दोस्रो प्रधानसेनापति छात्रा तेक्वान्दो प्रतियोगिता सम्पन्न

दोस्रो प्रधानसेनापति छात्रा तेक्वान्दो प्रतियोगिता सम्पन्न


विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले छात्रा विद्यार्थीको तौल समूहअन्तर्गत दोस्रो प्रधान सेनापति छात्रा तेक्वान्दो प्रतियोगिता–२०७५ सम्पन्न भएको छ । प्रतियोगिता सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती दीपा थापाको उद्घाटन गरेकी थिइन् । त्यस्तै समापन समारोहको प्रमुख अतिथि नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा हुनुहुन्थ्यो ।

उक्त प्रतियोगितामा उपत्यकाभित्र र बाहिरका गरी २८ वटा विद्यालय तथा डोजाङहरूबाट २०१ जना छात्रा तेक्वान्दो खेलाडीहरू सहभागी भएका थिए । यस प्रतियोगितामा जुनियर र सिनियर गरी जम्मा १३ वटा तौल समूहमा फाइटिङका साथै पुम्सेतर्फ एकल र ग्रुप गरी जम्मा २ समूहमा पुम्सेको प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा सहभागी २८ वटा टिममध्ये ६ स्वर्ण, ४ रजत र १ कांस्य पदक प्राप्त गरी आयोजक टिम श्री विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय टिम प्रथम, ३ स्वर्ण र ३ कांस्य पदक प्राप्त गरी कोटेश्वर तेक्वान्दो डोजाङ टिम सेकेन्ड र ३ स्वर्ण र २ कांस्य पदक प्राप्त गरी युनाइटेड तेक्वान्दो डोजाङ टिम तेस्रो हुन सफल भयो । उत्कृष्ट खेलाडीतर्फ विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा सरिता रुवाली सिनियरतर्फको उत्कृष्ट खेलाडी र ईसीडीसी तेक्वान्दो डोजाङकी पुष्पा बादी जुनियरतर्फको उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा फाइटतर्फ ६२ केजी समूहमा युनाइटेड तेक्वान्दो डोजाङकी कविता तामाङ र ५७ केजी समूहमा कोटेश्वर तेक्वान्दो डोजाङकी सुस्मिता मोक्तानले स्वर्ण पदक जिते । ५३ केजी समूहमा ढल्को तेक्वान्दो डोजाङकी अञ्जली राईले स्वर्ण हात पारिन् भने ४९ केजी समूहमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय ‘ए’ की योगमाया श्रेष्ठले स्वर्ण पदक जितिन् ।

त्यसैगरी ४६ केजी समूहमा विजेश्वरीकै सरिता रुवालीले स्वर्ण आफ्नो नाममा पारिन् भने ४४, ४२, ३७ र ३४ केजी तौल समूहमा क्रमशः अमिशा कार्की, सदीक्षा कार्की, सुप्रिमा बजगाईं र स्वस्तिका महर्जनले स्वर्ण पदक हात पारे । प्रतियोगिताको ३१, २९ र २४ केजी तौल समूहमा क्रमशः विनिशा राई, करुणा श्रेष्ठ र पुष्पा बादीले स्वर्ण पदक आ–आफ्नो नाममा लेखाए ।

त्यसैगरी २० केजी तौल समूहमा कोटेश्वर तेक्वान्दो डोजाङकी रञ्जिता थापाले स्वर्ण पदक जितिन् । सिंगल पुम्सेतर्फ कोटेश्वर तेक्वान्दो डोजाङकै सन्ध्या लामाले स्वर्ण जितिन् भने समूह पुम्सेमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय ‘ए’ बाट सरिता गुरुङ, हेमकला मगर र रिता श्रेष्ठले स्वर्ण पदक हात पारे ।

तीन दिनसम्म काठमाडांैको विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा सञ्चालन भएको प्रतियोगितामा विजेतालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले पदक वितरण गरेका थिए । त्यसैगरी नेपाल तेक्वान्दो संघबाट १६ जना आबिट्रेसन, जुरी तथा रेफ्रीहरू सहभागी थिए । उक्त कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, सैनिक श्रीमती संघका अध्यक्ष, कार्यकारिणी मण्डल, नेपाली सेनाका रथीवृन्द, काठमाडौं महानगरपालिकाका शिक्षा शाखाका प्रतिनिधि, वडा नं. १५ का वडाध्यक्ष, सदस्य र सचिव तथा अभिभावकहरूको समेत उपस्थिति रहेको थियो ।