शृंखला जोगाउन आजको खेल जित्नैपर्ने दबाबमा नेपाल

शृंखला जोगाउन आजको खेल जित्नैपर्ने दबाबमा नेपाल


संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेको नेपाललाई आज (शुक्रबार) हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नैपर्ने दबाब रहेको छ ।

तीन खेलको टी–२० शृंखलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृंखला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नैपर्ने दबाब छ ।

आजको खेल जित्न सके नेपालले शृंखला जित्ने सम्भावना कायम रहनेछ भने यूएईले जिते एक खेलअगावै शृंखला आफ्नो पक्षमा पार्नेछ । एकदिवसीय शृंखला गुमाइसकेको घरेलु टोली यूएईका लागि टि–२० शृंखला जित्न गर या मरको अवस्थामा छ ।

पहिलो खेल गुमाएर पनि पछिल्ला दुई खेल जितेर एकदिवसीय शृंखलामा कब्जा जमाउन सफल नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे शुरु हुनेछ । घरेलु टोलीविरुद्धको दोस्रो खेलका लागि मैदानमा उत्रँदा नेपाल शृंखला जोगाउने लक्ष्यमा हुनेछ ।

पहिलो टी–२० खेलमा २१ रनले पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै तीन खेलको शृंखला एक–एक जितको बराबरी गर्न चाहन्छ तर, घरेलु टोलीविरुद्ध नेपाललाई जीत निकाल्न निकै कठिन हुनेछ ।

टी–२० विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी–२० शृंखला जित्न सकेको छैन । शृंखला जिते यसपटक नेपालले अर्को इतिहास रच्नेछ । नेपालले हालसम्म दुई टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलिसकेको छ । बंगलादेशमा सम्पन्न सन् २०१४ को टी–२० विश्वकप खेलेको नेपालले त्यही वर्ष हङकङसँग श्रीलंकामा पहिलोपटक पाँच खेलको शृंखला खेलेको थियो । तर, उक्त शृंखलाका चार खेल वर्षाको कारण रद्द भएका थिए । अन्तिम खेलमा भने नेपाल हङकङसँग दुई विकेटले पराजित भएको थियो ।

यस्तै, नेपालले सन् २०१५ मा नेदरल्यान्डसविरुद्ध चार खेलको टी–२० शृंखला खेलेको थियो । जसमा नेपालले शृंखला तीन–एकले गुमाएको थियो । पहिलो रोजाइका ब्याट्सम्यानले रन बनाउन नसक्दा बिहीबारको खेलमा पराजित हुनुपरेको बताउँदै नेपाली टोलीका कप्तान पारस खड्काले बिहीबारको गल्ती सच्याउँदै आज मैदान उत्रने बताए ।

‘नेपालका शीर्ष क्रमका कुनै पनि ब्याट्सम्यानले विजयी इनिङ खेल्न सकेनन् । सन्दीप जोराले एक्लै ५३ रन बनाउँदा नेपालका शीर्ष पाँच ब्याट्सम्यानले बनाएको कुल रन ४० मात्र रह्यो,’ खड्काको भनाइ थियो ।

एकदिवसीय शृंखलामा पनि नेपालले पहिलो खेल गुमाएको थियो भने पछिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शृंखला आफ्नो पक्षमा पारेको थियो ।