सांसद धामीको सक्रियतामा चार डोजाङ राष्ट्रिय तेक्वान्दोमा प्रवेश

सांसद धामीको सक्रियतामा चार डोजाङ राष्ट्रिय तेक्वान्दोमा प्रवेश


नेकपाका माननीय सांसद मानबहादुर धामीको सक्रियतामा कैलाली र धनगढीका चार डोजाङसहित चार सय ९० खेलाडी राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गरेका छन् । माघ १५ गते मंगलबार धनगढीको गार्डिनियर बोर्डिङ स्कुलमा आयोजित राष्ट्रिय तेक्वान्दो संघ नेपालको भेला कार्यक्रममा डोजाङ र खेलाडीहरू संघमा प्रवेश गरेका हुन् । खेलाडीसँगै प्रशिक्षक करण धामी पनि राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गरेका थिए । यसभन्दा अधि धामी नेपाल तेक्वान्दो संघअन्तर्गत रहेर तेक्वान्दो खेलाडीलाई प्रशिक्षण दिँदै आएका थिए ।

सांसद मानबहादुर धामीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको विशिष्ट अतिथिको रूपमा राष्ट्रिय तेक्वान्दो संघ नेपालका परिषद संरक्षक प्रदीप जोशी (टेकराज), जिल्ला कार्यसमितिका अध्यक्ष तथा वडाध्यक्ष बलबहादुर ऐर र जिल्ला खेलकुद विकास समितिका कैलालीका अध्यक्षको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा ऐश्वर्य तेक्वान्दो डोजाङ, गार्डनर तेक्वान्दो डोजाङ, गरुकुल तेक्वान्दो डोजाङ र दुन एकेडेमी तेक्वान्दो राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गरेका थिए । नवप्रवेशी चार डोजाङ र खेलाडीहरूलाई मुख्य अतिथि सांसद मानबहादुर धामी र विशिष्ट अतिथिहरूले फूल–माला र टीका लगाएर स्वागत गरेका थिए ।
उक्त प्रवेश कार्यक्रममा सांसद धामीले प्रशिक्षक र खेलाडीहरूलाई स्वागत गर्दै बधाई दिएका थिए । साथै तेक्वान्दो खेलको विकासमा विगत एक दशकदेखि अहं भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय तेक्वान्दो संघले मात्र तेक्वान्दो खेलाडीहरूको वृद्धि विकास अहं भूमिका खेल्ने बताउँदै समयमै बुद्धि पुऱ्याएकोमा खेलाडी र प्रशिक्षकलाई धन्यवाद दिएका थिए ।

त्यस्तै, परिषदका संरक्षक प्रदीप जोशी (टेकराज)ले नेपाल तेक्वान्दो संघमा बढ्दै गएको बेथितिले गर्दा आमतेक्वान्दो खेलाडीहरूमा नकारात्मक प्रभाव परेको खुलासा गर्दै त्यसको विकल्पको रूपमा राष्ट्रिय तेक्वान्दो संघको स्थापना भएको बताए । साथै जोशीले नवप्रवेशी खेलाडी तथा प्रशिक्षकलाई संघले उचित व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।