गुल्मी कांग्रेसले यसरी मनायो शहीद दिवस

गुल्मी कांग्रेसले यसरी मनायो शहीद दिवस


  • रमेश विश्वकर्मा, गुल्मी

नेपाली कांग्रेस गुल्मीले एक कार्यक्रमका बीच आज शहिद दिवस मनाएको छ । सदरमुकाम तम्घासमा रहेको गुल्मीका शहिद शमसेर बहादुर खत्रीको शालिकमा माल्यार्णपण गरी शहिद दिवस मनाएको हो ।

जिल्लाको तत्कालीन वाग्लाको किमुखर्कमा जन्मेका शहीद खत्रीलाई पञ्चायती शासन व्यवस्थाको विरुद्ध बोलेको आरोपमा अमरपुर गाविसमा वि.सं. २०१९ जेष्ठ १५ गते निर्ममतापूर्वक हत्या गरिएको थियो ।

हत्यापछि उहाँको शीर छेदन गरी जिल्लाका विभिन्न ठाउँहरुमा समेत प्रदर्शन गरी सबै प्रजातन्त्रप्रेमी परिवर्तनकारीहरुलाई तर्साउने गरेको नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले बताउनुभयो ।

शहिद खत्रीले प्रजातन्त्रको लागि खेलेको भूमिका अत्यन्तै ठुलो र महत्वपूर्ण रहेको सभापति श्रेष्ठले बताउनुभयो ।

उहाँका नाति शिव केसी अहिले धुर्कोट गाउँपालिकाका उपाध्यक्ष समेत रहनुभएको छ ।

देशमा प्रजातन्त्र तथा लोकतन्त्र बहालीका लागि योगदान गरेका शहिदहरुका सम्झनामा मनाइने यो दिनमा अघिल्लो सरकारले बिदा दिँदै आएको तर वर्तमान सरकारले बिदा कटौती गरेको, संघ, प्रदेश, स्थानीय तहमा शहिद दिवसको अवसरमा कुनै पनि कार्यक्रम नभएकोमा खेद प्रकट गर्दै शहीदप्रति अपमान नगर्न सरकारलाई चेतावनी दिनुभयो ।

नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, निरंकुुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रीक एवम् लोकतान्त्रिक आन्दोलनहरुमा आफ्नो जीवनको बलिदान गरेका वीर सपुतको सम्झनामा यो दिवस मनाइएको नेपाली कांग्रेस गुल्मीले जनाएको छ ।

देशमा निरंकुशता हटाउन, देश र जनताको लागि आफ्नो प्राण त्याग गरी जीवनको बलिदान शहिदहरुले दिए पनि वर्तमान सरकारले त्यसको अवमूल्यन गरिरहेकोमा नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्य प्रताप सेनले दुःख व्यक्त गर्नुभयो । साथै उहाँले वीर चार शहिदले देश र जनताको लागि हाँसीहाँसी आफ्नो जीवन बलिदान गरेको समेत बताउनुभयो ।