प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताललाई केन्द्र सरकारमातहत राख्ने मन्त्रिपरिषदको निर्णयबारे पार्टीलाई कुनै औपचारिक जानकारी नभएको जनाएको छ ।
कांग्र्रेस केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गल्ती सच्याएको भन्ने विवरण सञ्चारमाध्यममा आएको उल्लेख गर्दै यसबारेमा पार्टीलाई औपचारिक जानकारी नआएको बताए ।
कांग्र्रेसले नेताद्वय कोइरालाका नाममा खुलेका दुई अस्पताल सरकारले विघटनको प्रक्रियामा पु¥याएको भन्दै यसअघि संघीय संसद अवरुद्ध गर्दै आएको थियो । सरकार र सदनका केही कामकारबाहीको विरोधमा यही माघ २१ गते राष्ट्रव्यापी विरोध प्रदर्शनको कार्यक्रम रहेको जानकारी गराउँदै प्रवक्ता शर्माले भने, ‘राष्ट्रव्यापी विरोध प्रदर्शनको सम्बन्धमा सबै जिल्लामा आवश्यक तयारी प्रारम्भ भइसकेको छ ।’
संसदमा माघ ११ गते भएको घटना, डा. गोविन्द केसीको अनशनप्रति सरकारको संवेदनहीन व्यवहार, कोइरालाद्वयका नामका अस्पताललाई नामेट गर्न गरेको दुस्प्रयास, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थितिबिना संवैधानिक परिषदको बैठक राख्नु र नियुक्तिका केही निर्णय गरेको घटनालाई विरोधका मुख्य मुद्दा बनाइने उनले बताए ।
प्रवक्ता शर्माले भने, ‘देशव्यापी रूपमा बढेको हिंसा, हत्या र बलात्कारजस्ता जघन्य अपराध नियन्त्रण गर्न सम्बन्धित पक्ष असफल देखिएको, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना पुगिसक्दा पनि दोषी पत्ता लगाउन नसक्नु, महँगी, भ्रष्टाचार एवं जिल्लास्तरमा रहेका स्थानीय मुद्दामा प्रदर्शन केन्द्रित हुनेछ ।’
प्रतिक्रिया