लुटिए बिमारी कुरुवा

लुटिए बिमारी कुरुवा


सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुरक्षाको जिम्मेवारी पाएको केटीएम सेक्युरिटी प्रालिको लापरबाहीले बिमारीका कुरुवा लुटिएका छन् ।

मेडिसिन युनिट १ वार्डमा बिहीबार बिहान तीनजना बिमारीका आफन्त लुटिएका छन् । उनीहरूको चारवटा मोबाइल, एकवटा चाँदीको औँठी एउटा बाला र नगद रु. चार हजार ९ सय लुटिएको बिर्तामोड घर भएका बिमारीका आफन्त अमृतेश ठाकुरले जानकारी दिए ।

ठाकुरले श्रीमती सम्झना ठाकुरको पित्तथैलीको शल्यक्रिया गरी युनिट १ सर्जरी वार्डमा राखेका थिए । राति चार्ज गरिरहेको बेला उनको मोबाइल हराएको थियो । यस्तै धरानका सनम राईको दुईवटा मोबाइल, ताप्लेजुङकी सीता इजमको दुईवटा औँठी, चुरा, झोला र रु. तीन हजार ४ सय नगद लुटिएको थियो ।

मोबाइल, पैसा र गहना लुटपाट भएपछि कुरुवाकै सक्रियतामा लुटेराको खोजी गरी प्रहरीलाई बुझाएका छन् । धनकुटा छिन्ताङ घर भएका राम थापालाई नियन्त्रणमा लिइएको हो । कुरुवाले नियन्त्रणमा लिएका थापालाई इलाका प्रहरी कार्यालय धरानमा बिहान बुझाएको हो । उनका विषयमा अनुसन्धान भइरहेको इप्रकाका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।