प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार गृहजिल्ला झापा गएका छन् । प्रधानमन्त्री ओलीले रोटरी दमकद्वारा दमकमा आजदेखि शुरु हुने बृहत् बाल महोत्सवको उदघाटन गर्ने कार्यक्रम रहेको छ । यसैगरी ओलीले आजै कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सव उदघाटन गर्नेछन् ।
प्रधानमन्त्रीसँगै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी, महान्यायधिवक्ता अग्नि खरेल पनि सहभागी छन् । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत गरे ।
दमकमा बृहत् बाल महोत्सवको उदघाटन, कमल गाउन्मालिकामा शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सवको उदघाटन, बहुप्रतीक्षित मेची पुलको उदघाटन र चन्द्रगढी विमानस्थलबाट हुने रात्रिकालीन उडानको उदघाटन प्रधानमन्त्रीको आजका कार्यक्रम
प्रधानमन्त्री ओलीले आजै अपराह्न नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतीक्षित मेची पुलको उदघाटन गर्ने कार्यक्रम तय भएको जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले बताए ।
त्यसैगरी प्रधानमन्त्रीले आजदेखि चन्द्रगढी विमानस्थलबाट हुने रात्रिकालीन उडानको उदघाटन गरेर काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।रहेको प्रेस संयोजक अधिकारीको भनाइ छ ।
विसं २०२६ बाट चन्द्रगढी–काठमाडौं उडान भर्न शुरु गरेको चन्द्रगढी विमानस्थलमा दैनिक एक हजार बढी यात्रु आउने–जाने गरिरहेको विमानस्थलका प्रमुख पूर्ण चुँडालले बताए । उनका अनुसार दैनिक यहाँबाट बुद्धएयरका दुईवटा, यतीका दुईवटा, श्री एयरका दुईवटा र हप्तामा तीनपटक नेपाल एयरलाइन्सले काठमाडौंसम्मका उडान भरिरहेका छन् ।
फेब्रुअरी १० देखि नियमित रात्रिकालीन सेवा दिने बुद्धएयरले बुधबार राति परीक्षण उडानसमेत गरिसकेको छ ।
प्रतिक्रिया