गत वर्षदेखि राष्ट्रियस्तरको न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्दै आएको न्यु डायमन्डले हालै दोस्रो संस्करण सम्पन्न गरेको छ । उक्त प्रतियोगिताको पहिलो संस्करणमा शिवम् सिमेन्ट र दोस्रो संस्करण होङवान्जी बौद्ध समाजको मुख्य प्रायोजनमा सम्पन्न भएको थियो । तेस्रो संस्करण अर्काे वर्षको पुस अन्तिमा साता हुनेछ ।
तेस्रो संस्करणको प्रतियोगिताको लागि न्यु डायमण्डलाई होङवान्जी बौद्ध समाजले पुनः एक वर्षको लागि प्रयोजन गर्ने भएको छ । दोस्रो संस्करणको न्यु डायमन्ड कपमा होङवान्जीले ५ लाख रुपैयाँ प्रायोजन गरेको थियो । तेस्रो संस्कणको प्रतियोगिताको लागि होङवान्जी बौद्ध समाजले मुख्य प्रायोजनबापत १५ लाख उपलब्ध गराउने भएको छ ।
जसमा न्यु डायमन्ड कपको पहिलो र दोस्रो पुरस्कारको ७ लाख २ हजार रुपैयाँ रहेको छ । यसका साथै खेल पोसाकका लागि यही माघ महिनादेखि लागू हुनेगरी ३ लाख रुपैयाँ र अन्य विविधको ५ लाख रुपैयाँ आवश्यकताअनुसार उपलब्ध गराउने सम्झौता भएको छ । यसका लागि न्यु डायमन्ड होङवान्जीबीच माघ १६ गते एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि सम्झौता बाँकी रहँदासम्म न्यु डायमन्डले सहभागिता जनाउने प्रतियोगिताहरूमा ‘होङवान्जी न्यु डायमन्ड’को नामबाट प्रतियोगिता खेल्नेछ ।
तेस्रो संस्करणको पुरस्कार राशिमा वृद्धि हुनेछ । जसअनुसर प्रतियोगिताको विजेताले नगद ४ लाख १ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ३ लाख १ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो हुनेले २ लाख १ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुनेले १ लाख १ हजार रुपैयाँसहित प्रमाणपत्र मात्र प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७–७ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतिक्रिया