थिचोमिचो सहन नसकी राष्ट्रिय तेक्वान्दो प्रवेश गरेको तामाङको दाबी

थिचोमिचो सहन नसकी राष्ट्रिय तेक्वान्दो प्रवेश गरेको तामाङको दाबी


नेपाल तेक्वान्दो संघअन्तर्गत रहेका प्रदेश ३ काठमाडौंका पाँचवटा तेक्वान्दो डोजाङ राष्ट्रिय तेक्वान्दो संघमा प्रबेश गरेका छन् । माघ १५ गते ब्राइटरफ्युचर स्कुलमा एक विशेष कार्यक्रमको आयोजना गर्दै ती पाँच तेक्वान्दो डोजाङसहित चार प्रशिक्षक र करिब ३ सय ५० खेलाडी राष्ट्रिय तेक्वान्दोमा प्रवेश गरेका हुन् । राष्ट्रिय तेक्वान्दो संघमा तेक्वान्दोका डोजाङ र खेलाडीहरू प्रवेश गर्ने लहर चलेपछि अहिले तेक्वान्दो खेलमै नौलो हलचल पैदा भएको छ ।

ब्राइटरफ्युचर स्कुल नैकापमा आयोजना भएको उक्त प्रवेश तथा स्वागत कार्यक्रमको सभापतित्व नेपाल विद्यालय खेलकुद महासंघका केन्द्रीय कोषाध्यक्ष, यंगमुदो महासंघका केन्द्रीय अध्यक्ष तथा ब्राइटरफ्युचर स्कुलका डाइरेक्टर मोहन कार्कीले गरेका थिए । त्यस्तै प्रमुख अतिथिमा राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष शिव कोइराला (ज्वाला) र अतिथिहरूमा संघका महासचिव राजकुमार कार्की, सचिव राकेशकुमार राई, कोषाध्यक्ष पदम राना, नेपाल क्लाइबिङ स्पोर्टस् एसोसिएसनका महासचिव मेघराज पौडेल र राखेप कानुन शाखाका अधिकृत नारायणराज अर्यालको उपस्थिति रहेको थियो ।


उक्त प्रवेश कार्यक्रममा चन्द्रागिरी तेक्वान्दो डोजाङका प्रशिक्षक सुवास तामाङले प्रतिबद्धता मन्तव्य दिँदै नेपाल तेक्वान्दो संघको थिचोमिचो सहन नसकी राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गरेका जानकारी गराएका थिए । आफू विगत १५ वर्षदेखि तेक्वान्दो खेलको विकास र विस्तारमा अहोरात्र खटेको, थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको, तर त्यसको बदलामा तेक्वान्दो संघले आपूm र आफ्ना खेलाडीलाई कुनै अवसर नदिएको आरोप लगाएका थिए । संघको यस्तो गैरजिम्मेवारीलाई आत्मसात गर्दै आफूलगायत पाँच डोजाङ र चार प्रशिक्षक राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गरेको खुलासा गरेका थिए । साथै प्रशिक्षक सुवास आगामी दिनमा पनि तेक्वान्दो समग्र विकास र विस्तारका लागि अहम भूमिका निभाउने प्रतिबद्धता जाहेर गरेका थिए ।

माघ १५ गते आयोजित कार्यक्रममा सुवास तामाङ चन्द्रागिरी डोजाङ, अनिल श्रेष्ठ, बौद्ध डोजाङ, लक्ष्मीप्रसाद महर्जन बौद्ध डोजाङ, विवेक महर्जन पुष्पसदन डोजाङ थानकोट र करिब ३ सय ५० खेलाडी राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गरेका थिए । ती प्रशिक्षक र खेलाडीलाई ब्राइटरफ्युचर डाइरेक्टर मोहन कार्की, संघका अध्यक्ष शिव कोइराला (ज्वाला), खेलकुद महासंघका महासचिव मेघराज पौडेललगायतका संघका पदाधिकारीहरूले खादा र टीका लगाएर स्वागत गरेका थिए । त्यस्तै सो अवसरमा राष्ट्रिय तेक्वान्दो संघले सुवास तामाङलाई प्रदेश ३ तदर्थ कार्यसमितिको सदस्य र विवेक महर्जनलाई काठमाडौं जिल्ला कार्यसमितिको सदस्य पदमा मनोनीत गरेको थियो ।


त्यस्तै, नवप्रवेशी डोजाङका खेलाडी र प्रशिक्षकलाई स्वागत गर्दै संघका अध्यक्ष ज्वालाले यो तेक्वान्दो खेलको लागि खुसीको खबर भएको बताउँदै यसले तेक्वान्दो संघमा देखिएको अन्योलतालाई चिर्ने बताए । उनले भने, ‘जुन विश्वासका साथ तपाईंहरू राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गर्नुभएको त्यसमा संघ खरो उत्रिनेछु ।’ साथै उनले तेक्वान्दो खेलाडीहरूको विकास र वृद्धिको लागि आफूले कुनै कसर नराख्ने बताए । त्यस्तै पौडेलले यो प्रवेश कार्यक्रमले कुन तेक्वान्दो संघ कति पानीमा छ त्यो कुरालाई प्रस्ट पारेको बताउँदै नवप्रवेशी खेलाडी तथा प्रशिक्षकहरूलाई बधाई ज्ञापन गरेका थिए ।