिन


फेब्रुअरी २५ का दिन गोविन्द द्वादशी परेको थियो । हिन्दूका लागि यो एउटा अति पवित्र दिन मानिन्छ । त्यस दिन महाराजले ब्राह्मणलाई धेरै दानदक्षिणा दिए । त्यसपछि दोस्रो शिविरका लागि विगुल फुकियो । यसैबीच महाराजलाई झाडापखाला लाग्ने लक्षण देखियो । पहिलोपटक दिसा गरेपछि उनलाई अचानक हनहनी ज्वरो आयो । उनी घाममा पल्टिए र जेठी महारानीलाई असाध्य जाडो लागेको कुरा बताए । एकैछिनपछि असाध्य गर्मी भयो भन्दै फेरि पालभित्र पसे र फेरि असाध्यै जाडो भयो भन्दै तत्काल पालबाट बाहिर निस्के । महारानीले उनको स्वास्थ्य निकै बिग्रेको महसुस गरेर विगुल फुक्न बन्द गर्ने आदेश दिइन् । त्यसपछि उनले अमरजंगलाई बोलाएर महाराजको अवस्था बुझ्न लगाइन् ।

जनरल अमरजंगले पालभित्र आएर हेर्दा महाराज अत्यन्त शिथिल अवस्थामा पुगेको पाए । अमरजंगले हजुरलाई कस्तो छ भनेर सोधपुछ गर्दा त्यसको उत्तर दिनुको सट्टा आफूलाई हेरविचार गरिरहेका अमरजंगलाई नै उल्टै ‘त्यो को हो’ भनेर महारानीसँग महाराजले सोधे । महारानीले ऊ भतिजो अमरजंग हो भनेर बताइन्, तर आश्चर्य उनले अमरजंगलाई चिन्नै सकेनन् । महाराजले आफ्ना आँखाले देख्न छोडेको भन्दै आफ्नो अन्तिम घडी नजिकै आइरहेको बताए । कृष्णगोविन्द नाम गरेको नेपाली चिकित्सकलाई बिरामीको नाडी जाँच्न लगाइयो । उनले नाडी तेज गतिमा हराउँदै गएको घोषणा गरे ।

चिकित्सकको प्रतिक्रिया सुनेर महारानीहरू आलापविलाप गर्न थाले, तर जेठी महारानीले असाधारण धैर्य प्रदर्शन गर्दै रुनु–कराउनुको सट्टा महाराजको कामिरहेका ओठ फट्टाएर चम्चाद्वारा अष्टमण्डप नामक उत्तेजक औषधि पिलाउने प्रयास गरिन् । तर, उनी त्यस प्रयासमा सफल भइनन् किनभने महाराजले दाँत बाँधिसकेका थिए । अब त्यहाँ महाराजको अन्तिम यात्राको तयारी गर्नुको विकल्प रहेन । एकैछिनपछि महाराजको शरीरमा ठूलो कम्पन भयो । उनी झन्डै बिछ्यौनाबाट तल खसे । एकजना दूतलाई विद्युत् गतिमा दगुराएर महाराज सिकिस्त बिरामी भएको व्यहोरा रणोद्दीपसिंहलाई सूचना दिन काठमाडौं पठाइयो । उनलाई धीरशमशेर, राजकुमार त्रैलोक्यविक्रम शाह र उनकी सहकर्मीणीलाई पनि तुरुन्तै पत्थरघट्टा पठाउनू भन्ने निर्देशन दिइयो ।

महाराजलाई जेठी महारानीका साथ एउटा पालकीमा राखेर पत्थरघट्टाको बागमती किनारमा लगियो । उनका पछाडि करिब ६ हजार सङ्ख्यामा सर्वसाधारण जनता पनि लागे । पत्थरघट्टा पुग्नै लागेको बेला महाराजले रक्त वमन गरे । उनको बाटैमा मृत्यु हुने त होइन भन्ने जस्तो अवस्था थियो । त्यसकारण पालकीलाई राइफल रेजिमेन्टका सिपाहीको काँधमा सारियो । ती सिपाहीहरू उनका आफ्नै भ्रातृगण थिए ।

पत्थरघट्टा पुगेपछि महाराजलाई बागमती नदीको किनारमा सुताइयो । महाराज आकाशतिर आँखा गाडेकोगाड्यै केही घन्टा जति लडिरहे मानौँ उनी ईश्वरको प्रार्थनामा लीन छन् । मध्यराततिर निभ्न लागेको बत्तीजस्तै उनको सम्पूर्ण शरीरमा कान्ति फैलियो । अनुहार अत्यन्त उज्यालो देखियो । उनका मुखबाट केही अस्पष्ट शब्द प्रकट भए शायद उनी भगवान्को प्रार्थना गर्दै थिए । अन्त्यमा सन् १८७७ फेब्रुअरी २५ शुक्रबारका दिन महाशिवरात्रिको मध्यरातमा महाराजले प्राण त्याग गरे ।

(जंगका छोरा पद्मजंग राणाद्वारा लिखित ‘जंगबहादुरको जीवनयात्रा’ पुस्तकबाट । अनुवादक : रामबहादुर पहाडी)