एयरटेल सहकारी ठगीका अभियुक्त थुनामा

एयरटेल सहकारी ठगीका अभियुक्त थुनामा


न्यूरोडस्थित एयरटेल सहकारी संस्थामा भएको आर्थिक बदमासीको सन्दर्भमा परेको मुद्दामा काठमाडौं जिल्ला अदालतले रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका सहकारी संस्थाका प्रबन्ध–निर्देशक अशोक गोयल र अर्का नाइके हेमराज जैनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । पाँच दर्जनभन्दा बढी पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले दुई महिनादेखि थुनामा राखी अनुसन्धान गर्दा सहकारीका सञ्चालक तथा कर्मचारीको मिलोमतोमा १८ करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगसहित जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अघि बढाइएको मुद्दामाथि जिल्ला अदालतमा गत सोमबार भएको प्रारम्भिक थुनछेक बहसका क्रममा न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले गोयल र जैनलाई पुर्पक्षका लागि थुनामा पठाउने फैसला गरेको हो ।

गोयलले आफ्नी पत्नी सुमन केडिया (गोयल)लाई सहकारीको अध्यक्ष तथा छोरीलाई लेखापाल बनाएर सहकारीमा जम्मा भएको निक्षेप आफूखुसी लगानी गर्दै आएका थिए । यही क्रममा प्रख्यात ब्रान्डको नक्कली उत्पादन गरी बेचबिखन गरेको अभियोगमा पक्राउ परेका हेमराज जैन पनि सहकारी मुद्दामा जोडिएका हुन् ।

जैनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आर्थिक प्रभावमा परेर मामुली धरौटीमा छाडेको भनी पीडितहरूले गुनासो गर्दै आएका भए पनि उनकी श्रीमती सारिका जैन एयरटेल सहकारीको सञ्चालक रहेको र पक्राउपुर्जी जारी भएपछि फरार रहेको अवस्थामा उक्त सहकारीमा भएको आर्थिक अनियमिततामा जोडिएका जैनलाई समेत सङ्गठित अपराधमा जोडेर प्रहरीले मुद्दा चलाएको थियो । जिल्ला अदालतका न्यायाधीश भट्टराईले निजका हकमा पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् ।

सयौँ सर्वसाधारणको करोडौँ रकम अनियमितता गरेको अभियोग लागेका गोयल र जैनले प्रयोगमा ल्याएका कानुनकर्मी भने अत्यन्तै प्रभावशाली देखिन्थे । सर्वसाधारणबाट लुटेको ठूलो धनराशिको अफर गर्दै जसरी पनि आफूहरूलाई कानुनी प्रक्रियाबाट उन्मुक्ति दिलाइदिन भन्दै ती कानुनकर्मी प्रयोग गरेको बताइएको छ भने उक्त समूहले अख्तियारका एक प्रहरी अधिकारीको समेत मुद्दामा प्रभाव पार्न प्रयोग गरेका थिए । आफूलाई काङ्ग्रेसनिकट भन्न रुचाउने सुशील नाहाटा यस प्रकरणमा ठग समूहलाई जोगाउन लागिपरेको पीडित पक्षको आरोप छ ।

सोमबार भएको थुनछेक आदेशमा अन्य फरार अभियुक्तलाई पक्राउ गर्न वारेन्टसमेत जारी गरिएको छ । फरार हुनेहरूमा सहकारीकै अध्यक्ष सुमन केडिया, पदाधिकारी सीमा वंशल, सारिका जैन, सुरेन्द्र अग्रवाल, पुरुषोत्तम अग्रवाल, रविन्दर सिंह र दीपेन्द्र शर्मा रहेका छन् ।